काठमाडौँ ।
विश्वभर स्वास्थ्य सेवा लिने प्रत्येक १० जनामध्ये एक जना बिरामीलाई उपचारका क्रममा कुनै न कुनै किसिमको क्षति हुने गरेको छ । त्यसमध्ये करिब आधा क्षति रोकथाम गर्न सकिने भए पनि स्वास्थ्य सेवामा हुने असुरक्षित अभ्यासका कारण बिरामीले अनावश्यक जोखिम व्यहोर्नुपरेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ ।
विश्व बिरामी सुरक्षा दिवसका अवसरमा डब्लूएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रका इन्चार्ज डा. निलेश बुद्धले जारी गरेको सन्देशमा नसर्ने रोग (एनसीडी) भएका बिरामीको उपचारलाई सुरक्षित बनाउन विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । यस वर्षको विश्व बिरामी सुरक्षा दिवसको नारा ‘जीवनभर सुरक्षित स्वास्थ्य सेवा’ रहेको छ ।
डब्लूएचओका अनुसार न्यून तथा मध्यम आय भएका मुलुकमा असुरक्षित र गुणस्तरहीन स्वास्थ्य सेवाको असर अझ गम्भीर देखिएको छ । यस्ता कारणबाट विश्वभर अनुमानित ५० लाख मानिसको मृत्यु हुने र करिब ६ ट्रिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति हुने गरेको उल्लेख गरिएको छ ।
विश्वमा हुने कुल मृत्युमध्ये ७४ प्रतिशत नसर्ने रोगका कारण हुने गरेका छन् । डब्लूएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रमा मात्रै प्रत्येक वर्ष करिब ९५ लाख मानिसको नसर्ने रोगका कारण मृत्यु हुने गरेको छ । त्यसमध्ये करिब आधा मृत्यु ७० वर्षभन्दा कम उमेरका मानिसमा हुने गरेको छ ।
नसर्ने रोगको उपचार लामो समयसम्म चल्ने र बिरामीले पटक–पटक स्वास्थ्य संस्थासँग सम्पर्क गर्नुपर्ने भएकाले उपचारको प्रत्येक चरणमा बिरामी सुरक्षाको जोखिम बढ्ने डब्लूएचओले जनाएको छ । विशेषगरी क्यान्सरजस्ता रोगको उपचारका क्रममा तीनमध्ये एक बिरामीले प्रतिकूल स्वास्थ्य घटना व्यहोर्न सक्ने उल्लेख गरिएको छ ।
डब्लूएचओका अनुसार नसर्ने रोगको सुरक्षित उपचार रोगको रोकथाम, स्क्रिनिङ, निदान, उपचार, स्वहेरचाह, पुनःस्थापना तथा प्रशामक उपचारसम्मका सबै चरणमा सुनिश्चित हुनुपर्छ । रोग पहिचानमा हुने ढिलाइ, औषधि प्रयोगमा हुने त्रुटि, स्वास्थ्य संस्थाबाट सर्ने संक्रमण तथा चिकित्सा उपकरणको असुरक्षित प्रयोग बिरामी सुरक्षाका प्रमुख जोखिम हुन् ।
त्यसैगरी बिरामीलाई एक स्वास्थ्य संस्थाबाट अर्कोमा पठाउँदा, स्वास्थ्यकर्मीबीच जिम्मेवारी हस्तान्तरण गर्दा तथा अस्पतालबाट डिस्चार्ज गर्दा हुने कमजोरीले पनि बिरामीको सुरक्षामा असर पार्ने गरेको छ । एकभन्दा बढी रोग भएका बिरामीले विभिन्न उपचार र औषधी एकैपटक प्रयोग गर्नुपर्ने भएकाले यस्तो जोखिम थप जटिल बन्ने डब्लूएचओको भनाइ छ ।
बिरामी सुरक्षासम्बन्धी विश्वव्यापी संरचना र नीति भए पनि त्यसलाई नसर्ने रोगसम्बन्धी कार्यक्रमसँग प्रभावकारी रूपमा जोड्नुपर्ने आवश्यकता डब्लूएचओले औँल्याएको छ । सन् २०१९ को विश्व स्वास्थ्य सभाको ‘ग्लोबल एक्सन अन पेसेन्ट सेफ्टी’ प्रस्तावपछि सन् २०२१–२०३० का लागि ‘ग्लोबल पेसेन्ट सेफ्टी एक्सन प्लान’ अघि बढाइएको थियो ।
डब्लूएचओका अनुसार असुरक्षित स्वास्थ्य सेवाको आर्थिक भार पनि ठूलो छ । आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) मुलुकमा अस्पतालको कुल खर्च तथा गतिविधिको करिब १५ प्रतिशत हिस्सा बिरामी सुरक्षा असफलताका कारण प्रभावित बिरामीको उपचारमा खर्च हुने गरेको प्रमाणले देखाएको छ ।
बिरामी सुरक्षा नसर्ने रोगसम्बन्धी नीति, रणनीति र कार्यक्रमको अभिन्न हिस्सा बनाउनुपर्ने डब्लूएचओको जोड छ । त्यसका लागि प्राथमिक स्वास्थ्य सेवामा आधारित निरन्तर र समन्वयात्मक उपचार प्रणाली, सुरक्षित अत्यावश्यक सेवामा पहुँचका लागि आर्थिक अवरोध हटाउने व्यवस्था, दिगो स्वास्थ्य वित्तीय स्रोत, भरपर्दो तथ्यांक तथा दक्ष र पर्याप्त स्वास्थ्य जनशक्ति आवश्यक रहेको जनाइएको छ ।
बिरामी स्वयं पनि आफ्नो उपचार र सुरक्षाका साझेदार बन्नुपर्ने डब्लूएचओले जनाएको छ । बिरामी र हेरचाहकर्ताले चिकित्सक तथा स्वास्थ्यकर्मीसँग प्रश्न गर्ने, प्रयोग गरिरहेका औषधी र उपचारबारे बुझ्ने, स्वास्थ्यसम्बन्धी अभिलेख सुरक्षित राख्ने, जोखिमका संकेत पहिचान गर्ने तथा उपचारमा केही असामान्य देखिएमा जानकारी गराउने वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ ।
स्वास्थ्यकर्मीलाई पनि सुरक्षित सेवा प्रदान गर्न आवश्यक ज्ञान, उपकरण, स्रोतसाधन र सुरक्षित कार्य वातावरण उपलब्ध गराउनुपर्ने डब्लूएचओको भनाइ छ । स्वास्थ्य संस्थामा उपचारका क्रममा भएका घटना तथा हुनसक्ने तर टरेका घटनालाई दोषारोपणका रूपमा नभई सिकाइ र सुधारका अवसरका रूपमा प्रयोग गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा पनि जोड दिइएको छ ।
विश्व बिरामी सुरक्षा दिवसले हरेक व्यक्तिले स्वास्थ्य सेवाको प्रत्येक चरणमा आवश्यक अवधिभर सुरक्षित उपचार पाउनु उसको अधिकार भएको सन्देश दिएको छ । डब्लूएचओले सुरक्षित स्वास्थ्य सेवा नै विश्वव्यापी स्वास्थ्य पहुँचको अभिन्न हिस्सा भएको जनाएको छ ।











प्रतिक्रिया