एएनपी मिडिया हाउसले बालबालिकाको प्रतिभालाई मञ्च प्रदान गर्न दुई रियालिटी शो एकसाथ सुरु गरेको छ। बालबालिकाबीचको डान्स रियालिटी शो नेशन्स गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) सिजन ३ र गायन प्रतियोगिता जुनियर सिंगिङ आइडल नेपाल सिजन २ शनिवारदेखि एकसाथ सुरु भएको हो।
७ देखि १३ वर्ष उमेर समूहका बालबालिकाको सहभागिता रहेको दुवै कार्यक्रम एपी वान टेलिभिजनबाट प्रसारण हुने एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लबबहादुर कार्कीले जानकारी गराए। उनका अनुसार डान्सतर्फको कार्यक्रम ओएसआर रियालिटी युट्युब च्यानल तथा सिंगिङतर्फको कार्यक्रम एभेनटोज डिजिटल युट्युब च्यानलबाट पनि प्रसारण हुनेछ।
गत वैशाखदेखि उपत्यकाका विभिन्न स्थानीयस्तरमा सञ्चालन गरिएको अडिसनमा डान्सतर्फ करिब ७ सय र सिंगिङतर्फ ४ सय बालबालिकाले सहभागिता जनाएका थिए। स्थानीय अडिसनबाट छनोट भएका डान्सतर्फका १ सय ८० र सिंगिङतर्फका १ सय ४० बालप्रतिभा अब मेगा अडिसनमा प्रतिस्पर्धा गर्नेछन्। नेशन्स गट ट्यालेन्टको मेगा अडिसनमा निर्देशक तथा कोरियोग्राफर केशवराज भट्ट, कलाकार तथा मोडल राज टाइगर र मोडल कविता न्यौपाने निर्णायक रहेका छन्। त्यस्तै, जुनियर सिंगिङ आइडल नेपालको मेगा अडिसनमा संगीतकार तथा गायक राजेन्द्र बजगाईं, गायिका रीता केसी र गायिका सारिका घिमिरे निर्णायक रहेका छन्।
मेगा अडिसनबाट निर्णायकको छनोटमा ६० र दर्शकको भोटिङबाट २० गरी दुवै विधाबाट कुल ८० बालप्रतिभा टेलिभिजन राउन्डमा प्रवेश गर्नेछन्। डान्सको टेलिभिजन राउन्डमा ख्यातिप्राप्त अभिनेत्री मिथिला शर्मा, वरिष्ठ नृत्य निर्देशक कमल राई र मोडल सरोज प्रजा निर्णायक रहनेछन्। सिंगिङतर्फ ख्यातिप्राप्त गायिका कुन्ती मोक्तान, गायक आनन्द कार्की तथा संगीतकार एवं गायक वसन्त सापकोटा निर्णायकका रूपमा रहनेछन्।
प्रनिमा दाहालले सञ्चालन गर्ने दुवै कार्यक्रम शम्भुप्रसाद रेग्मीको संयोजन, अनिता तामाङको प्रशासन तथा लोमशबहादुर कार्की र लबिसकुमार कार्कीको इभेन्ट म्यानेजमेन्टमा हुनेछ।











प्रतिक्रिया