बाढीपछि नेपालसँग अष्ट्रेलिया : प्रधानमन्त्री बालेनसँग भेटमा सहयोग निरन्तर राख्ने प्रतिबद्धता


न्यूयोर्क ।

विनाशकारी बाढीपहिरोबाट प्रभावित नेपाल पुनर्निर्माण र पुनःस्थापनाको चरणमा प्रवेश गरिरहेका बेला अष्ट्रेलियाले नेपाललाई आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। संयुक्त राष्ट्रसंघको महासभाका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भेट गर्दै अष्ट्रेलियाली पक्षले बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित नेपाली समुदायप्रति ऐक्यबद्धता जनाएको हो। अष्ट्रेलियाली सरकारले नेपालमा तत्कालीन मानवीय तथा उद्धार–पुनःस्थापना कार्यका लागि ११ मिलियन अष्ट्रेलियन डलर बराबरको सहयोग घोषणा गरेको छ।

उक्त सहयोग आपत्कालीन आश्रय, खाद्यान्न, खानेपानी, सरसफाइ, स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक सामग्रीमा केन्द्रित छ। अष्ट्रेलियाले नेपालमा २३.९ टन मानवीय सामग्री समेत पठाइसकेको छ। उद्धार तथा खोजी कार्यमा सहयोग गर्न विशेषज्ञ ड्रोन अपरेटरसहितको टोली नेपाल पठाइएको र हराइरहेका व्यक्तिको खोज तथा पहिचानमा पनि प्राविधिक सहयोग भइरहेको अष्ट्रेलियाली सरकारले जनाएको छ। बाढीपछि नेपाल–चीन सीमा क्षेत्रमा ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएका थिए।

अष्ट्रेलियाले आफ्ना नागरिकको अवस्था पत्ता लगाउन नेपाली अधिकारी, पर्यटन व्यवसायी तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ। हराइरहेका अष्ट्रेलियाली नागरिकका परिवारलाई काठमाडौँमा छुट्टै Family Support Hub मार्फत सहयोग उपलब्ध गराइएको छ। अष्ट्रेलियाली विदेशमन्त्री पेनी वङले यसअघि संसद्मा नेपालमा हराइरहेका अष्ट्रेलियाली नागरिकको खोजीका लागि करिब ५० जना अधिकारी परिचालन गरिएको र खोज, उद्धार तथा पहिचानमा नेपाललाई सहयोग जारी रहने बताएकी थिइन्।

नेपालमा अगस्ट २६ मा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। संयुक्त राष्ट्रसंघ र साझेदार संस्थाहरूले समेत प्रभावित क्षेत्रमा तत्काल राहत तथा पुनःस्थापनाका लागि ४९.६ मिलियन अमेरिकी डलरको आपत्कालीन अपिल जारी गरेका छन्। प्रधानमन्त्री शाहसँगको भेटमा अष्ट्रेलियाले ‘नेपालको पुनर्निर्माण र दुःखको घडीमा अष्ट्रेलिया नेपाली जनताको साथमा रहेको’ सन्देश दिएको छ। अष्ट्रेलियाले राहतसँगै दीर्घकालीन पुनःस्थापनाका क्रममा पनि नेपाललाई आवश्यक सहयोग जारी राख्ने जनाएको छ।