आचार्यमा निखिलको नयाँ एक्सन शैली


नेपाली फिल्ममा विदेशी फिल्मको दबदबा बढिरहेका बेला लोकप्रिय एक्सन अभिनेता निखिल उप्रेती नेपाली दर्शकलाई लक्षित गर्दै एक्सनप्रधान फिल्म आचार्य दर्शकमाझ ल्याउँदै छन्।

निर्माण, निर्देशन तथा अभिनयसमेत निखिलकै रहेको फिल्मको करिब साढे तीन मिनेटको ट्रेलर शनिबार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो। फिल्म आगामी ९ गतेदेखि प्रदर्शनमा आउनेछ।

सार्वजनिक ट्रेलरमा निखिल दमदार एक्सन अवतारमा प्रस्तुत भएका छन्। यसअघि सार्वजनिक टिजरमा देखाइएको पावरप्याक एक्सनलाई ट्रेलरले थप विस्तार गरेको छ। परिष्कृत एक्सन कोरियोग्राफी, तीव्र द्वन्द्वका दृश्य र मनोरञ्जनात्मक प्रस्तुतिले आचार्यलाई एक्सनप्रधान मास इन्टरटेनरका रूपमा चित्रित गरेको छ। ट्रेलरमा उनको अद्भुत एक्सनस“गै त्यत्तिकै प्रभावशाली नृत्य पनि समावेश गरिएको छ।

यसअघि निर्माण, निर्देशन तथा अभिनय गरेको फिल्म भैरवबाट एक्सन अवतारमा चर्चा बटुलेका निखिलले आचार्यमा एक्सनलाई अझ फराकिलो बनाएको ट्रेलरबाट देखिन्छ। नेपाली फिल्ममा पछिल्लो समय कम हुँदै गएको मास इन्टरटेनर शैलीलाई पुनः मूलधारमा ल्याउने प्रयासका रूपमा पनि फिल्मलाई हेरिएको छ। नेपालमा विदेशी फिल्मको दबदबा रहिरहेका बेला नेपाली बजेट, नेपाली कन्टेन्ट र नेपाली श्रमशक्तिको प्रयोगबाट पनि अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जनात्मक फिल्म बनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्ने उद्देश्यले फिल्म निर्माण गरिएको निखिलले बताए।

‘हामी नेपाली फिल्मले पनि विदेशी शैलीका फिल्म बनाउन सक्छौं। त्यस्तो फिल्म बनाएर नेपाली दर्शकलाई मनोरञ्जन दिन सक्यौं भने जंग जित्नु छ’ निखिलले भने। हरेक फिल्ममार्फत केही नयाँ दिने प्रयास गर्दै आएको जनाउँदै निखिलले आचार्यमा पनि एक्सन र कन्टेन्टमा नया“पन दिने प्रयास गरिएको बताए। ‘मैले आफ्नो फिल्ममा केही नयाँ दिने कोसिस गर्दै आएको छु। यसमा पनि एक्सन र कन्टेन्टमा नया“ दिने प्रयास गरेको छु। दर्शकले फिल्म हेर्दा त्यो अनुभूति गर्नुहुनेछ’ कार्यक्रममा उनले भने।

आचार्यमा निखिलसंगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीको अभिनय रहेको छ। पूर्णिका सिजापतीले यही फिल्ममार्फत नव–नायिकाका रूपमा डेब्यु गर्दैछिन् भने सजिना श्रेष्ठले पनि आचार्यबाटै अभिनयमा डेब्यु पाएकी छन्। फिल्ममा बलिउड कलाकार दीपज“ग राणा र रोहित चौधरीसंगै ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल, कृतिका, सरिता ज्ञवाली, अनुप तुलाधर, एलिस खनाल, अजय थापा, सुबिन गुरुङ, रोशनी, सोनिका वास्तोलालगायतका कलाकारले अभिय गरेका छन्।

शुक्रराज शाहको एक्सन निर्देशन, सौरभ लामा, मनु विक र नवराज थापाको छायांकन तथा बन्दे प्रसादको सम्पादन रहेको फिल्म मनोज राठीले वितरण गर्दैछन्। नेपालबाहिरको वितरणको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले लिएको छ।