बाढीले बगाएको दुर्लभ एकसिंगे गैंडाको निकुञ्जद्वारा उद्धार

0
Shares

नवलपरासी। 

नारायणी नदीको बाढीले बगाएर लगेकाे दुर्लभ एकसिंगे गैंडाकाे चितवन राष्ट्रिय निकुञ्जले पश्चिम नवलपरासीबाट उद्धार गरेको छ ।
निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार निकुञ्जको पश्चिम सेक्टरबाट नारायणी  नदीको भेलमा परि बगेर गएकाे अन्दाजी ४ वर्षकाे पाेथी गैंडाकाे उद्धार गरिएको हाे ।

चितवन राष्ट्रिय निकुञ्ज,राष्ट्रिय प्रकृति संरक्षण काेष,डिभिजन वन कार्यालय नवलपरासी पश्चिम र  निकुञ्ज सुरक्षामा खटिएकाे नेपाली सेनाकाे नयाँ गाेरखगण,सशस्त्र तथा जनपद प्रहरीकाे टाेलीले स्थानीय सुस्ता ४ नर्सहीबाट गैंडालाई सकुशल उद्धार गरेको थियाे ।

नदीले बगाएर ल्याउने क्रममा नारायणी नदीको पश्चिमी किनारा स्थित नेपाल तर्फकाे जंगल क्षेत्रमा उत्रिएकाे गैंडालाई निकुञ्जकै घरपालुवा हात्तीकाे सहाराले घेराहाली एनटिएसीका प्राविधिकहरूले लठ्याएर ट्रकमा राखी चितवन राष्ट्रिय निकुञ्जमै फर्काएका हुन् ।

उद्धार गरी ल्याईएकाे गैंडालाई बुधवार बिहान चितवनकाे जनकाैली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा विचरणका लागि छाडिएको संरक्षण अधिकृत थापा मगरले बताउनु भयाे ।