स्वर्ण आस भएकी एरिका पदकविहीन

0
Shares

नागोया जापान

नेपालका लागि यसपटक एसियाडमा स्वर्ण जित्ने आस भएकी कराते खेलाडी एरिका गुरूङ जापानको नागोयामा जारी २० औं एसियाली खेलकुदमा पदक विहीन भएकी छन् ।
कराते महिला ६८ केजी माथिको तौल समूहमा सेमिफाइनलमा पराजित भएसँगैं एरिका र नेपालको स्वर्ण जित्ने आस समाप्त भएको हो । सेमिफाइनलमा पुरानै प्रतिद्वन्द्वी काजकास्तानकी सोफिया बेरूत्सेभासँग २–१ को झिनो अन्तरमा उनी हारेकी हुन् ।
एरिकाले सुरूमा अंक लिएर १–० को अग्रता बनाएकी थिइन् । यसपछि सोफियाले १ अंक लिंदा खेल १–१ को बराबरीमा पुग्यो । खेल सकिन १६ सेकेन्ड बाँकी रहँदा यही स्कोर थियो । दुवै प्रशिक्षकले भीआर माँगे । जहाँ सोफियाले अंक प्राप्त गरिन् । यो सँगै एरिका स्वर्ण र रजत पदकको होडबाट बाहिरिइन् ।

यसपछि रिपिचेज कास्य पदक प्रतिस्पर्धामा पनि पराजित भएपछि एरिका एसियाडमा पदकविहीन बन्नु प¥यो । उनी साउदी अरेबियाकी मुस्तफा डिना अहमदसँग ८–७ ले पराजित भएकी हुन् । उनले पहिलो खेलमा जोर्डनकी यारा नासिरलाई ७–१ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । गत संस्करणको एसियाडमा एरिकाले ऐतिहासिक रजत पदक जितेकी थिइन् ।

यसैगरी करातेमा तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा अन्य नेपाली खेलाडीहरू पनि पराजित भए । पुरुष ५५ केजीमुनिको तौलसमूहमा राकेश मानन्धर मलेसियाका कालिनन सुन्दरमसँग ९–१ अंकले पराजित भए ।

पुरुष ६० केजीमुनि मिनबहादुर तामाङ साउदी अरेबियाका अलबासारसँग २–० अंकले पराजित भएका हुन् । यसअघि उनी सेमिफाइनलमा कुवेतका अब्दुल्लाह साबानसँग १०–० ले पराजित भएका थिए ।

त्यसअघि मिनले २ फाइट जितेकी थिए । पहिलो खेलमा हङकङका हिम चाउलाई ४–१ ले र ताजिकिस्तानका मिर्जोजोदा मोहम्मदलाई २–१ ले पराजित गर्दै उनी सेमिफाइनलमा पुगेका थिए ।
टेबल टेनिसमा पराजित

आइची–नागोया एसियाली खेलकुदअन्तर्गत टेबल टेनिसको टिम इभेन्टमा पनि नेपाल पराजित भएको छ । आइतबार नागोयास्थित स्काइ हल टोयोटामा सम्पन्न पुरुष टिम इभेन्टको पहिलो खेलमा नेपाल चाइनिज ताइपेइसँग ३–० ले पराजित भयो ।
रुवीन महर्जन, संयोग कपाली र गणञ्जय दाहालले नेपालको प्रतिनिधित्व गरेका हुन् । समूह ‘सी’ को प्रतिस्पर्धामा रुवीन लिन युन जुसँग ११–५, ११–१, ११–७ को नतिजामा हारे । दोस्रो खेलमा हुङ जिन काइसँग संयोग ११–५, ११–५, ११–४ ले हारेका थिए । यस्तै, गणञ्जय फेङ यी सीनसँग ११–३, ११–२, ११–० को नतिजामा पराजित भए ।

त्यस्तै महिला टोलीले पनि सुखद नतिजा निकाल्न सकेन । चीनसँग नेपाल ३–० ले हारेको थियो । समूह ‘ए’ को प्रतिस्पर्धामा इभाना थापा, नवीता श्रेष्ठ र योङगी पौडेल क्रमशः चेन यी, क्वाइ मान र फान शुहानसँग सहजै पराजित भए ।
अब नेपाली पुरुष टिमले सोमबार बहराइनसँग खेल्ने तालिका छ । त्यस्तै महिला टिमले मकाउसँग खेल्नेछ । यदि यसमा हार मिलेमा दुबैको चुनौती समाप्त हुनेछ ।