एसियाडमा करातेको चुनौती समाप्त हुँदैं

0
Shares

नागोया ।

जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पदक आस गरेको करातेमा एकपछि अर्को गर्दै नेपालको चुनौती समाप्त हुँदैं गएको छ । सोमबार महिला कुमिते ६८ केजी तौल समूहमा नेपालकी निरुपा दोङ तामाङ क्वार्टरफाइनलमा हारिन् ।

टोयोहाशी जिम्नेसियममा भएको प्रतिस्पर्धामा निरुपा हङकङकी वङ चुक लीसँग ३–० अंकले पराजित भइन् । वङले अंकका आधारमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउँदा निरुपाको एसियाड यात्रा क्वार्टरफाइनलमै समाप्त भयो । अब नेपालका लागि करातेबाट कुमितेतर्फ मात्र एक जनाको चुनौती बाँकी छ । पुरुष ८४ केजीमाथिको स्पर्धामा तेन्जिङ शेर्पा खेल्न बाँकी रहेको हो ।

यसअघि करातेमा एरिका गुरुङ, मीनबहादुर तामाङ र राकेश मानन्धर सेमिफाइनलमा तथा एकल कातामा सानुमाया थिङ्ग पहिलो चरणमा पराजित भएका थिए । यसमध्ये एरिकालाई स्वर्ण जित्ने खेलाडीको रूपमा आस गरिएको थियो । गत संस्करणमा रजत जितेकी उनी यसपटक पदकविहीन बनेकी हुन् ।

बक्सिङ
जारी नागोया एसियाडमा बक्सिङतर्फ नेपालका लागि प्रतिस्पर्धा गरेका दानबहादुर दर्लामी पराजित भएका छन् । पुरूष ७० केजी तौल समुहको प्रिलिमिनरिज राउन्डमा उनी इराकका अलि कासिम हामदानअल–सारेसँग ५–० ले सहजै पराजित भए । बक्सिङमा अब अन्य खेलाडीहरू चन्द्रबहादुर थापा, खगेन्द्र रोक्कामगर, रबिन नेपाल, रमिसा श्रेष्ठ, अस्मिता तामाङ र कुसुम तामाङले खेल्न बाँकी छ ।

उसु
नेपालकी सुष्मिता तामाङ जारी २० औं एसियाली खेलकुदबाट बाहिरिएकी छन् । थाउलुको महिला छानक्वानमा १६ प्रतिस्पर्धीमा सुष्मिता १३ औं स्थानमा रहिन् । ९. ५८० स्कोर गरेकी उनी भियतनाम, भारत र जापानका खेलाडीभन्दा अगाडि रहिन् ।

सुष्मिताको यो लगातार चौथो एसियन गेम्स सहभागिता हो । तर चौथो पटक पनि उनले नेपालका लागि पदक दिलाउन सकिनन् । यस्तै पुरुष थाइचिक्वान एन्ड थाइचिजियान स्पर्धामा हरिप्रसाद गोले १२औं स्थानमा सीमित भए । उनी समग्रमा १९.१३६ अंक जोड्दै १२औं स्थानमा रहेका हुन् ।

अघिल्लो दिन पदकको आस भएका विजय सिन्जालीले पनि छाङछ्वानमा १९ औं स्थानमा रहेर एसियाडको यात्रा समाप्त गरे । महिला ताइजिच्वानमा सविता राई ११औँ भएकी थिइन् ।