शिल्पासँग बिहे गर्नै लागेका थिए अक्षय एउटा गलत बुझाईले टुट्यो प्रेमकथा


बलिउडमा केही प्रेमकथा यस्ता छन्, जसको अन्त्यपछि पनि त्यसका किस्सा सकिंदैनन्। अभिनेता अक्षय कुमार र अभिनेत्री शिल्पा शेट्टीको प्रेमकथा पनि यस्तैमध्ये एक हो। कुनै समय बलिउडमा निकै चर्चामा रहेको यो जोडीबीचको सम्बन्ध बिहेसम्म पुगिसकेको थियो भन्ने नयाँ खुलासाले अहिले फेरि चर्चा पाएको छ।

अक्षय र शिल्पा एक समय बलिउडका चर्चित प्रेमी जोडी थिए। सन् १९९४ को फिल्म मैं खिलाडी तू अनाडीमा सँगै काम गरेपछि उनीहरूबीच नजिकिएको सम्बन्ध प्रेममा परिणत भएको बताइन्छ। पछि जानवरलगायतका फिल्ममा सँगै काम गर्दा उनीहरूको सम्बन्ध झनै चर्चामा आएको थियो। तर रोचक कुरा के छ भने, उनीहरूको प्रेम केवल अफेयरको चर्चामै सीमित थिएन। जानवरका निर्देशक सुनील दर्शनले हालै दिएको अन्तर्वार्तामा अक्षय र शिल्पा बिहे गर्ने अवस्थामा पुगिसकेको लागेको खुलासा गरेका छन्। उनका अनुसार त्यतिबेला दुवैको सम्बन्ध निकै राम्रो चलिरहेको थियो र आफूले उनीहरू चा“डै विवाह गर्ने सोचेका थिए। तर अचानक केही गलतफहमी उत्पन्न भयो र उनीहरूको सम्बन्ध टुट्यो।

अक्षय र शिल्पाको व्यक्तिगत जीवनमा उतारचढाव आइरहेका बेला अक्षयको व्यावसायिक जीवन पनि निकै कठिन चरणबाट गुज्रिरहेको थियो। सन् १९९० को दशकको अन्त्यतिर उनका लगातार केही फिल्मले राम्रो व्यापार गर्न नसकेपछि निर्माताहरू समेत उनीसँग फिल्म बनाउन हिच्किचाउन थालेका थिए। यही समयमा सुनील दर्शनको फिल्म जानवर अक्षयका लागि ठूलो टर्निङ पोइन्ट बन्यो। फिल्म सफल भएपछि उनको करिअरले फेरि गति लिन थाल्यो। त्यसपछि रिलिजको प्रतीक्षामा रहेका हेरा फेरी, धडकनलगायतका फिल्मले पनि अक्षयको स्टारडमलाई थप बलियो बनाएको दर्शनले बताएका छन्।

अक्षय र शिल्पाको ब्रेकअपको वास्तविक कारणबारे त्यतिबेला विभिन्न चर्चा र अड्कलबाजी थिए। तर सुनील दर्शनको पछिल्लो खुलासाअनुसार उनीहरूको सम्बन्ध टुट्नुको पछाडि मुख्य कारण गलत बुझाई थियो। यद्यपि दर्शनले त्यो के थियो भन्ने विस्तृत रूपमा खुलाएका छैनन्। यही कारण अहिले पनि अक्षय–शिल्पाको प्रेमकथा बलिउडका अधुरा प्रेमकथामध्ये एउटा मानिन्छ। अन्ततः अक्षयले ट्विंकल खन्नास“ग विवाह गरे भने शिल्पा शेट्टीले राज कुन्द्रास“ग विवाह गरिन्।