आन्दोलनरत आवासीय चिकित्सकलाई कलेज छाड्न नेसनल मेडिकल कलेजको १२ घण्टे अल्टिमेटम


वीरगञ्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले आन्दोलनरत स्नातकोत्तर तहका प्रथम वर्षका आवासीय चिकित्सकलाई कलेजको आवासीय सुविधा छाड्न १२ घण्टे अल्टिमेटम दिएको छ।

कलेजले बिहीबार जारी गरेको सूचनामार्फत छात्रावास, क्वार्टर तथा अन्य आवासीय सुविधा प्रयोग गरिरहेका चिकित्सकलाई तोकिएको समयभित्र कोठा खाली गर्न निर्देशन दिएको हो। उनीहरूलाई आफ्नो जिम्मामा रहेका कलेजका सामग्री सम्बन्धित कार्यालयमा बुझाउनसमेत भनिएको छ।

कलेजले प्रथम वर्षका आवासीय चिकित्सकको पठनपाठन तथा शैक्षिक गतिविधि तत्कालका लागि रोक्ने निर्णयसमेत गरेको छ। क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड तथा आकस्मिक सेवामा हुने ड्युटीलगायतका गतिविधि अर्को सूचना जारी नभएसम्म स्थगित रहने सूचनामा उल्लेख छ।

साथै, कलेजले शैक्षिक सत्र २०८२ का स्नातकोत्तर प्रथम वर्षका आवासीय चिकित्सकलाई फिर्ता बोलाउन चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) लाई आग्रह गरेको छ। आईओएमलाई यससम्बन्धी औपचारिक पत्र पठाइएको कलेजले जनाएको छ।

नेसनल मेडिकल कलेजमा स्नातकोत्तर प्रथम वर्षमा ५५ जना विद्यार्थी अध्ययनरत छन्। आवासीय चिकित्सकहरू करिब एक सातादेखि विभिन्न माग राख्दै आन्दोलनमा छन्। आन्दोलनका क्रममा प्रथम वर्षका सात जना चिकित्सकविरुद्ध मुद्दा दायर गरिएको उनीहरूको भनाइ छ।

आन्दोलनरत चिकित्सकहरूले आफूहरूमाथि कलेज प्रशासनले दबाब सिर्जना गरेको आरोप लगाउँदै आएका छन्। उनीहरूले कलेजले दिएको १२ घण्टे निर्देशन फिर्ता लिनुपर्ने मागसमेत अघि सारेका छन्।

चिकित्सकहरूले मुद्दा फिर्ता, रोकिएको तलब भुक्तानी, ड्युटी व्यवस्थापन, बिदा तथा हाजिरीसम्बन्धी व्यवस्था सुधारलगायतका माग राखेका छन्। उनीहरूले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।