सहरका स्क्रिनले बदलेको दृष्टिकोण

0
Shares

कल्पना गर्नुहोस् त, तपाईं सहरको कुनै सबैभन्दा व्यस्त चोकमा हुनुहुन्छ । जहाँ सधैँ कुनै बहुराष्ट्रिय ब्रान्डका महँगा कपडा, आधुनिक गाडी वा कुनै प्रसिद्ध नायक–नायिकाका चमकधमकपूर्ण विज्ञापनहरू देखिन्थे, आज त्यहाँको विशाल डिजिटल स्क्रिनमा बिल्कुल अर्कै दृश्य छ । त्यहाँ कुनै सेलिब्रेटी होइन, एउटा यस्तो अनुहार मुस्कुराइरहेको छ, जसको वर्षौंको मौन साधना र सानो आविष्कारले आज लाखौँ–करोडौँ मानिसको जीवन बचाएको छ, धेरैको भोकमरी र रोग मेटाएको छ । सुन्दा कुनै सुन्दर काल्पनिक कुराजस्तो लाग्छ । तर, विश्व मानचित्रमा एउटा यस्तो देश छ, जहाँ यो कुनै कल्पना होइन, दैनिक जीवनको प्रेरक यथार्थ बनेको छ । चीनका प्रमुख सहरहरूले व्यापारिक विज्ञापनको होडबाजीलाई हटाएर आफ्ना सार्वजनिक स्क्रिनहरूमा महान् वैज्ञानिक चियान सुइसिन, नोबेल पुरस्कार विजेता तु युयु र भोकमरीविरुद्ध क्रान्ति ल्याउने कृषि वैज्ञानिक युआन लोङ्पिङजस्ता असाधारण प्रतिभाहरूलाई स्थान दिएका छन् ।

सहरका सबैभन्दा महँगा र आँखा तान्ने ठाउँहरूमा आज उनीहरूको योगदान र निष्ठालाई गर्वका साथ प्रदर्शन गरिँदै छ । यो केवल एउटा विज्ञापन बोर्ड बदल्ने दृश्यमात्र होइन, मानव इतिहासमै एउटा गहिरो र क्रान्तिकारी प्रश्न खडा गर्ने महाअभियान पनि हो । जसको उत्तर आज हामीले पनि आफ्नै आत्मसाक्षी राखेर खोज्नुपर्ने बेला आएको छ । हाम्रा छोराछोरी, हाम्रा युवा र हाम्रो भावी पुस्ताले वास्तवमा कसलाई आफ्नो आदर्श मान्ने त ! आजको आधुनिक युगमा चर्चा, भाइरल हुनु र स्क्रिनमा देखिनु नै सफलताको निर्विकल्प मापन बनेको छ । टेलिभिजन, सामाजिक सञ्जाल र सडकका चम्किला होर्डिङ बोर्डहरूमा जसको अनुहार बारम्बार ठोकिन्छ, तिनै हाम्रा लागि परिचित र आदरणीय बन्न पुग्छन् । हामी तिनलाई सजिलै चिन्न थाल्छौँ, किनकि तिनलाई हाम्रो दृष्टि र चेतनाभित्र जबर्जस्ती उतारिएको हुन्छ ।

तर, दृश्यको अर्को दर्दनाक पाटो अर्कै छ । त्यहाँ अनगिन्ती यस्ता तपस्वीहरू छन्, जसले प्रयोगशालाका चार भित्ताभित्र आफ्नो सिंगो जिन्दगी होमेर देश र दुनियाँका लागि चमत्कारिक इतिहास रचिरहेका छन् । कस्तो विडम्बना ! जसको पसिना र समर्पणले संसार टिकेको छ, उनीहरू आफ्नै कार्यक्षेत्रभन्दा बाहिर पूर्णतः गुमनाम छन् । आजको कुनै किशोरलाई कुनै फिल्मी कलाकार, ¥यापर वा खेलाडीको नाम सोध्नुभयो भने उसले एकै सासमा दर्जानौँ नाम भनिदिन सक्छ । तर, उसलाई आफ्नो जीवन बचाउने वा आधुनिक प्रविधि दिने वैज्ञानिकको नाम सोध्नुभयो भने एउटा नाम सम्झिन पनि हम्मे–हम्मे पर्छ । के हाम्रा वैज्ञानिक र अनुसन्धानकर्ताहरू नरमाइला वा ‘बोरिङ’ भएर यस्तो भएको हो त ? कदापि होइन । मुख्य कारण त यो हो कि हामीले उनीहरूको त्याग, उनीहरूको संघर्ष र उनीहरूको अतुलनीय योगदानलाई कहिल्यै हाम्रो दैनिक संस्कृति, मनोरञ्जन र चियापसलको बहसको हिस्सा बनाउनै चाहेनौँ ।

