काठमाडौँ ।
नेपाल र इस्टोनियाबीच डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।
कतारको दोहामा आयोजित अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को ‘विश्व दूरसञ्चार नीति मञ्च २०२६’ का क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र इस्टोनियाकी न्याय तथा डिजिटल मामिलामन्त्री लिजा पाकोस्टाबीच भेटवार्ता भएको हो।
भेटमा डिजिटल सार्वजनिक पूर्वाधार, विद्युतीय शासन प्रणाली, डिजिटल पहिचान, साइबर सुरक्षा तथा संस्थागत क्षमता विकासका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो।
मन्त्री तिमिल्सिनाले डिजिटल सुशासनमा इस्टोनियाले हासिल गरेको उपलब्धिबाट नेपालले महत्वपूर्ण अनुभव लिन सक्ने बताउँदै सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र नागरिकमैत्री बनाउन सहकार्य आवश्यक रहेको धारणा राखे।
उनले विकसित मुलुकको प्रविधि र ज्ञानबाट विकासोन्मुख तथा अल्पविकसित देशले पनि लाभ लिन पाउनुपर्नेमा जोड दिँदै डिजिटल विभाजन न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।
सो अवसरमा इस्टोनियाकी मन्त्री पाकोस्टाले नेपालसँग डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा ज्ञान, अनुभव र प्रविधि आदानप्रदान गर्दै सहकार्य अघि बढाउन प्रतिबद्धता व्यक्त गरिन्।
नेपाल–इस्टोनिया सहकार्यले सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउनुका साथै सरकारी प्रक्रियामा पारदर्शिता र नागरिकको सेवामा पहुँच विस्तार गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया