असोज २४ गते कीर्तिपुरमा गुञ्जिँदै नेपथ्य


काठमाडौं ।

नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय सांगीतिक समूह नेपथ्यले ऐतिहासिक शहर कीर्तिपुरमा विशेष सांगीतिक प्रस्तुति दिने भएको छ। रमाइलो इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा हुने ‘नेपथ्य लाइभ इन कीर्तिपुर’ आगामी असोज २४ गते कीर्तिपुर ल्याबोरेटरी स्कुलको मैदानमा आयोजना हुने भएको हो।

कार्यक्रम साँझ ६ बजेबाट सुरु हुनेछ भने दर्शकका लागि प्रवेशद्वार ४ः१५ बजेदेखि खुला गरिने आयोजकले जनाएको छ। दर्शकले कार्यक्रमस्थलमा गेट नम्बर १ र गेट नम्बर २ बाट प्रवेश गर्न सक्नेछन्।

कार्यक्रममा नेपथ्यले आफ्ना लोकप्रिय तथा दर्शकमाझ लामो समयदेखि प्रिय गीतहरू प्रत्यक्ष प्रस्तुत गर्नेछ। विभिन्न पुस्तामाझ लोकप्रिय नेपथ्यको संगीतलाई खुला वातावरणमा प्रत्यक्ष अनुभव गर्ने अवसरले कार्यक्रमलाई विशेष बनाउने आयोजकको विश्वास छ।

ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्व बोकेको कीर्तिपुरको भूमिमा नेपथ्यको प्रस्तुति हुनु कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहनेछ। कीर्तिपुरको इतिहास, नेपाली संगीत र सांस्कृतिक पहिचानलाई एउटै मञ्चमा जोड्दै कार्यक्रमलाई विशेष सांगीतिक साँझका रूपमा प्रस्तुत गरिने बताइएको छ।

कार्यक्रमको टाइटल स्पोन्सर एनटर्क रहेको छ भने प्रोटोनसँगको सहकार्यमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको प्रोडक्सन नेपालयले गर्नेछ। टिकटिङ पार्टनरका रूपमा थुप्रै सोलुसन्स प्रा.लि. रहेको आयोजकले जनाएको छ।

कार्यक्रमकै अवसरमा नेपालको पर्यटन, संस्कृति, सम्पदा तथा राष्ट्रिय पहिचानलाई डिजिटल माध्यमबाट विश्वसामु चिनाउने उद्देश्यसहित ‘गौरबता नेपाल’ को औपचारिक सुरुवातसमेत गरिने भएको छ। ‘डिजिटल गेटवे टु नेपाल’ को अवधारणासहित अघि बढिरहेको गौरबता नेपालले नेपालको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय गौरवलाई डिजिटल माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने लक्ष्य राखेको जनाएको छ।

‘हामी गौरबताका धनी छौँ, अझ अगाडि बढ्नेछौँ’ भन्ने भावनालाई आत्मसात् गर्दै गौरबता नेपालले नेपालको पहिचान, सम्भावना र गौरवलाई नयाँ पुस्ता तथा विश्व समुदायसँग जोड्ने अभियान अघि बढाउने बताइएको छ।

रमाइलो इभेन्ट म्यानेजमेन्ट प्रा.लि.का अनुसार ‘नेपथ्य लाइभ इन कीर्तिपुर’ केवल सांगीतिक कार्यक्रम मात्र नभई नेपाली कला, संस्कृति, पर्यटन र राष्ट्रिय पहिचानलाई एउटै मञ्चमा प्रस्तुत गर्ने अवसरका रूपमा रहनेछ।

असोज २४ गते कीर्तिपुर ल्याबोरेटरी स्कुलको मैदानमा हुने कार्यक्रम साँझ ६ बजे सुरु हुनेछ। ऐतिहासिक कीर्तिपुर, नेपथ्यको संगीत र नेपालको सांस्कृतिक गौरवलाई एउटै साँझमा जोडिने भएकाले कार्यक्रम नेपाली संगीतप्रेमीका लागि विशेष सांगीतिक अनुभव बन्ने अपेक्षा गरिएको छ।