बलिउडका सशक्त अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। हिन्दी तथा मराठी फिल्ममा करिब ५ दशक लामो अभिनय यात्रा तय गरेका पाटेकरको बिहीवार गोवास्थित निवासमा निधन भएको हो। उनको निधन कार्डियाक अरेस्टका कारण भएको अस्पतालले जनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
गोवाको डोना पाउलास्थित आफ्नै निवासमा बिहान अस्वस्थ भएपछि पाटेकरले एक साथीलाई आफूलाई सञ्चो नभएको जानकारी गराएका थिए। केही समयपछि उनलाई निवासमै अचेत अवस्थामा भेटिएको थियो। त्यसपछि उनलाई मणिपाल अस्पताल लगिएको थियो। चिकित्सकले उनलाई बचाउने प्रयास गरे पनि सफल हुन सकेन। अस्पतालले बिहान करिब ५ बजेर २० मिनेटमा उनलाई मृत घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सन् १९५१ मा महाराष्ट्रमा जन्मिएका पाटेकरको वास्तविक नाम विश्वनाथ पाटेकर थियो। रंगमञ्चबाट अभिनय यात्रा सुरु गरेका उनले सन् १९७८ मा सार्वजनिक भएको गमनबाट फिल्ममा प्रवेश गरेका थिए। सुरुवाती चरणमा हिन्दी तथा मराठी फिल्ममा साना भूमिकामा देखिएका उनी पछि तीव्र अभिनय र प्रभावशाली संवाद प्रस्तुतिका कारण स्थापित भएका थिए।
पाटेकरलाई बलिउडमा फरक पहिचान दिलाउने फिल्ममध्ये मीरा नायरद्वारा निर्देशित सलाम बम्बे महत्वपूर्ण मानिन्छ। सन् १९८८ को उक्त फिल्मपछि उनको अभिनयले अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा पाएको थियो। त्यसको एक वर्षपछि सार्वजनिक परिन्दाले उनलाई हिन्दी फिल्ममा प्रभावशाली अभिनेताका रूपमा स्थापित गरेको थियो। सन् १९९० को दशकमा पाटेकरले एकपछि अर्को फरक भूमिकामार्फत अभिनयको दायरा फराकिलो बनाएका थिए। उनले प्रहार ः द फाइनल अट्याकबाट निर्देशनमा समेत हात हालेका थिए। त्यसमा उनले अभिनय पनि गरेका थिए। त्यसपछि यशवन्त, गुलाम–ए–मुस्तफा, वजूद, तिरंगा र खामोसी ः द म्युजिकललगायतका फिल्ममा उनका फरक भूमिकाले चर्चा पाए।
सन् १९९४ मा सार्वजनिक क्रान्तिवीर उनको करियरकै महत्वपूर्ण फिल्ममध्ये एक बन्यो। फिल्ममा प्रताप नारायण तिलकको भूमिका निर्वाह गरेका पाटेकरले त्यसैका लागि उत्कृष्ट अभिनेताको राष्ट्रिय फिल्म अवार्ड प्राप्त गरेका थिए। अग्निसाक्षीबाट उनले उत्कृष्ट सहअभिनेताको राष्ट्रिय फिल्म अवार्ड पाएका थिए। उनको अभिनय यात्रामा तीनवटा राष्ट्रिय फिल्म पुरस्कार जोडिएका छन्।
गम्भीर तथा यथार्थपरक भूमिकामा आप्mनो छुट्टै छाप बनाएका पाटेकरले हास्य भूमिकामा पनि आफूलाई सफल रूपमा प्रस्तुत गरेका थिए। सन् २००७ को वेलकममा उनले उस्तै तीव्रता र संवाद शैलीलाई हास्य चरित्रमा प्रयोग गरेका थिए।
पाटेकर केवल हिन्दी फिल्ममा सीमित थिएनन्। मराठी रंगमञ्च तथा फिल्ममा पनि उनको योगदान महत्वपूर्ण थियो। रंगमञ्चमा लामो समय काम गरेका उनले अभिनयलाई आप्mनो मूल पहिचान बनाएका थिए। कलामा पु¥याएको योगदानका लागि भारत सरकारले सन् २०१३ मा उनलाई पद्मश्रीबाट सम्मानित गरेको थियो।
पर्दामा उनको अभिनयको विशेषता तीव्रता, स्पष्ट संवाद प्रस्तुति र पात्रअनुसार आफूलाई बदल्ने क्षमता थियो। गम्भीर भूमिकामा होस् वा हास्य चरित्रमा, पाटेकरले आप्mनै शैली स्थापित गरेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनमा दुःख व्यक्त गर्दै उनको अभिनयमा रहेको तीव्रता, मौलिकता र विशिष्ट उपस्थितिको स्मरण गरेका छन्। अभिनेता अक्षयकुमारसहित भारतीय फिल्म क्षेत्रका थुप्रै कलाकारले पनि पाटेकरको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन्।











प्रतिक्रिया