धादिङ ।
‘सरकार, राहतका बोराहरू पक्की घरका आँगनमा मात्र थुपारिए । हाम्रा भग्नावशेषमाथिका छाप्रामा त केवल भोकले रुने बालबालिकाको आवाज गुन्जियो । त्यसैले त हामी फेरि त्यही खोलामा फर्कियौँ, जसले हाम्रो सर्वस्व खोसेको थियो ।’
गजुरी गाउँपालिका–६, बेल्खुस्थित त्रिशूली र आसपासका नदी किनारमा अहिले पनि उस्तै दृश्य देखिन्छन्— हिलो र बालुवाका थुप्रामा बेल्चा कोदाली चलाइरहेका केही जीर्ण शरीरहरू । तर, यी केवल कामदार मात्र होइनन्, उनीहरू मृत्यु र जीवनबीचको रेखामा उभिएर दैनिक रूपमा संघर्ष गरिरहेका भाग्यहीनहरू हुन् । गत भदौ १० गतेको हिउँपहिरोपछिको बाढीले उजाड पारेको यो किनार यति बेला मजदुरहरूको खप्परमा लेखिएको विवशताको साक्षी बनेको छ ।
बेल्खु क्षेत्रमा मात्रै दैनिक मजदुरी गरेर हातमुख जोड्ने करिब एक हजार मजदुर परिवार आश्रित थिए । जब बाढीले नदी किनार मात्र होइन, जलाधार क्षेत्रका खोल्साहरूमा समेत बालुवा र गेगरको विशाल थुप्रो थुपारिदियो, तब यी श्रमजीवीहरूको संसार एकाएक अन्धकारमय बन्यो । नदीमा बालुवा झिक्न पूर्णतः रोकियो । मजदुरी खोसियो, ठेलागाडा थन्किए र ओदानमा बस्ने हाँडी र ताप्के खाली भए ।
राज्य र विभिन्न दातृनिकायबाट बाढी प्रभावित क्षेत्रमा राहतको ओइरो लाग्यो । बजार क्षेत्रका पक्की घर भएकाहरूले चामल, दाल, नुन र तेलका भारी पाए । तर, नदीको पेटमा ज्यान जोखिममा राखेर बालुवा चाल्ने यी भूमिहीन, सुकुम्बासी र मजदुरहरूको दैलोमा भने कसैको नजर परेन । राहत वितरणको कागजी तथ्यांकबाट सधैँ झैँ यी सीमान्तकृतहरू बहिष्कृत भए ।
घरमा न चामलको दाना थियो, न त साहुले उधारो पत्याउने स्थिति । लगातार चुलो निभेपछि र बालबालिकाको भोकले रुवावासी मच्चिएपछि मजदुर रामबहादुर तामाङको परिवारमा जुन सन्नाटा छायो, त्यो शब्दमा वर्णन गर्न सकिँदैन । ‘घरमा नुन–तेल किन्ने पैसा थिएन, बच्चाहरू भोकले रोइरहेका थिए । सरकारको राहत हामीसम्म आइपुगेन । त्यसपछि मर्नु न बाँच्नुको अवस्थामा हामी फेरि त्यही मृत्यु निम्त्याउने खोलामा पस्न बाध्य भयौँ’ तामाङको यो भनाइले राज्यको संवेदनहीनताप्रति गम्भीर प्रश्न खडा गरेको छ ।
बाढीले घरजम बगर बनाइदिएपछि धेरैजसो मजदुरहरू नदीपारि गएर शरण लिने अवस्थामा समेत छैनन् । बाढीको उच्च जोखिम कायमै छ । जुनसुकै बेला फेरि माथिबाट लेदोसहितको बाढी आउन सक्ने खतरा छ । तर, शिरमाथिको आकाश र ओत लाग्ने गतिलो छानो नभएका उनीहरूका लागि ‘बाढीको त्रास’ भन्दा ठूलो ‘भोकको त्रास’ बनेको छ ।
मजदुरहरू बिहानै खोलामा ओर्लिन्छन् । एउटा हातमा कोदाली हुन्छ भने अर्को कान खोलाको गर्जन सुन्न तम्तयार हुन्छ । खोलाको बहाव थोरै मात्र फेरिए पनि उनीहरू बगाउने खतरा ज्युँका त्युँ छ । तर पेटको आगोले उनीहरूलाई मृत्युको डरभन्दा बढी सताएको छ । सुरक्षित आश्रयस्थलको अभावमा तहसनहस भएको बजार किनारमा उनीहरूको यो दिनचर्या कुनै कहालीलाग्दो दुःस्वप्नभन्दा कम छैन ।
राहतका ट्रकहरू मूल सडकबाटै फर्किए, तर ती ट्रकका पाङ्ग्राले यी श्रमजीवीहरूको बस्ती छुन सकेन । भोकले आत्तिएर मृत्युको मुखमा होमिन बाध्य बेल्खुका यी बालुवा मजदुरहरूको कथाले राज्यलाई गिज्याइरहेको छ । जबसम्म नीति निर्माताहरू कागजी राहतको फेर समातेर बस्छन्, तबसम्म बेल्खुका यी मजदुरहरूले आफ्नो जीवनको बाजी यसरी नै नदीको बगरमा राखिरहनुपर्ने विवशता रहनेछ ।











प्रतिक्रिया