अविरल वर्षाले देशभर बाढीपहिरोको वितण्डा : महाकालीमा खतराको तह पार, नारायणीमा सतर्कता, १८ सडकखण्ड अवरुद्ध


काठमाडौं ।

लगातारको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढीपहिरोको जोखिम बढेको छ। महाकाली नदीमा पानीको बहावले खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ भने नारायणी नदीमा जलसतह खतराको तहभन्दा माथि पुगेको छ। बाढीपहिरो र सडक कटानका कारण विभिन्न राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। महाकालीमा खतराको तह पार, शारदा ब्यारेजमा सवारीसाधन रोक लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेर खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ।

प्रहरीका अनुसार नदीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९७ हजार ७७४ क्युसेक पुगेपछि सवारीसाधन आवागमनमा रोक लगाइएको हो। नारायणीमा जलसतह खतराको तहभन्दा माथि निरन्तरको वर्षाका कारण नारायणी नदीमा बाढी बढिरहेको छ। देवघाटस्थित नदीको जलसतहले खतराको तह पार गरिसकेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार समाचार तयार पार्दासम्म देवघाटमा नारायणी नदीको जलसतह १०.८ मिटर पुगेको छ। उक्त स्थानमा खतराको तह ९ मिटर र चेतावनीको तह ७.४ मिटर रहेको छ। मुग्लिन–नारायणगढ सडक पहिरोले अवरुद्ध अविरल वर्षाका कारण पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध बनेको छ। सडक डिभिजन भरतपुरका अनुसार नाम्सी खोला पुलमाथि लेदोसहितको पहिरो खस्दा आइतबार बिहान ७:५५ बजेदेखि सडक अवरुद्ध भएको हो।

त्यस्तै, नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालमा त्रिशूली नदीको तीव्र कटानका कारण सडकको एक भाग भासिएर बगाएको छ। सडक डिभिजन भरतपुरका अनुसार नदीको बहावले सडकको लगभग आधा भाग कटान गरी बगाएको छ। जसका कारण सो स्थानमा सडक एकतर्फी रूपमा अवरुद्ध भएको छ। लुम्बिनी प्रदेशका १८ सडकखण्ड पूर्ण अवरुद्ध तीन दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढी, पहिरो र गेग्रानका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका १८ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले असोज ११ गते बिहान सार्वजनिक गरेको विवरणअनुसार पाल्पा, गुल्मी, प्युठान, रोल्पा र अर्घाखाँचीका सडकखण्ड अवरुद्ध भएका हुन्। प्रहरीका अनुसार गुल्मीका सात, पाल्पाका पाँच, प्युठानका तीन, रोल्पाका दुई र अर्घाखाँचीको एक सडकखण्ड अवरुद्ध छन्। पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता अविरल वर्षासँगै आएको पहिरोमा परी पाल्पामा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पहिरोमा परी माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरेकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको हो। दुई दिनदेखि लगातार परेको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो र बाढीको जोखिम बढेको प्रहरीले जनाएको छ। लगातारको वर्षाका कारण नदी तथा खोलामा जलसतह बढिरहेको र पहाडी क्षेत्रमा पहिरोको जोखिम कायमै रहेकाले सडक तथा नदी आसपासका क्षेत्रमा सावधानी अपनाउन आवश्यक देखिएको छ।