नेसन्स् गट ट्यालेन्टमा छानिए १८० प्रतिभा


स्थानीय तहमा भएको अडिसन पार गर्दै १ सय ८० जना बाल प्रतिभा गायन रियालीटी शो नेशन्स गट ट्यालेन्ट सिजन ३ को मेगा अडिसनमा पुगेका छन्।
एएनपी मिडिया हाउसले आयोजना गरेको रियालिटी शोमा ७ देखि १३ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाइरहेका छन्। गत वैशाखदेखि सञ्चालन गरिएको स्थानीयस्तरको अडिसनमा ४ सय बालबालिकाले सहभागिता जनाएका थिए। नेशन्स गट ट्यालेन्ट सिजन ३ किड्स डान्सको मेगा अडिसन बिहीबारदेखि ओएसआर रियालिटी युट्यब च्यानलबाट सार्वजनिक भएको छ। मेगा अडिसनका लागि निर्देशक तथा कोरियोग्राफर केशव राज भट्ट, कलाकार तथा मोडल राज टाइगर र मोडल कविता न्यौपाने निर्णायक रहेका छन्।

कार्यक्रम एपीवान स्टुडियोमा छायांकन भएको छ। मेगा अडिसनपछि टेलिभिजन राउन्डका लागि ८० जना प्रतिभा छनोट गरिने आयोजकले जनाएका छन्। आयोजक संस्था एएनपी मिडिया हाउसका प्रवन्ध निर्देशक लवबहादुर कार्कीका अनुसार निर्णायकको छनोटबाट ६० जना र दर्शकको भोटिङबाट २० जना गरी ८० जना टिभी राउन्डमा पुग्नेछन्। प्रनीमा दाहालले सञ्चालन गरेको कार्यक्रममा संयोजक शम्भुप्रसाद रेग्मी, प्रशासन प्रमुख अनीता तामाङ तथा इभेन्ट म्यानेजर लोमशबहादुर कार्की र लबिसकुमार कार्की रहेका छन्।