रत्न बेहोशी रहेनन्


नेपाल तथा नेपालभाषाका लोकगायक, संगीतकार तथा गीतकार रत्न बेहोसी बज्राचार्य रहेनन्। नेपाली तथा नेपालभाषाको गीतसंगीतमा लामो समय योगदान दिएका बज्राचार्यको बुधवार निधन भएको हो।

बज्राचार्यले १२ वर्षको उमेरदेखि नै नाटक तथा संगीतमा आप्mनो कला प्रस्तुत गर्दै आएका थिए। २०१० सालदेखि नेपाली र नेपालभाषाको गीतसंगीतको श्रीवृद्धि, विकास तथा समृद्धिका क्षेत्रमा उनको सक्रिय योगदान रहँदै आएको थियो।

२०१३ सालमा उनले पहिलोपटक रेडियो नेपालमा स्वर परीक्षा दिएका थिए। १७ जना उम्मेदवारमध्ये एकल गायकका रूपमा स्वर परीक्षा उत्तीर्ण गरेका उनले त्यही दिन रेडियो नेपालबाट प्रत्यक्ष प्रसारणमार्फत गीत गाउने अवसर पाएका थिए। स्वर परीक्षा उत्तीर्ण गरेकै दिन रेडियो नेपालबाट प्रत्यक्ष प्रसारणमार्फत गीत गाउने थोरै गायकमध्ये बज्राचार्य एक थिए।

नेपाली आधुनिक गीतसंगीतको दोस्रो पुस्ताका गायकका रूपमा बज्राचार्यका समकालीनमा स्वरसम्राट नारायणगोपाल गुरुवाचार्य, गोल्डेन भ्वाइस अफ नेपाल प्रेमध्वज प्रधान, गायक तथा वरिष्ठ संगीतकार नातीकाजी श्रेष्ठ, शिवशंकर मानन्धर र भक्तराज आचार्यलगायत थिए। नेपाली संगीतको पहिलो पुस्तामा भने मास्टर रत्नदास प्रकाश, हरिकृष्ण श्रेष्ठ र बच्चु कैलाशलगायतका संगीत साधक थिए।

बज्राचार्यले नेपालभाषामा र नेपाली भाषामा दर्जनौ“ गीत गाएका थिए। उनले गाएका तथा रचना गरेका थुप्रै गीत क्यासेटमा सुरक्षित छन्। गीत गायनस“गै संगीत रचनामा समेत सक्रिय रहेका उनले नेपाली तथा नेपालभाषाको गीतसंगीतलाई समृद्ध बनाउन निरन्तर योगदान दिएका थिए।
उनको योगदानको कदर गर्दै नेवाः साधना कला केन्द्रले उनलाई नेपाल रत्न सम्मानबाट सम्मानित गरेको थियो। बज्राचार्य ललितरत्न सम्मान, गणेशदेवी स्मृति पुरस्कारलगायत विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित भएका थिए।

नेपाली र नेपालभाषाको गीतसंगीतमा आधा शताब्दीभन्दा लामो समय योगदान दिएका बज्राचार्यको निधनस“गै नेपाली संगीत क्षेत्रले पुरानो पुस्ताका एक महत्वपूर्ण साधक गुमाएको छ।