तीन सन्तान हुर्काउँदै राष्ट्र बैंकको उपनिर्देशक बनिन् विनिता, चुमिन् मिसेस नेपाल वर्ल्डको ताज

३२ वर्षको उमेरमा बैंकिङ सेवामा सफलता र सौन्दर्य प्रतियोगितामा उपाधि


काठमाडौँ।

राजधानीमा सम्पन्न विवाहित नारीहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि तीन सन्तानकी ३२ वर्षीया आमा विनिता गुरुङले चुमेकी छन् ।

चार र छ वर्षका दुई छोरी तथा पाँच महिनाको छोराकी आमा विनिताले २१ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि आफ्नो नाममा लेखाएकी हुन् । चारपाँच वर्ष राष्ट्रिय वाणिज्य बैंकमा सेवा गरेकी उनी पछिल्लो तीन वर्षदेखि नेपाल राष्ट्र बैंकमा कार्यरत छन् । हालै उनी राष्ट्र बैंकको उपनिर्देशकमा बढुवा भएकी छन् ।

दिक्तेल खोटाङकी विनिताका पति पनि सरकारी सेवामै कार्यरत छन् । अधिवक्तासमेत रहेकी उनले मुख्य उपाधि विजेता बनेबापत स्कुटर प्राप्त गरेकी छन् । अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत उनले पाउने आयोजक संस्था रिबन इन्टरटेनमेन्टका सिइओ निशुकान्त झाले जानकारी गराए । विनिताले ‘बेस्ट पर्सनालिटी’ उपउपाधि पनि जितेकी छन् ।

ख्यातिप्राप्त अभिनेता राजेश हमाल, अभिनेत्री रेखा थापा, नेपाल प्रहरीकी पूर्वएआईजी मीरा चौधरी, सिप्रदी अटोपाट्र्सका उपाध्यक्ष युवराज बुढाथोकी, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र मिसेस नेपाल वल्र्ड २०२४ की विजेता डा. डेनिला कार्की निर्णायक रहेको प्रतियोगितामा नेहा गुप्ता फस्ट रनर्सअपका साथ ‘म्यानेजमेन्ट च्वाइस’, ज्योति लामिछाने सेकेन्ड रनर्सअप तथा सगुन खनाल थर्ड रनर्सअपका साथ ‘बेस्ट फिजिक’ उपाधि विजेता भएका छन् ।


त्यसै गरी शिल्पा न्यौपाने महर्जन ‘मिसेस नेपाल इन्टरनेसनल २०२६’, क्रिस्टिना ज्ञवाली ‘मिसेस कोस्मो २०२६’ र ऋचा शर्मा ‘एमएस इन्टरनेसनल २०२६’ का विजेता भएका छन् । यी उपाधि विजेताले जनही ५० हजार रुपियाँ प्राप्त गरेका छन् । मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलका विजेताले सिंगापुर तथा मिसेस कोस्मोकी विजेताले म्यानमारमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने प्रतियोगिताकी अर्की आयोजक शिला बास्तोलाले जानकारी गराइन् ।

लोकप्रिय अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधिबाट सम्मानित गरिएको प्रतियोगितामा सन्ध्या लामा ‘मोस्ट इनर्जेटिक’, सुष्मा थापा ‘फ्याबुलस फेस’, अञ्जु परियार ‘मोस्ट ट्यालेन्टेड’, शिल्पा न्यौपाने महर्जन ‘बेस्ट हेयर’, दीप्ति ढुंगेल ‘हेल्दी स्किन’, क्रिस्टिना ज्ञवाली ‘बेस्ट ¥याम्प वाक’ र ऋचा शर्मा ‘मोस्ट पङ्चुअल’ उपउपाधिका विजेता भएका छन् ।

त्यसै गरी समीक्षा रानाभाट ‘बेस्ट स्माइल’, श्वेच्छा पौड्याल ‘मोस्ट डिसिप्लिन्ड’, कञ्चन महर्जन ‘फेसन आइकन’, सुष्मा थापा ‘मोस्ट फोटोजेनिक’, बिन्दु थापा राणा ‘मोस्ट कन्फिडेन्ट’, यास्मिन बेगम सैयद ‘मिसेस कन्जेनियालिटी’ र सुनिता श्रेष्ठ कर्माचार्य ‘मिसेस ह्युम्यानिटेरियन’ उपउपाधि विजेता भएका छन् ।

‘ह्विस्पर मिसेस नेपाल वल्र्ड २०२६’ को अन्तिम स्पर्धामा सहभागी हुन काठमाडौँ आएकी मिसेस वल्र्ड २०२५ चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी), महानायक राजेश हमाल, अभिनेत्री रेखा थापा, पूर्वमिसेस नेपाल वल्र्डलगायतले विजेताहरूलाई पुरस्कृत गरेका थिए ।

तस्बिर : बद्री थापा