काठमाडौं
रुस-नेपाल कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएको अवसरमा काठमाडौंस्थित रूसी सांस्कृतिक केन्द्र (रुस हाउस) मा ‘नेपाल–रुस थिएटर सप्ताह’ सुरु भएको छ। रूसी सांस्कृतिक केन्द्र र यसको दीर्घकालीन साझेदार शैलि थिएटरको आयोजनामा शुक्रबारदेखि सुरु भएको सप्ताहभरि कार्यक्रम रूसी तथा नेपाली रंगमञ्चीय परम्पराको आदानप्रदानमा केन्द्रित रहने आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले गर्नुभएको थियो। कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति ब्रजेश खनाल, नेपालस्थित रूसी दूतावासका मन्त्री–काउन्सिलर रिन्चेन रक्षायेभ, रंगकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। उद्घाटन समारोह पानसमा दीप प्रज्वलन गरी सुरु गरिएको थियो।
रुस हाउसकी निर्देशक अनास्तासिया खोख्लोभाले नेपाल–रुस कूटनीतिक सम्बन्धको ७०औँ वर्ष र विश्वप्रसिद्ध बोल्शोई थिएटर स्थापना भएको २५०औँ वर्षगाँठ एकै वर्ष परेकाले यसपटकको कार्यक्रम विशेष महत्वको रहेको बताउनुभयो। उहाँले संस्कृति र कला दुई देशबीचको मित्रताको महत्वपूर्ण सेतु बनेको उल्लेख गर्नुभयो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. तिमल्सिनाले रुसी साहित्यकार एन्टोन चेखोभ विद्यार्थी जीवनदेखि नै आफूलाई मनपर्ने लेखक रहेको बताउनुभयो। उहाँले चेखोभको नाटक ‘स्वान सङ’ (नेपाली अनुवाद ‘अन्तिम गीत’) लाई कलाकारको आत्मखोज र आत्मपहिचानको कथाका रूपमा व्याख्या गर्नुभयो।
नेपालस्थित रूसी दूतावासका मन्त्री–काउन्सिलर रक्षायेभले थिएटरलाई जीवनशैली र मानवीय संवेदनाको अभिव्यक्तिको माध्यमका रूपमा वर्णन गर्दै नेपाल–रुस सम्बन्धको वार्षिकोत्सवलाई सांस्कृतिक कार्यक्रममार्फत निरन्तर स्मरण गरिनु सकारात्मक भएको बताउनुभयो।

सप्ताहको पहिलो प्रस्तुति चेखोभको चर्चित एकाङ्की ‘स्वान सङ’ रहेको थियो। महेश पौड्यालले नेपालीमा अनुवाद गरेको नाटक शैलि थिएटरका अध्यक्ष नवराज बुढाथोकीले निर्देशन गर्नुभएको हो। नाटकमा वरिष्ठ रंगकर्मी सुनील पोखरेल मुख्य भूमिकामा देखिनुभएको छ भने सब्बु गुरुङले सहअभिनय गर्नुभएको छ।
सार्वजनिक प्रदर्शन असोज ३ देखि ५ गते (सेप्टेम्बर १९–२१) सम्म रुस हाउसमै दैनिक दुई चरणमा, दिउँसो २ः३० र साँझ ५ः३० बजे हुनेछन्। सप्ताहअन्तर्गत महेश पौड्यालद्वारा लिखित मौलिक नेपाली नाटक ‘भावमल्ली’ पनि मञ्चन गरिने आयोजकले जनाएको छ।











प्रतिक्रिया