विकासको साँचो अर्थ र पठन संस्कृति मानव सभ्यताको विकासलाई केवल ठूला सडक, गगनचुम्बी भवन र भौतिक पूर्वाधार निर्माणको दृष्टिले मात्र हेर्ने गरिन्छ । तर, वास्तविक विकासका लागि समाजमा चेतना, बौद्धिकता र पठन संस्कृतिको विकास अपरिहार्य हुन्छ । अमेरिकी एक लेखक जर्ज आर.आर. मार्टिनले पनि भनेका छन्– ‘पढ्ने मानिसले मर्ने बेलासम्म हजारौं जीवन बाँचिसकेको हुन्छ, कहिल्यै नपढ्ने मानिसले केवल एक जीवन मात्र बाँच्छ ।
’ भौतिक समृद्धिले मात्र कुनै पनि समाजलाई सभ्य र सुसंस्कृत बनाउन सक्दैन, मानवीय चेतनाको उत्थानका लागि पुस्तकहरू नै सबैभन्दा ठूला माध्यम हुन् । जब हाम्रा ज्ञानेन्द्रियहरू पुस्तकसँग एकसाथ जोडिन्छन्, तब पढाइ केवल सूचना सङ्कलन मात्र नरहेर एक पूर्ण जीवन–अनुभव बन्न पुग्छ । आँखाले शब्द हेर्दा, कानले ध्वनि सुन्दा, मुखले उच्चारण गर्दा र मस्तिष्कले त्यसलाई अर्थ, ज्ञान तथा कल्पनामा रूपान्तरण गर्दा चेतनाको एक अद्भुत यात्रा शुरु हुन्छ । पढाइदेखि समाज रूपान्तरणसम्मको यो यात्राले दिमाग, कल्पनाशीलता, समानुभूति र समालोचनात्मक सोचको विकास गर्छ । अन्ततः यसले एक राम्रो समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याउँछ ।
मस्तिष्कदेखि दीर्घायुसम्म
वैज्ञानिक अनुसन्धानहरूले पठन संस्कृतिको गहिरो मानसिक र शारीरिक फाइदाहरूलाई प्रमाणित गरेका छन् । गहिरो र केन्द्रित भएर पढ्दा स्ट्यान्फोर्ड विश्वविद्यालयको अनुसन्धानले देखाएअनुसार मस्तिष्कका जटिल स्नायु प्रणालीहरू सक्रिय हुन्छन् । विशेष गरी नेपाली (देवनागरी लिपि) पढ्दा बालबालिकाको मस्तिष्कको विकास तीव्र रूपमा हुन्छ, किनभने देवनागरी एक ध्वन्यात्मक लिपि हो जसमा जे बोलिन्छ, त्यही लेखिन्छ ।
दुई फरक संरचना भएका लिपिहरू पढ्दा मस्तिष्कमा ‘कग्निटिभ फ्लेक्सिबिलिटी’ अर्थात् संज्ञानात्मक लचकता बढ्छ, जसले गर्दा बालबालिकाको समस्या समाधान गर्ने क्षमता उच्च हुन्छ । यसबाहेक, दिमागलाई अध्ययनमार्फत निरन्तर सक्रिय राख्दा मानसिक क्षमता क्षय हुन पाउँदैन, जसले अल्जाइमर र डिमेन्सियाजस्ता गम्भीर रोगहरूको जोखिम न्यूनीकरण गर्दछ । येल विश्वविद्यालयले ३,६३५ व्यक्तिहरूमा गरेको एक लामो र गहन अध्ययनअनुसार नियमित रूपमा दिनको कम्तीमा ३० मिनेट पुस्तक पढ्ने मानिसहरूको आयु नपढ्नेहरूको तुलनामा औसतमा २ वर्ष बढी पाइएको छ भने ससेक्स विश्वविद्यालयको अर्को अध्ययनले केवल ६ मिनेट शान्तपूर्वक पुस्तक पढ्दा तनावको स्तर ६८ प्रतिशतसम्म कम हुने तथ्य उजागर गरेको छ ।
डिजिटल लत र पठनको विकल्पः डोपामाइन व्यवस्थापन
आजको डिजिटल युगमा मोबाइल वा सामाजिक सञ्जालको अत्यधिक प्रयोग ठूलो चुनौती बनेको छ । मोबाइल चलाउँदा मस्तिष्कमा छोटो समयमै ‘डोपामाइन’ अर्थात् खुसी र आनन्द महसुस गराउने हर्मोन रिलिज हुन्छ, जसले बारम्बार मोबाइल हेरिरहनुपर्ने लत बसाउँछ । यसको विपरीत, पुस्तक पढ्दा डोपामाइनको बहाव ढिला तर स्थायी रूपमा हुन्छ । यसले मस्तिष्कलाई तुरुन्तै हुने उत्तेजनाबाट टाढा राखेर गहिरो एकाग्रता र संयमको बानी बसाल्न अभिप्रेरित गर्दछ ।
पठन संस्कृति र महान् व्यक्तित्वहरूको दृष्टान्त
