रोहितको सानदार शतकमा नेपालको जित

क्यानडा २४ रनले पराजित


काठमाडौँ, (नेस) ।

कप्तान रोहित पौडेलको कीर्तिमानी शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनको मद्दतले नेपालले ओमानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको खेलमा क्यानडालाई २४ रनले पराजित गरेको छ ।

जितका लागि २ सय ३६ रनको मध्यम लक्ष्य पछ्याएको क्यानाडा नेपालको कसिलो बलिङसामु टिक्न नसक्दा ४८.४ ओभरमा २ सय ११ रनमै समेटियो । क्यानाडाका लागि दोस्रो विकेटका लागि आरोन जोहनसन (४४) र समित गोहेल (३५) ले ६४ रनको साझेदारी गर्दै टोलीलाई सम्हाल्ने प्रयास गरेका थिए ।

तर, कप्तान सन्दीप लामिछानेले यो साझेदारी तोडेपछि क्यानाडाको ब्याटिङ लगातार लरखराउन पुग्यो । अखिल कुमार ३० रनमा अविजित रहे भने श्रेयाश मोभा र कप्तान हम्जा तारिकले समान २६ रन जोडे ।

क्यानाडाका पाँच ब्याटरले दोहोरो अंकसमेत छुन सकेनन् । नेपालका तर्फबाट सन्दीप लामिछाने, करण केसी, ललित नारायण राजवंशी र नन्दन यादवले समान दुई–दुई विकेट लिएका थिए । यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको क्यानाडाविरुद्ध नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ३५ रनको योगफल तयार पारेको थियो ।

नेपालको सुरुवात भने निकै निराशाजनक रह्यो । तेस्रो ओभरमै १० रन जोड्दा ओपनर आशिफ शेख (४) र इशान पाण्डे (०) सस्तैमा पभिलियन फर्किए भने अर्का ओपनर अर्जुन कुमाल पनि २३ रनमै आउट भएपछि नेपाल ५६–३ को कमजोर स्थितिमा पुगेको थियो ।
कठिन अवस्थामा पुगेको नेपाली इनिङ्सलाई कप्तान रोहित पौडेलले चौथो विकेटका लागि बसिर अहमद (३०) सँग ७७ रन र छैटौँ विकेटका लागि गुल्सन झा (४८) सँग ८२ रनको महत्वपूर्ण साझेदारी गर्दै उकासे ।

१ सय २५ बलको सामना गरेका रोहितले ८ चौका र १ छक्काको मद्दतमा १ सय १ रनको शतकीय पारि खेले । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो तेस्रो शतक हो । योसँगै उनी नेपालका लागि ओडिआईमा तीन शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । यसअघि कुशल भुर्तेल, आशिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान दुई–दुई शतक बनाएका थिए ।

नेपालका अन्य ब्याटरमा करण केसीले ४ रन जोडे भने नन्दन यादव र ललित राजवंशी दुई–दुई रनमा आउट भए । क्यानाडाका अखिल कुमारले १० ओभरमा १ मेडनसहित ६८ रन दिएर सर्वाधिक ४ विकेट लिएका थिए भने सुखजिन्दर सिंहले ३ र जाहिद श्रीजादले २ विकेट लिए ।
यो महत्वपूर्ण जितसँगै नेपाल ३३ खेलबाट २६ अंक जोड्दै लिग–टु को तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । नेपालको यो प्रतियोगितामा १२औँ जित हो । पराजित क्यानाडा भने २५ अंकसहित सातौँ स्थानमा खस्किएको छ ।