मोटरसाइकलको ठक्करबाट पाँच पैदलयात्रीसहित सात जना घाइते


काठमाडौँ।

गुल्मीको मदाने गाउँपालिका–४ नातिनडाँडामा मोटरसाइकलले पाँच जना पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकल चालकसहित सात जना घाइते भएका छन्।

बाझकटेरीबाट पुर्कोटदहतर्फ आउँदै गरेको लु.२ प ७९२९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ सडकमा हिँडिरहेका पाँच जना पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार एक जनासहित पाँच पैदलयात्री घाइते भएका हुन्।

मोटरसाइकल मदाने गाउँपालिका–४ धारापानीका करिब १७ वर्षीय खुमबहादुर सुनारले चलाएका थिए। दुर्घटनामा उनीसहित सोही ठाउँका करिब २० वर्षीय माधव सुनार घाइते भएका छन्।

त्यस्तै, पैदलयात्रीतर्फ मदाने गाउँपालिका–२ पञ्चपोखरीकी २६ वर्षीया लक्ष्मी बि.क., मदाने–२ बाझकटेरी नेटाकी ३५ वर्षीया कविता भुसाल र उनकी करिब ९ वर्षीया छोरी अर्चना भुसाल घाइते भएका छन्।

यसैगरी सोही स्थानकी ४० वर्षीया कमला बि.क. र १ वर्षीया सबिना बि.क. समेत दुर्घटनामा घाइते भएका थिए। उनीहरू उपचारपछि डिस्चार्ज भएका छन्।

अन्य घाइतेहरूको उपचार स्थानीय मेडिकल, पुर्कोटदह, गुल्मीमा भइरहेको छ। मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक खुमबहादुर सुनारको उपचार भइरहेको जनाएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।