आजबाट जनक शिक्षाले सरकारी पाठ्यपुस्तक छाप्न सुरु गर्ने

0
Shares

-आगामी शैक्षिक सत्रमा जनकले १ करोड ८० लाख थान पाठ्यपुस्तक छाप्ने
-आगामी वर्ष पनि निजीलाई १, २ र ४ कक्षाको छपाइ अनुमति

भक्तपुर ।

जनक शिक्षा सामग्री केन्द्रले आज शुक्रवारबाट सरकारी पाठ्यपुस्तक छपाइ गर्न लागेको हो । पहिलो साताबाट छपाइ नगरे आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तक अभाव हुने भएपछि छपाइ सुरु गर्न लागेको हो ।

केही परिमार्जन सम्भावना रहे पनि गत वर्षकै पाठ्यक्रमअनुसार पाठ्यपुस्तक छाप्ने निर्णय शिक्षा तथा खेलकुद मन्त्रालयले गरेको छ । केही दिनअघि नेपाल समाचारपत्रले ‘पुस्तक फेरिने हल्लाले पाठ्यपुस्तक छपाइ ठप्प’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । मन्त्रालयले बिहीवार दिउँसो निर्णय गरी पाठ्यक्रम विकास केन्द्रमा पठाएको थियो । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक महेन्द्र पराजुलीले नेपाल समाचारपत्रसँग कुरा गर्दै आज शुक्रवारबाटै छपाइ गर्न जनकलाई पत्राचार गरिसकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘केही कक्षाका केही विषयमा सामान्य परिमार्जन होला, बाँकी गत वर्षकै आधारमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई छाप्ने अनुमति दिएका हाँै ।’

जनक शिक्षाका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले सरकारी निर्देशन लगत्तै जनक शिक्षाले गत वर्षकै प्रिन्ट रेडी कपी(पिआरसी) अनुसार छाप्ने तयारी गरेको र माघ अन्तिमसम्म निरन्तर छापिने जानकारी दिनुभयो । उहाँका अनुसार पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा खेलकुद मन्त्रालयले छाप्न सुरु गर्न निर्देशन दिएपछि छपाइ गर्न लागिएको हो । मन्त्रालयले आगामी शैक्षिक सत्रबाट मात्र पाठ्यपुस्तक परिमार्जन हुने सम्भावना भएपछि मन्त्रालयले चालु शैक्षिक सत्रको लागि छाप्न निर्देशन दिएको हो । सरकारले पुस्तक छाप्न नदिएपछि ३ महिनासम्म जनक शिक्षा कामबिहीन भएको थियो ।

जनक शिक्षाले पहिलो चरणमा ऐच्छिक विषयबाट छाप्न सुरु गर्ने जानकारी दिँदै प्रवक्ता राम कुँवरले भन्नुभयो– ‘आजबाट ऐच्छिक विषयको पाठ्यपुस्तक छाप्न सुरु गर्नेछौँ, त्यसपछि सबै विषयको छाप्नेछाँै ।’ पाठ्यक्रम विकास केन्द्रले अगिलो शैक्षिक सत्रमा निजी मुद्रक तथा वितरकलाई कक्षा १,२ र ४ को पाठ्यपुस्तक छाप्न दिएको थियो । यो वर्ष पनि गत वर्षकै निर्णयलाई निरन्तरता दिएको छ । बाँकी ३, ५ देखि १२ कक्षासम्मको पाठ्यपुस्तक जनक शिक्षाले छाप्नेछ । निजी प्रकाशकले गत वर्षको पाठ्यपुस्तक अझै भण्डारमा बाँकी रहेको भन्दै सरकारलाई आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छाप्न दिन आग्रह गरेको थियो । मन्त्रालयले सोहीअनुसार निर्णय गरेको हो ।

जनक शिक्षाले शैक्षिक सत्र २०८४ मा १ करोड ८० हजार थान पाठ्यपुस्तक छाप्ने गर्ने योजना बनाएको छ । जनक शिक्षाका प्रबन्ध सञ्चालक पौडेलले गत वर्षको ३३ लाख थान किताब उब्रिएकाले त्यस बाहेक १ करोड ८० लाख थान पुस्तक मात्रै छापिने बताउनुभयो।
यसअघि सरकारले कक्षा १–१२ को पाठ्यक्रम परिमार्जन गर्न राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न कार्यदल गठन गरेको कारण पुस्तक छपाइ रोकिएको थियो ।

शिक्षाविद् प्राडा बालचन्द्र लुइँटेलको संयोजकत्वमा गठिन कार्यदलले काम सुरु गरिरहेको छ । कार्यदलअन्तर्गत १२ वटा विषयगत समूह छन्, ती समूहले प्रदेश तथा जिल्लास्तरमा पुगेर सुझाव संलन गरिरहेको छ । कार्यदलले आगामी शैक्षिक सत्रमा परिमार्जित पाठ्यपुस्तक छपाइ तयारी थियो, नभ्याइने भएपछि पुरानै छाप्ने निर्णय भएको हो । तर केही विषयमा सामान्य परिमार्जन गर्ने सरकारको तयारी छ । ‘कुन विषयमा के परिमार्जन गर्ने ? भन्ने विषयमा निर्णय भैनसकेको जानकारी दिँदै केन्द्रका महानिर्देशक पराजुलीले भन्नुभयो– ‘केही परिवर्तन होला, ढिलो हुने भएकाले केही विषयबाहेक छपाइ गर्न जनक शिक्षालाई निर्देशन दिएका छौँ ।’

लामो प्रकृया भएकाले आगामी वर्षको लागि मात्र नयाँ पुस्तक छाप्ने विषयमा छलफल भैरहेको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘योजना र खाका तयार गर्दैमा आगामी वर्षबाट पुस्तक परिमार्जन हुने होइन । कार्यदलले निरन्तर काम गरिरहेको छ । कार्यदलको प्रतिवेदनको आधारमा केही परिमार्जन गर्न सकिन्छ । एक पटक होइन, क्रमैसँग सबै कक्षामा पाठ्यक्रम परिमार्जन हुनेछ ।’

प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने कि केही वर्षभित्र भन्ने विषयमा अध्ययन गरेर निर्णय गर्नुपर्ने र त्यसको लागि केही समय चाहिने जिकिर गर्दै उहाँले त्यसपछि कुनकुन कक्षामा परिमार्जन गर्ने भन्ने निर्णय भएपछि पाठ्यभार तयार गरी पाठ्यक्रम निर्माण गरिने बताउनुभयो।