हसाउँदै–रुवाउँदै आजबाट चमेलीको पोइ


करिब १८ वर्षपछि ठूलो पर्दामा फर्किएका लोकप्रिय हास्य अभिनेता नारायण त्रिपाठीको पुनरागमनसँगै फिल्म चमेलीको पोइ आजबाट अल नेपाल रिलिजमा आउँदैछ।

एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको फिल्मले मायाप्रेम, आशक्ति, दाम्पत्य जीवनका उतारचढाव, विश्वास, घात र मानवीय सम्बन्धका विभिन्न आयामलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको छ। धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्मले हाँसो र भावनालाई सँगसँगै अघि बढाएको छ। निर्देशक बोहराका अनुसार दर्शकलाई करिब साढे दुई घण्टा पूर्ण मनोरञ्जन दिने उद्देश्यले फिल्म तयार पारिएको हो। विशुद्ध मनोरञ्जनात्मक फिल्म भए पनि यसले दर्शकको मनलाई भावनात्मक रूपमा छुने उनको विश्वास छ।

फिल्ममार्फत लामो समयपछि अभिनयमा फर्किएका नारायण त्रिपाठी आप्mनो पुनरागमनलाई लिएर उत्साहित छन्। करिब दुई दशकअघिसम्म प्रेमचरो उपनामले फिल्म तथा सानो पर्दामा चर्चित त्रिपाठी एकाएक अमेरिका गएपछि ठूलो पर्दाको अभिनयबाट टाढिएका थिए। बीचमा आफैँ फिल्म निर्माण गर्ने प्रयाससमेत गरे पनि त्यो सम्भव नभएपछि अहिले चमेलीको पोइमार्फत दर्शकमाझ फर्किन पाउँदा आफूलाई हर्षित बनाएको उनले बताए।

फिल्ममा मुकुन, विल्सन विक्रम राई र उमेश राई फुलन्देकी आमालगायत कलाकारको पनि अभिनय छ। मुकुनले चमेलीको पोइले दर्शकलाई बेजोड हँसाउने मात्र नभई केही ठाउँमा गम्भीरसमेत बनाउने बताए। यत्तिको कमेडी फिल्म आफूले यसअघि गर्न नपाएको उनको भनाइ छ। विल्सन विक्रम राईले फिल्म मनोरञ्जनले भरिपूर्ण रहेको बताए भने नारायण त्रिपाठीसँग बाल्यकालमै साथी फिल्ममा स्क्रिन सेयर गरेको स्मरणसमेत गरे। यही फिल्मबाट ठूलो पर्दाको यात्रा सुरु गरेका उमेश राईले पनि आफू फिल्मप्रति निकै आशावादी रहेको बताए। अभिनेत्री सुरक्षा पन्तले निर्देशक बोहरास“ग भैरेपछि दोस्रोपटक सहकार्य गरेकी हुन्। आफूले खोजे र चाहेजस्तै कथा, परिवेश, पात्र र चरित्रमा काम गर्न पाएकोमा उनले खुसी व्यक्त गरेकी छन्।

निर्देशक बोहरा र शिवम् अधिकारीको लेखन रहेको फिल्ममा नारायण त्रिपाठी, सुरक्षा पन्त, मुकुन भुसाल, विल्सन विक्रम राई, रविन्द्र झा, प्रेमदेव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, उमेश राई, अंशु महर्जन, बबिन राई, तारा शर्मा, खड्गबहादुर पुन खबपु, रजनी गुरुङ, सुनीता सापकोटा, मीना आरएल शाही, रितु मल्ल ठकुरी, श्रेया नारायणलगायत कलाकारले अभिनय गरेका छन्।