नेपाली इतिहास र विश्व मञ्चका महान् स्रष्टा तथा नेताहरूको जीवन पठन संस्कृतिको गहिरो प्रभावबाट अछुतो छैन । महाकवि लक्ष्मीप्रसाद देवकोटा असाधारण पठन साधना भएका स्रष्टा थिए भने, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको गहन विश्व साहित्यको अध्ययनले उनको राजनीतिक दृष्टिकोणलाई परिपक्व र दार्शनिक बनाएको थियो ।
‘जनताको बहुदलीय जनवाद’ का प्रवर्तक स्वर्गीय मदन भण्डारी अत्यन्तै गहिरो अध्ययन र अद्वितीय तार्किक क्षमता भएका असाधारण नेता थिए भने वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीले तीनपटक मदन पुरस्कार प्राप्त गर्नुको पछाडि उनको विशाल अध्ययन र अनुसन्धानप्रतिको समर्पण मुख्य आधार थियो । त्यस्तै, ओशोको निजी पुस्तकालय ‘लाओत्सु लाइब्रेरी’ मा डेढ लाखसम्म दुर्लभ पुस्तकहरूको सङ्ग्रह हुनु र बाल्यकालमा दिनको १० घण्टा पुस्तक पढेर ९ वर्षको उमेरमा ‘इन्साइक्लोपिडिया ब्रिटानिका’ सिध्याएका इलन मस्कले औपचारिक एरोस्पेस डिग्रीविना नै किताब पढेरै रकेट निर्माणको जटिल प्रविधि सिकेको तथ्यले पठनको असीमित शक्तिलाई प्रस्ट्याउँछ ।
पठन संस्कृतिको विकास
पठन संस्कृतिको विकास गर्दा जीवनशैलीमा साना तर प्रभावकारी बदलाव ल्याउन सकिन्छ । दिनको १०–१५ पृष्ठ वा १५ मिनेट पढेर सुरुवात गर्न सकिन्छ, किनभने लक्ष्य पृष्ठसंख्या होइन, निरन्तरता हो । पुस्तक छनौट गर्दा उमेर र रुचि ख्याल गर्नुपर्छ । जस्तै– ३ देखि ७ वर्षका बालबालिकाका लागि चित्र र दृश्यसहितका रमाइला कथाहरू, ८ देखि १२ वर्षका लागि साहसिक यात्रा र रोमाञ्चक कौतुहलताका कथाहरू, १३ वर्षमाथि ज्ञानवद्र्धक जीवनी र विज्ञानका पुस्तकहरू उपयुक्त हुन्छन् ।
नयाँ पेसाकर्मी (२०–३० वर्ष) का लागि करियर विकास र आत्म–व्यवस्थापन, स्थापित पेसाकर्मी वा अभिभावक (३०–४५ वर्ष) का लागि नेतृत्व र मनोविज्ञान, अनुभवी पाठक (४५ वर्षमाथि) का लागि दर्शन, आत्मकथा र समाजशास्त्रका पुस्तकहरू उत्तम हुन्छन् । घर वा कार्यालयमा शान्त कुनामा किताब, उज्यालो र आरामदायी सिट राखेर साना ‘पठन क्षेत्र’ बनाउनुका साथै अडियो बुक वा ई–बुकको प्रयोग गरेर पठन–मैत्री वातावरण तयार पार्न सकिन्छ ।
वडा तहदेखि समुदायसम्म पठन सञ्जालको निर्माण
‘जहाँ मानिस बस्छन्, त्यहाँ किताब पुगोस् र जहाँ किताब पुग्छ, त्यहाँ पढ्ने बानी बसोस्’ भन्ने नाराका साथ पठन संस्कृतिलाई घर, टोल, विद्यालय, वडा, समुदाय हुँदै महानगरसम्म जोडिएको साझा पठन सञ्जालको रूपमा विस्तार गर्न सकिन्छ । वार्ड नेतृत्वले हरेक वडामा कम्तीमा एक व्यवस्थित पुस्तकालय स्थापना गर्ने, पठन साझेदारी बढाउने, वार्षिक पुस्तक मेला आयोजना गर्ने र पठन स्वयंसेवकहरू परिचालन गर्ने संकल्प लिनुपर्छ ।
पठन केवल परीक्षा पास गर्ने माध्यम होइन, चेतना र सभ्यता निर्माण गर्ने शक्ति हो । ‘पुस्तकालय बनाउने मात्र होइन पाठक बनाउने, पाठक बनाउने मात्र होइन पठन संस्कार बसाल्ने र अन्ततः ज्ञानमा आधारित समुदाय निर्माण गर्ने’ उद्देश्यसहित हामीले ‘पढ्ने वडा, ज्ञानवान् समाज’ को परिकल्पनालाई साकार पार्नुपर्छ । यसका लागि व्यक्ति, परिवार, कार्यस्थल र समुदाय सबैले मिलेर पठनलाई आफ्नो जीवनशैलीको अभिन्न अङ्ग बनाउनु आजको आवश्यकता हो ।
(लेखक जोशी शिक्षाकर्मी तथा विकासका लागि पठन संस्कृति अभियन्ता हुनुहुन्छ ।)











प्रतिक्रिया