मीरा राणाको पुरस्कारको सम्पूर्ण रकम क्यान्सर समाजलाई


ख्यातिप्राप्त गायिका एवं संगीतकार मीरा राणाले विभिन्न क्षेत्रबाट आफूलाई प्राप्त भएको पुरस्कारस्वरूपको सम्पूर्ण रकम क्यान्सर पीडितलाई सघाउन आफूद्धारा स्थापित मीरा राणा क्यान्सर समाजका लागि खर्च गर्ने जानकारी गराएकी छन्।

हालै ललितपुरको टीकाथलीमा आयोजित एक कार्यक्रममा गायिका राणाले सो जानकारी गराएकी हुन्। उनले सरु संगीत राष्ट्रिय पुरस्कारबापत प्राप्त २५ हजार ५ सय ५ रुपैया“ उक्त संस्थालाई समर्पण गर्ने जानकारी पुरस्कार प्राप्त गरेलगत्तै दिएकी हुन्। गायिका राणा स्वयं पनि क्यान्सर विजेता हुन्। सेवा, सहयोग र सद्भावको उद्देश्यले क्यान्सरविरुद्धको लडाइ“मा हामी सबै एकसाथ भन्ने मूल नाराका साथ गत वैशाख १६ गते उक्त संस्था स्थापना गरिएको थियो। गायिका राणाले आफूले गीत गाएवापत व्यक्तिगत फाइदाका लागि कहिल्यै पनि पारिश्रमिक लिने नगरेको र कुनै व्यक्ति र संस्थाबाट प्राप्त सहयोगलाई उक्त संस्थामा जम्मा गर्दै आएको जानकारी गराइन्।

पुरस्कार छनोट समितिले गायक एवं संगीतकार कोमल निरौलाकी दिवंगत श्रीमती सरस्वती निरौलाको नाममा स्थापित सरु संगीत राष्ट्रिय पुरस्कार २०८३ बाट यस वर्ष गायिका मीरा राणालाई प्रदान गरेको हो। उक्त पुरस्कार लोकप्रिय सरु संगीत घरको पा“चौ“ वार्षिकोत्सवको कार्यक्रम आयोजना गरी गत हालै प्रदान गरिएको थियो।

कार्यक्रममा क्यान्सर सर्भाइबर लोक गायिका कोपिला गौतमलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको थियो। कार्यक्रममा चार पुस्ताका संगीतकर्मीले एकै स्टेजमा रहेर गीत, संगीत प्रस्तुत गरेका थिए।

१६ सयभन्दा बढी विभिन्न जनराका गीत रेकर्ड गराइसकेकी गायिका राणाले हालसम्म पनि विभिन्न पुस्ताका नया“ गायक गायिकालाई सांगीतिक क्षेत्रमा प्रेरणा प्रदान गर्दै आएकी छन्। उनले गत असोज ४ गते मीरा राणा क्यान्सर समाजका लागि आर्थिक संकलनको उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा एकल सांगीतिक सा“झ आयोजना गरेकी थिइन्।