इंग्ल्यान्डका चर्चित बलर अली जनकपुर बोल्ट्समा


काठमाडौं, (नेस) ।

जनकपुर बोल्ट्सले इंग्ल्यान्डका चर्चित बलर मोइन अलीलाई नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ । पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर तथा दुई पटकका विश्वकप विजेता अली यो सिजनका लागि बोल्ट्समा आबद्ध हुने चौथो विदेशी खेलाडी हुन् । यसअघि बोल्ट्सले कप्तानका रूपमा हरमित सिंह, न्युजिल्यान्डका अलराउन्डर जिमी निशाम र पाकिस्तानका ब्याटर इफ्तिखार अहमदलाई अनुबन्ध गरेको थियो ।

बायाँ हाते ब्याटर र अफस्पिन बलर अली इंग्ल्यान्ड क्रिकेटको सफल युगका प्रमुख खेलाडी थिए । उनी सन् २०१९ मा घरेलु मैदानमा एकदिवसीय विश्वकप जित्ने इंग्ल्यान्ड टोलीमा सदस्य थिए । सन् २०२२ मा अस्ट्रेलियामा भएको टि ट्वान्टी विश्वकपमा उपाधि जित्दा उनी इंग्ल्यान्डका उपकप्तान थिए ।

तीनै ढाँचामा इंग्ल्यान्डको प्रतिनिधित्व गरेका अलीले टेस्ट क्रिकेटमा ३ हजारभन्दा बढी रन र २ सयभन्दा बढी विकेट लिएका थिए । उनले टि ट्वान्टी अन्तर्राष्ट्रियमा इंग्ल्यान्डको कप्तानी पनि गरेका थिए । उनले सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । उनले इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सले २०२१ र २०२३ मा उपाधि जित्दा महत्वपूर्ण भुमिका खेलेका थिए ।

अलीले नेपाली क्रिकेटको माहोल आफैं अनुभव गर्न आतुर रहेको बताए । ’नेपाली क्रिकेट समर्थकहरूको अपार जोश र आफ्नो टोलीलाई समर्थन गर्न जहाँसुकै पुग्ने उनीहरूको समर्पण मैले देखेको छु । अब त्यो अद्भुत माहोल आफैँ अनुभव गर्न आतुर छु । बोल्ट्सका लागि यो सिजन रोमाञ्चक रहने अपेक्षा छ । म मैदानमा टोलीका लागि आफ्नो शतप्रतिशत दिन तयार छु,’ उनले भने ।

जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले मधेशका क्रिकेट प्रेमीलाई अलीको अनुबन्धन एक उपहार रहने बताए । ’अलीको आगमन नेपाली क्रिकेट र एनपीएलको बढ्दो विश्वव्यापी पहिचानको प्रमाण हो । यो अनुबन्ध हाम्रा समर्थक र आफ्नो टोलीलाई मुटुभन्दा प्यारो मान्ने मधेशका जनताप्रति समर्पित छ । तपाईंहरूको माया र विश्वासका लागि यो हाम्रो उपहार हो। यसपटक जनकपुरको गर्जन अझ ठूलो हुनेछ,’ उनले भने ।