हामीले ग्ल्यामर र सेलिब्रेटीहरूलाई सधैँ ‘स्पटलाइट’ मा राख्यौँ । किनकि उनीहरूले सजिलै ध्यानाकर्षण गर्छन् । तर, हामीले यो अकाट्य सत्य भुल्नु हुँदैन कि मानिसको आँखाले जे देख्छ, उसको मस्तिष्कले त्यस्तै सपना बुन्न थाल्छ । जुन मानिसहरूको भौतिक चमक र बाह्य सफलतालाई समाजले बारम्बार उत्सवको रूपमा मनाउँछ, हाम्रा बालबालिकाले पनि सफलताको परिभाषा तिनै व्यक्तिहरूसँग जोडेर हेर्न थाल्छन् । एकपटक सोच्नुहोस् त, यदि यो चर्चा, यो चमकधमक र यो सम्मान मनोरञ्जनको साँघुरो दायराबाट बाहिर निस्केर मानव सभ्यताका सच्चा नायकहरूसम्म पुगेको भए कस्तो हुन्थ्यो होला ? कल्पना गर्नुहोस्, तपाईं साँझको थकान मेट्न सहरको बाटो हिँडिरहनुभएको छ र अचानक एउटा विशाल स्क्रिनमा कुनै अनुसन्धानकर्ताको निष्कलंक अनुहारसँगै उनले गरेका महान् आविष्कारको रोमाञ्चक कथा प्रकाशित भइरहेको छ ! कल्पना गर्नुहोस्, हाम्रा विद्यालयहरूले वैज्ञानिकहरूलाई केवल पाठ्यपुस्तकका पानामा मात्र कैद नगरी हरेक घरका बालबालिकाले चिन्ने र गर्व गर्ने ‘वास्तविक सुपरहिरो’ बनाइदिए कस्तो वातावरण बन्थ्यो होला ?

यसो भनिरहँदा कला, साहित्य, संगीत वा खेलकुदको अतुलनीय योगदानलाई कम आँक्न खोजिएको पक्कै होइन । उनीहरूको आफ्नै विशिष्ट गरिमा र स्थान छ, र मानिसहरूले आफ्ना प्रिय कलाकार वा खेलाडीलाई सधैँ माया गरिरहनेछन् । तर, एउटा सचेत, जीवन्त र समृद्ध समाज निर्माणका लागि ‘आदर्श पात्र’ को दायरा केवल मनोरञ्जनमा मात्र सीमित हुनुहुँदैन । चीनको यो दूरदर्शी अभियानले आज वैज्ञानिकहरूलाई पनि सार्वजनिक ‘सेलिब्रेटी’ जस्तै उच्च सम्मान दिलाउन थालिसकेको छ । आज त्यहाँका नागरिकहरू ती विशाल स्क्रिनका अगाडि उभिएर गर्वका साथ तस्बिर खिच्छन्, आफ्ना बालबालिकालाई ती वैज्ञानिकहरूको कथा सुनाउँछन् र तिनको जस्तै जीवन जिउने प्रेरणा दिन्छन् । यो दृश्यले मानिसको सोच्ने शैलीमै ठूलो रूपान्तरण ल्याइदिएको छ ।

यदि, हामी साच्चिकै चाहन्छौँ कि हाम्रो आगामी पुस्ताले कुनै नयाँ कुराको आविष्कार गरोस्, रोग र गरिबीविरुद्ध लडोस्, देशको नाम विश्वमा उच्च पारोस् र समग्र मानव जातिकै समस्या समाधान गर्ने साहसिक सपना देखोस्, भने हामीले उनीहरूलाई आजैदेखि साँचो अर्थका नायकहरूको सफलताको उत्सव मनाउन सिकाउनै पर्छ । हाम्रा बालबालिकाले स्क्रिनमा देख्ने अनुहारहरूले उनीहरूको भविष्यको दिशा तय गर्छन् । त्यसैले, अब केवल उपभोग्य वस्तु र क्षणिक मनोरञ्जनका विज्ञापनमा अल्झिने होइन । अब समय आइसकेको छ, हामीले हाम्रो समाजको प्राथमिकता, चेतना र मुख्य ‘स्पटलाइट’ लाई बदलेर सही ठाउँमा ज्ञान, विज्ञान र मानवीय समर्पणलाई सम्मान गर्ने संस्कृति बसाल्नुपर्छ ।