जोहानसबर्ग, (एजेन्सी)
सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको १४औँ संस्करणको आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपको टिकटका लागि विश्वभरका खेलप्रेमीहरूमाझ अभूतपूर्व उत्साह देखिएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार गत अक्टोबर १ देखि टिकटका लागि खुला गरिएको ’ब्यालट’ प्रणालीमा आवेदन दिनेहरूको ओइरो लागेको छ ।
खुला गरिएको मात्र १२ दिनको छोटो अवधिमा १ सय ४२ भन्दा बढी देशका क्रिकेट प्रशंसकहरूबाट ४४ लाख २३ हजार ४ सय १७ ब्यालट दर्ता भएका छन् । जसअन्तर्गत १ करोड ५० लाख ८३ हजार ७ सय ५२ भन्दा बढी टिकटका लागि माग परेको छ । खेल इतिहासमै टिकटका लागि यति छोटो समयमा यति ठूलो सङ्ख्यामा आवेदन पर्नुले क्रिकेटप्रतिको विश्वव्यापी क्रेजलाई पुनः पुष्टि गरेको छ ।
टिकटका लागि सबैभन्दा बढी माग गर्ने देशहरूको सूचीमा संयुक्त अधिराज्य (यूके) शीर्ष स्थानमा रहेको छ भने त्यसपछि क्रमशः आयोजक दक्षिण अफ्रिका, भारत, अमेरिका र अष्ट्रेलिया रहेका छन् ।
पहिलो हप्ताको आवेदन तथ्याङ्कलाई हेर्दा प्रशंसकहरूमाझ विशेष खेलहरूप्रति तीव्र प्रतिस्पर्धा देखिएको छ । विशेषगरी अक्टोबर १० मा आयोजना हुने चीरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको महाभिडन्तका लागि मात्रै १ लाखभन्दा बढी आवेदन परेका छन् । यसका साथै आयोजक दक्षिण अफ्रिकाविरुद्ध भारत तथा साविक विजेता अष्ट्रेलियाविरुद्ध भारतका खेलहरू पनि अत्यधिक माग भएका शीर्ष प्रतिस्पर्धाहरूमा परेका छन् ।
यस पटकको विश्वकपलाई थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउन आईसीसीले नयाँ ढाँचा प्रस्तुत गरेको छ । प्रतियोगितामा कुल १४ वटा राष्ट्रिय टोलीहरूले सहभागिता जनाउनेछन् । जसलाई सुरुमा सात–सात टोली गरी दुई समूहमा विभाजन गरिनेछ । समूह चरणका खेलहरूपछि दुवै समूहका शीर्ष टोलीहरू अघिल्लो चरणमा प्रवेश गर्दै कुल ७ वटा उत्कृष्ट टोलीहरू ’सुपर सेभेन’ चरणमा पुग्नेछन् ।
’सुपर सेभेन’ चरणमा सबै सातै टोलीले एकअर्कासँग एक–एक खेल खेल्नेछन् । जसअन्तर्गत कुल २१ रोमाञ्चक खेलहरू हुनेछन् । यस चरणको अंक तालिकामा शीर्ष ४ स्थान हासिल गर्ने टोलीहरूले नकआउट अर्थात् सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछन् ।
दक्षिण अफ्रिकी महादेशका तीन राष्ट्रमा सञ्चालन हुने यो ऐतिहासिक खेलकुद मेला सन् २०२७ को अक्टोबर २ देखि नोम्बर २१ सम्म आयोजना हुँदैछ । ५० ओभरको यो क्रिकेट कुम्भमेलामा कुल ५४ खेलहरू हुनेछन् । जसलाई तीन देशका विभिन्न रङ्गशालाहरूमा विभाजन गरिएको छ ।
कुल खेलहरूमध्ये सर्वाधिक ४१ खेलहरू दक्षिण अफ्रिकामा, १० खेलहरू जिम्बाब्वेमा र ३ खेलहरू नामिबियामा सञ्चालन हुनेछन् । प्रतियोगिताको अन्तिम तथा उपाधि भिडन्त (फाइनल खेल) नोभेम्बर २१ मा दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित ऐतिहासिक वान्डरर्स स्टेडियममा खेलिनेछ ।
प्रशंसकहरूको अत्यधिक चापलाई ध्यानमा राख्दै टिकट वितरण प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउन आईसीसीले ’रेन्डमाइज्ड ब्यालट’ (चिठ्ठा प्रणाली) अपनाएको छ । आगामी नोभेम्बर २१ सम्म खुला रहने यस ब्यालट प्रक्रियामा दर्ता हुनका लागि कुनै शुल्क लाग्दैन ।
रङ्गशालाको दर्शक क्षमताभन्दा कैयौँ गुणा बढी आवेदन परेकाले चिठ्ठा प्रणालीमार्फत सफल ठहरिएका आवेदकहरूलाई मात्र टिकट खरिदको अवसर प्रदान गरिनेछ । ब्यालटमा छनोट भएका भाग्यशाली प्रशंसकहरूलाई इमेलमार्फत आधिकारिक जानकारी पठाइनेछ र सोही सूचनाका आधारमा उनीहरूले टिकट खरिद प्रक्रिया पूरा गर्न सक्नेछन् ।














प्रतिक्रिया