रेबिजको जोखिम उच्च : दैनिक ७०० जनासम्म खोप लगाउन अस्पतालमा

0
Shares

एक वर्षमा २ लाख २३ हजारभन्दा बढी रेबिजसम्बन्धी घटना, ९६ प्रतिशत कुकुरको टोकाइसँग सम्बन्धित; सन् २०३० सम्म मानव मृत्यु शून्यमा झार्ने लक्ष्य

काठमाडौँ ।

नेपालमा रेबिजको जोखिम कायमै रहेको छ । रेबिजविरुद्धको खोप लगाउन अस्पताल पुग्नेहरूको संख्या उच्च रहेसँगै यसको नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक औसत ६०० देखि ७०० जनासम्म रेबिजविरुद्धको खोप लगाउन आउने गरेका छन् ।

सरकारले सन् २०३० सम्म रेबिजबाट हुने मानव मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको भए पनि संक्रमणको जोखिम र खोपको आवश्यकता उच्च देखिएको छ । विश्व रेबिज दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । ‘सँगै हुँदा अझ सशक्त’ भन्ने नाराका साथ यस वर्ष दिवस मनाइरहँदा रेबिज नियन्त्रणका लागि मानव स्वास्थ्य र पशु स्वास्थ्य क्षेत्रबीच समन्वय तथा सहकार्यको आवश्यकतामाथि जोड दिइएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा नेपालमा २ लाख २३ हजार ५१० वटा रेबिजसम्बन्धी घटना रिपोर्ट दर्ता भएको थियो । तीमध्ये ९६ प्रतिशत घटना कुकुरको टोकाइसँग सम्बन्धित छन् । नेपालमा हुने मानव रेबिजका करिब ९९ प्रतिशत घटना कुकुरको टोकाइबाट हुने गरेको तथ्यांकले देखाउँछ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख डा. अनुप बाँस्तोलाका अनुसार अस्पतालमा दैनिक औसत ६०० देखि ७०० जनासम्म रेबिजविरुद्धको खोप लगाउन आउने गरेका छन् । यसले रेबिजको जोखिम र त्यसविरुद्धको उपचार सेवाको आवश्यकता निरन्तर रहेको देखाउँछ ।

रेबिज जनावरबाट मानिसमा सर्ने प्राणघातक भाइरसजन्य रोग हो । संक्रमित जनावरको टोकाइ, कोतराइ वा घाउमा ¥यालको सम्पर्कबाट मानिसमा संक्रमण हुन सक्छ । कुकुर रेबिज संक्रमणको प्रमुख स्रोत भए पनि स्याल, बिरालो, बाँदर र फ्याउरोजस्ता जनावरबाट समेत जोखिम रहन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष रेबिजका कारण करिब ६० हजार मानिसको मृत्यु हुने गरेको छ । प्रत्येक वर्ष करिब एक करोड मानिसलाई रेबिजको जोखिमपछि उपचार तथा रोकथाम सेवाको आवश्यकता पर्ने गरेको छ । एसियामा मात्रै वार्षिक करिब ३५ हजार मानिसले रेबिजका कारण ज्यान गुमाउने गरेका छन् ।

नेपालको लगभग आधा जनसंख्या रेबिजको उच्च जोखिम क्षेत्रमा र एक चौथाइ जनसंख्या मध्यम जोखिम क्षेत्रमा बसोबास गर्ने सरकारी तथ्यांक छ । विशेषगरी कृषक र बालबालिका बढी जोखिममा रहेका छन् । कुकुरसँगको प्रत्यक्ष सम्पर्क, पशुपालन तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचमा हुने कठिनाइले जोखिम थप बढाएको छ ।

नेपालमा हाल २८६ वटा सेवा केन्द्रबाट रेबिजविरुद्धको खोप उपलब्ध गराइँदै आएको छ । तर रेबिज नियन्त्रणका लागि खोपको उपलब्धता मात्र पर्याप्त छैन । संक्रमित जनावरको पहिचान, कुकुरको सामूहिक खोप अभियान, जनचेतना अभिवृद्धि र टोकाइपछि तत्काल उपचारको व्यवस्था पनि उत्तिकै आवश्यक छ । रेबिजविरुद्धको जनचेतना अभिवृद्धि र रोग नियन्त्रणमा विश्वव्यापी प्रयासलाई एकीकृत गर्ने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर २८ मा विश्व रेबिज दिवस मनाइन्छ । फ्रान्सेली वैज्ञानिक लुइस पाश्चरको स्मृति दिवसका रूपमा समेत मनाइने यो दिन उनले विकास गरेको रेबिजविरुद्धको पहिलो खोपको ऐतिहासिक योगदानसँग जोडिएको छ । ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोलले सन् २००७ देखि यो दिवस मनाउन थालेको हो । पछि विश्व स्वास्थ्य संगठनले पनि दिवसलाई समर्थन गरेको थियो ।

यस वर्षको नाराले रेबिज उन्मूलनका लागि सरकार, स्वास्थ्यकर्मी, पशु स्वास्थ्य क्षेत्र, स्थानीय तह, समुदाय तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको सन्देश दिएको छ । ‘रेबिजको उन्मूलन तब मात्र सम्भव छ, जब हामी मिलेर काम गर्छौँ’ भन्ने मूल ध्येयका साथ विश्वभर विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।

रेबिजको जोखिममा परेपछि समयमै उपचार गर्नु जीवनरक्षाका लागि निर्णायक हुन्छ । कुनै जनावरले टोकेमा वा कोतरेमा घाउलाई साबुन र सफा पानीले कम्तीमा १५ मिनेटसम्म राम्ररी धुनुपर्छ । त्यसपछि तत्काल स्वास्थ्य संस्थामा पुगेर चिकित्सकको सल्लाहअनुसार रेबिजविरुद्धको खोप तथा आवश्यक परे इम्युनोग्लोबुलिन लगाउनुपर्छ ।

जनावर सामान्य देखिएको भन्दै टोकाइलाई बेवास्ता गर्नु जोखिमपूर्ण हुन सक्छ । रेबिजका लक्षण देखिएपछि यो रोग प्रायः घातक हुने भएकाले संक्रमण हुनुअघि नै रोकथाम गर्नु सबैभन्दा प्रभावकारी उपाय हो ।

नेपालले सन् २०३० सम्म मानव रेबिजबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्य हासिल गर्न मानव स्वास्थ्य र पशु स्वास्थ्य क्षेत्रबीच समन्वय, कुकुरमा खोप अभियान विस्तार र समुदायस्तरमा जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । विश्व रेबिज दिवसले यही साझा जिम्मेवारीलाई पुनः स्मरण गराएको छ ।