काठमाडौं ।
जनकपुर बोल्ट्सले इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर तथा दुई पटकका विश्वकप विजेता मोइन अलीलाई नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ । अली यस सिजनका लागि बोल्ट्समा आबद्ध हुने चौथो विदेशी खेलाडी हुन् । यसअघि बोल्ट्सले कप्तानका रूपमा हरमित सिंह, न्युजिल्यान्डका अलराउन्डर जिमी निशाम र पाकिस्तानका ब्याटर इफ्तिखार अहमदलाई अनुबन्ध गरिसकेको छ । बायाँ हाते ब्याटर र अफस्पिन बलर मोइन इंग्ल्यान्ड क्रिकेटको सफल युगका प्रमुख खेलाडी थिए । उनी सन् २०१९ मा घरेलु मैदानमा एकदिवसीय विश्वकप जित्ने इंग्ल्यान्ड टोलीका सदस्य थिए।
सन् २०२२ मा अस्ट्रेलियामा भएको टी२० विश्वकपमा उपाधि जित्दा उनी इंग्ल्यान्डका उपकप्तान थिए । तीनै ढाँचामा इंग्ल्यान्डको प्रतिनिधित्व गरेका मोइन टेस्ट क्रिकेटमा ३ हजारभन्दा बढी रन र २ सयभन्दा बढी विकेट लिने थोरै अंग्रेज खेलाडीमध्ये पर्छन्। उनले टी२० अन्तर्राष्ट्रियमा इंग्ल्यान्डको कप्तानी पनि गरिसकेका छन् । सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका मोइन विश्वका प्रमुख फ्रेन्चाइज लिगमा निरन्तर सक्रिय छन् । इन्डियन प्रिमियर लिगमा उनले चेन्नई सुपर किंग्सबाट खेल्दै सन् २०२१ र २०२३ मा उपाधि जितेका थिए। अलीले नेपाली क्रिकेटको माहोल आफैं अनुभव गर्न आतुर रहेको बताए ।
‘नेपाली क्रिकेट समर्थकहरूको अपार जोश र आफ्नो टोलीलाई समर्थन गर्न जहाँसुकै पुग्ने उनीहरूको समर्पण मैले देखेको छु । अब त्यो अद्भुत माहोल आफैँ अनुभव गर्न आतुर छु । बोल्ट्सका लागि यो सिजन रोमाञ्चक रहने अपेक्षा छ । म मैदानमा टोलीका लागि आफ्नो शतप्रतिशत दिन तयार छु,’ उनले भने । जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले मधेशका क्रिकेट प्रेमीलाई अलीको अनुबन्धन एक उपहार रहेको बताए ।
‘अलीको आगमन नेपाली क्रिकेट र एनपीएलको बढ्दो विश्वव्यापी पहिचानको प्रमाण हो । यो अनुबन्ध हाम्रा समर्थक र आफ्नो टोलीलाई मुटुभन्दा प्यारो मान्ने मधेशका जनताप्रति समर्पित छ । तपाईंहरूको माया र विश्वासका लागि यो हाम्रो उपहार हो। यसपटक जनकपुरको गर्जन अझ ठूलो हुनेछ,’ उनले भने ।











प्रतिक्रिया