काठमाडौँ ।
असोज ९ देखि १२ गतेसम्म आएको अविरल वर्षाका कारण २७ जनाको मृत्यु भएको छ । सो घटनामा बागलुङमा मात्र १२ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनअनुसार बाढी, पहिरो र भारी वर्षाका कारण देशभर ५४२ वटा विपद्का घटना दर्ता भएका छन् । सो घटनामा अझै ४ जना बेपत्ता भएका छन् । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको कारण लगातार चार दिन वर्षा भएको थियो ।
वर्षात्का कारण देशभर १ हजार ८२ परिवार प्रभावित भएका छन्् । विषेशगरी गण्डकी र लुम्बिनी प्रदेशमा सबैभन्दा बढी क्षति भएको थियो । गण्डकी प्रदेशका वागलुङ र म्याग्दीमा सबैभन्दा बढी क्षति पुगेको छ । विदेशीको ओइरो लाग्ने म्याग्दीको तातोपानीकुण्ड पूर्ण क्षतिग्रस्त भएको छ । पहिरोका कारण सबैभन्दा धेरै मावनीय क्षति भएको छ । मृत्यु भएका मध्ये अधिकांश पहिरोमा परेका हुन् ।
देशभर ३०४ वटा पहिरोका घटनामा मात्रै २० जनाले ज्यान गुमाएका छन् । ४ जना बेपत्ता र ७ जना घाइते भएका छन् । ८७ वटा बाढीका घटनामा ४ जनाको मृत्यु भएको छ । भारी वर्षासँग सम्बन्धित १५१ वटा घटनामा ३ जनाको मृत्यु हुनुका साथै १ जना घाइते भएको प्राधिकरणको तथ्याङ्मा उल्लेख छ ।
हिमाल पदयात्रातर्फ गएका २२ जना नेपालीको टोलीमध्ये हालसम्म ४ जनाको शव फेला परेको र हेलिकोप्टरमार्फत हवाई खोज तथा उद्धार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ । तीमध्ये बुधवार ११ जना सम्पर्कमा आएका छन् । बाढीको कारण उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएको थियो । बुधवारबाट प्रायः सबै नाका खुलेका छन् । प्राधिकरणका अनुसार विपद्मा परी २२७ वटा घर पूर्णरूपमा ध्वस्त भएका छन् भने १४२ वटा घरमा आंशिक क्षति पुगेको छ ।
बाढीले देशभरका २ वटा पुल बगाएको छ भने ८ वटा पुलमा क्षति पु¥याएको छ । बागलुङमा कालीगण्डकी नदीको पुल बगाउँदा यातायात सम्पर्क विच्छेद हुनुका साथै विद्युत् र टेलिफोन सेवासमेत अवरुद्ध भएको छ। म्याग्दी जिल्लामा करिब ४०० मिटर सडक कटानमा परेको छ । कालीगण्डकी करिडोर बगाउँदा मुस्ताङको कोरोला नाका बन्द छ । चीनसँग व्यापार जोड्ने तीनमध्ये कोरोला नाका जाने बाटोसमेत क्षतविक्षत भएपछि यातायात ठप्प छ ।
कोरोला नाकासँग यातायात सञ्जाल जोडिन अझै करिब डेढसाता लाग्ने अनुमान छ । बाढीका कारण कृषि र पशुपालनतर्फ पनि विपद्ले असर गरेको छ । देशभर ३१ वटा गोठ भत्किएका छन् । ११४ वटा पशुचौपायाको मृत्यु भएको छ । जोखिमयुक्त क्षेत्रबाट करिब २ हजार जनलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उद्धार कार्यमा नेपाल प्रहरीको सम्पूर्ण टोली परिचालित थिए । नेपाली सेनाका २६५ र सशस्त्र प्रहरी बलका ४ हजार ३९५ परिचालित थिए ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार कालिगण्डकी कोरिडोर प्रसारण लाइन अवरुद्ध हुँदा उक्त प्रसारण लाइनमार्फत विद्युत् प्रवाह हुने १३ वटा उत्पादन केन्द्रको करिब ३७० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । म्याग्दी, स्याङ्जा, कास्की, लमजुङ र तनहुँमा रहेका थप १४ वटा विद्युत् उत्पादन केन्द्र नदीमा आएको अत्यधिक बहावका कारण बन्द भएका छन् ।
ती केन्द्रबाट उत्पादन हुने करिब ६३० मेगावाट विद्युत् उत्पादनसमेत प्रभावित भएको प्राधिकरणले जनाएको छ । बाढीले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा जलविद्युत् कम्पनीले प्रवद्र्धन गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् केन्द्रमा समेत क्षति पु¥याएको छ ।
१६ गतेदेखि पानी पर्ने सम्भावना
असोज १६ गते बेलुकीदेखि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति एवं जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्राडा दीपक अर्यालले १६ गते रातीबाट देशभर वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो ।
‘असोज ७ देखि ११ गतेजस्तो धेरै वर्षा हँुदैन ।
तर देशभर वर्षा हुनेछ’, उहाँले भन्नुभयो– ‘सम्भवतः १६ गते रातीदेखि १८ गतेसम्म पानी पर्नेछ ।’ यसैबीच विभागले सर्वसाधारणले असोज १७ गतेदेखि भीषण वर्षा हुँदैछ रे भनेर विभागमा सोधपुछ गरेको र त्यसप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ











प्रतिक्रिया