जर्मनी ग्रीससँग पहिलोपटक पराजित


लन्डन, (एजेन्सी) ।

युईएफए नेसन्स लिगअन्तर्गत दोस्रो चरणको खेलमा जर्मनी ग्रीससँग १–० ले स्तब्ध बनेको छ । दिमित्रिस कुर्बेलिसको एक मात्र गोलमा ग्रीसले चारपटकको विश्व विजेता जर्मनीलाई स्तब्ध तुल्यायो । साथै जर्मनी ग्रीससँग पहिलोपटक पराजित भएको छ । यसअघि ग्रीसविरुद्ध खेलेको १० खेलमा जर्मनी अपराजित रहेको थियो ।

जर्मनीले यस सिजनको नेसन्स लिगमा दुई खेल खेल्दा जित हासिल गर्न सकेको छैन । विश्वकप २०२६ मा आइभोरी कोस्टविरुद्ध जित हासिल गरेयता जर्मनी चार खेलमा जितविहीन भइसकेको छ । जारी नेसन्स लिगमा यसअघिको पहिलो खेलमा जर्मनीलाई नेदरल्यान्ड्सले १–१ बराबरीमा रोकेको थियो ।

जर्मनीको नेतृत्व जिम्मेबारी सम्हालेका यर्जेन क्लोपले यो नतिजाले निरास नभएको बताए । उनले आगामी खेलमा राम्रो हुँदैं जाने विश्वास गरेको पनि बताए । उनी गत जुलाईमा चार वर्षका लागि जर्मनीको मुख्य प्रशिक्षकमा नियुक्ती भएका हुन् ।

जर्मनीले सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकप उपाधि जितेयता हरेक प्रमुख प्रतियोगितामा निरस प्रदर्शन गरेको छ । २०१८ र २०२२ का विश्वकपमा समूह चरणबाटै बाहिरिएको जर्मनीले विश्वकप २०२६ मा नकआउट चरणसम्म यात्रा गरेको थियो ।

रोनाल्डो नखेले पनि पोर्चुगलको जित
पोर्चुगलले नेसन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार भएको खेलमा पोर्चुगलले नर्वेलाई २–१ ले हराएको थियो । टोलीले मुख्य स्ट्राइकर क्रिस्टियानो रोनाल्डोविना नै जित हासिल गरेको थियो ।

यस खेलमा रोनाल्डो बेन्चमा रहेका थिए । उनलाई नखेलाइएपछि ओस्लो रंगशालामा रहेका दर्शकहरूले रोनाल्डो भर्सेस अर्लिङ हालान्डको प्रतिस्पर्धा हेर्न वंचित भएका थिए ।

जोआयो फेलिक्सले १७ औं मिनेटमा गोल गर्दा पोर्चुगलले १–० को अग्रता लिएको थियो । पहिलो हाफ यसै एक गोलमा सकिएको थियो । दोस्रो हाफमा भने नर्वेले छिटै गोल फर्कायो ।

हालान्डले ५१ औं मिनेटमा गोल गरेर खेल १–१ बराबरीमा पु¥याए । तर, नर्वेका लागि उनको यो ६५ औं अन्तर्राष्ट्रिय गोलले टोलीलाई जित दिलाउन भने पर्याप्त भएन ।

यसको तीन मिनेटमै गोन्कालो रामोसले गोल गरेर पोर्चुगललाई २–१ को अग्रता दिलाएका थिए । यसपछि कुनै गोल नहुँदा नर्वेको भुमिमा पोर्चुगलले स्पष्ट ३ अंक जोड्न सफल भयो ।