सोर्दासोर्दै पहिरो खस्यो, छहरामा राजमार्ग अवरुद्ध

0
Shares

धादिङ । 

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ छहरामा चार दिनदेखि पहिरो हटाउने प्रयास भइरहेको छ। पहिरो सोर्दासोर्दै माथिबाट पुनः पहिरो र ठूला ढुंगा खस्न थालेपछि राजमार्ग अवरुद्ध भएको छ।

सडक निर्माण आयोजनाका चारवटा लोडर तथा एक्साभेटर प्रयोग गरेर लगातार पहिरो पन्छाउने काम भइरहेको छ। तर पहिरो हटाउँदै गर्दा माथिबाट फेरि माटो, ढुंगा र सुख्खा पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुलाउन समस्या भएको हो। केही समय सडक एकतर्फी सञ्चालनमा ल्याइए पनि पुनः पहिरो खसेपछि यातायात रोकिएको छ।

असोज ८ देखि १२ गतेसम्म परेको लगातार वर्षाका कारण सडक माथिको डाँडो चर्किएर पहिरो खसेको हो। राजमार्गको तलतर्फ रहेको त्रिशूली नदी र भोटेकोसीमा आएको बाढीले सडकको तल्लो भागसमेत कटान गरी जमिन कमजोर बनाएकाले छहरामा पहिरोको जोखिम थप बढेको छ।

छहरामा ठूलो ढुंगासहित पहिरो खसेपछि चार दिनदेखि राजमार्गमा सवारीसाधन सञ्चालन प्रभावित भएको छ। पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहे पनि माथिबाट पहिरो आउने क्रम जारी रहेकाले यातायात सञ्चालनमा समय लाग्ने देखिएको छ।

पृथ्वी राजमार्गको कृष्णभीर, सितलबजार, बाँगे लगायतका स्थानमा पनि पहिरो खसेको छ। ती स्थानमा पहिरो पन्छाएर कतिपय ठाउँमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालनमा ल्याइएको छ। तर सडकका विभिन्न ठाउँमा पहिरोको जोखिम कायमै रहेको छ।

छहराको पहिरो भने सडक खुलाउने क्रममा नै पुनः खस्ने भएकाले सबैभन्दा बढी समस्या बनेको छ। सडक खुलाउन खटिएका उपकरणले पहिरो सोरेर हटाउँदै जाने र माथिबाट पुनः पहिरो खस्ने क्रम चल्दा काम दोहोर्‍याउनुपर्ने अवस्था आएको छ।

राजमार्ग लामो समय अवरुद्ध हुँदा पृथ्वी राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन र यात्रु प्रभावित भएका छन्। सडक आयोजनाले जोखिम मोलेरै भए पनि पहिरो हटाउने कामलाई निरन्तरता दिएको जनाएको छ।