काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको जापानमा जारी २०औं एसियाली खेलकुद (एसियाड) यात्रा निरासजनक भएको छ । यो क्षणले नेपालले क्रिकेटमा पदक जित्ने संभावना सकाउनुका साथै सम्पूर्ण नेपाली क्रिकेट समर्थकलाई समेत निरास तुल्यायो ।
वर्षाको कारण खेल हुन नसकेपछि नेपाल क्वार्टरफाइनलबाटै बाहिरिएको हो । जापानमा लगातार वर्षाले गर्दा क्वार्टरफाइनलको एक खेल पनि हुन सकेन । यसले गर्दा आईसीसीको नियम अनुसार वरियतामा उच्च स्थानको टोलीलाई फाइदा पुगेको छ ।
नेपालले क्वार्टरफाइनलमा श्रीलंकासँग खेल्नु पर्ने थियो । श्रीलंका टी २० विश्व च्याम्पियन भइसकेको टोली हो । साथै टेस्ट मान्यता प्राप्त टोली पनि हो । यो वर्षाले गर्दा नेपालको लागि उच्च वरियतामा रहेको टोलीसँग खेल्न पाउने अवसर गुम्यो ।
यदि यो खेलमा नेपालले जित हासिल गर्न सके सेमिफाइनलमा शीर्ष वरियताको टोली भारतसँग खेल्न पाउँथ्यो । तर, दुर्भाग्य नेपालको लागि यो विशेष क्षणको साइत जुर्न सकेन । गत संस्करणको एसियाडमा पनि नेपालले भारतविरुद्धको खेल वर्षाको कारण खेल्न पाएको थिएन ।
श्रीलंकासँग नेपालले २०१० को एसियाली खेलकुदमा मात्रै एकपटक खेल्न पाएको थियो । जुन खेलमा नेपाल पराजित भएको थियो । यसपछि २०२४ को टी २० विश्वकपमा पनि नेपालको सामना श्रीलंकासँग हुन सकेन । त्यो खेल वर्षा खलनायक बनेपछि रद्द भएको थियो । टी २० अन्तर्राष्ट्रिय क्रिकेटको वरियतामा नेपाल १४ औं स्थानमा छ भने श्रीलंका नवौं स्थानमा रहेको छ ।
प्रतियोगितामा नेपालले एक खेल मात्रै पूरा खेल्न पाएको थियो । समूह चरणअन्तर्गत्को उक्त खेलमा अफगानिस्तानविरुद्ध नेपालले ५ विकेटको सानदार जित निकालेको थियो । यसपछि जापानविरुद्धको खेलमा नेपालले १ सय ४९ रन बनाएको थियो । यसै समयमा वर्षा भएर खेल सुचारु हुन नसकेपछि यो खेल रद्द भएको थियो । योसँगैं नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको थियो ।
उच्च वरियतालाई लाभ
वर्षाको कारण खेल रद्द हुँदा वरियताको आधारमा उच्च स्थानमा रहेको टोलीलाई विजेता घोषित गरिने प्रावधान रहेको छ । जुन नियमले टेस्ट खेल्ने राष्ट्रको लागि लाभ हुने गर्दछ भने एसोसिएट राष्ट्र वा तल्लो वरियता राष्ट्र चाहिँ नियमबाट ठगिने गर्दछ ।
वर्षाले गर्दा चारै वटा क्वार्टरफाइनल खेलहरू हुन सकेन । जसमा, उच्च वरियताका चारै टोली खेल्दै नखेली सेमिफाइनलमा पुगे । ती टोलीहरू भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश हुन् । खेल नहुँदा घाटा परेका टोलीहरूमा नेपाल, अफगानिस्तान, मलेसिया र हङकङ रहेका छन् ।
महिलामा भारतलाई स्वर्ण
जारी एसियाडअन्तर्गत् महिला क्रिकेटतर्फको स्वर्ण भारतले जितेको छ । भारतले फाइनलमा श्रीलंकालाई हराएको हो । श्रीलंकाले रजत पदकमै चित्त बुझाउनु प¥यो । पाकिस्तानले भने बंगलादेशलाई हराएर कांस्य पदक जित्यो ।











प्रतिक्रिया