मायालुको सम्झनामा उसको नाम नै जीवन जिउनका लागि काफी हुने भावदेखि प्रेममा परेपछिको अनुभव र कल्पनासम्मलाई समेटेर विराज भट्टको फिल्म १२ गाउँ २ को गीत सार्वजनिक गरिएको छ।
प्रकृतिलाई बिम्ब बनाएर एकअर्काप्रतिको समर्पण व्यक्त गरिएको लालीगुराँस बोलको प्रेमिल गीतमा युवक र युवतीले एकअर्कालाई चाहेपछि उत्पन्न हुने प्रेम र त्यससंग जोडिएका अनुभूति प्रस्तुत गरिएको छ। वर्षकै प्रतीक्षितमध्येको एक मानिएको १२ गाउँ २ को यो गीतमा शिव परियार र सारोही कुमारको स्वर छ भने शब्द तथा संगीत युग भुसालको रहेको छ। प्रेमको बन्धनमा परेपछिको मायालु जोडीले गर्ने अनुभव र कल्पनालाई गीतले समेटेको छ। मायालुको सम्झनामा उसको नाम नै जीवन जिउनका लागि पर्याप्त हुने आदर्शसमेत गीतमा प्रस्तुत गरिएको छ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार समीर भट्ट र कृशु शाहीले नृत्य गरेका छन्। रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोमा समीर र कृशुको जोडीलाई प्रेमिल भावमा प्रस्तुत गरिएको छ।
विराज भट्टको निर्देशन रहेको १२ गाउँ २ असोज ३० गते फूलपातीका दिनबाट प्रदर्शनमा आउँदैछ। फिल्ममा समीर भट्ट र कृशु शाहीसंग निर्देशक विराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व, सुदीर श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन्। यसै फिल्मबाट कृशु शाही र वर्षा इटनीले नेपाली रजतपटमा डेब्यु पाएका छन्।
विराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुति रहेको फिल्ममा कथा सन्तोष सरकार, संगीत युग भुसाल र डीपी खनाल, नृत्य निर्देशन रामजी लामिछाने र सियोन श्रेष्ठ, द्वन्द्व निर्देशन स्टन्ट सिल्भा र शंकर महर्जन, छायांकन महेश पौडेल र सम्पादन बन्दे प्रसादको रहेको छ। फिल्मको वितरण काफिया फिल्म्स् र कुबेर सिनेमाले गर्नेछन्।











प्रतिक्रिया