सन् १९५१ मा नयाँ दिल्लीबाट सुरु भएको एसियाली खेलकुद (एसियाड) को ऐतिहासिक यात्रामा नेपाल प्रारम्भिक कालदेखि नै सहभागी रहँदै आएको छ । तर, सात दशकभन्दा बढीको यो लामो इतिहास र पछिल्ला साढे तीन दशकको निरन्तर प्रयासलाई सूक्ष्म रूपमा नियाल्ने हो भने नेपाली खेलकुदको झोला अझै पनि सोचेजति भरिन सकेको छैन । हालसम्म नेपालले कुल २६ वटा पदक मात्र आफ्नो नाममा लेख्न सफल भएको छ । जसमध्ये २३ वटा काँस्य र केवल ३ वटा रजत पदक रहेका छन् । यो तथ्याङ्कले एकातिर हाम्रा खेलाडीहरूको अदम्य साहस र सीमित साधन–स्रोतका बाबजुद पदक जित्ने अठोटलाई झल्काउँछ भने अर्कोतिर हाम्रो खेलकुद संयन्त्रको दीर्घकालीन दृष्टि र ठोस नीतिको अभावलाई स्पष्ट रूपमा छर्लङ्ग पार्छ ।
नेपाली खेलकुदको इतिहासमा सन् १९९८ को बैंकक एसियाड एउटा स्वर्णिम अध्यायका रूपमा दर्ज छ, जहाँ तेक्वान्दोकी सविता राजभण्डारीले नेपालका लागि पहिलो ऐतिहासिक रजत पदक जितेर नयाँ उचाइ थपेकी थिइन् । तर, त्यो सफलतालाई निरन्तरता दिन नेपालले अर्को रजत पदकका लागि पूर्ण २० वर्षको लामो प्रतीक्षा गर्नुप¥यो । सन् २०१८ मा इन्डोनेसियामा आयोजित १८ औँ एसियाडमा प्याराग्लाइडिङको पुरुष टोलीले अप्रत्याशित तर सानदार प्रदर्शन गर्दै दोस्रो रजत पदक दिलायो । त्यसपछि सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९ औँ एसियाडमा करातेकी एरिका गुरुङले व्यक्तिगत स्पर्धामा नेपाललाई २५ वर्षपछिको ऐतिहासिक रजत पदक दिलाएर राष्ट्रको शिर पुनः उच्च बनाइन् । सवितापछि व्यक्तिगत विधामा रजत जित्ने एरिका नै दोस्रो नेपाली खेलाडी बनिन् । यसका साथै, सोही १९औँ एसियाडमा पहिलो पटक सहभागी भएको महिला कबड्डी टोलीले सेमिफाइनलसम्मको यात्रा तय गर्दै काँस्य पदक जित्नु नेपाली खेलकुदका लागि अत्यन्तै उत्साहजनक र आशालाग्दो उपलब्धि मान्न सकिन्छ ।
यदि विधागत रूपमा समीक्षा गर्ने हो भने कराते नेपालका लागि पदकको उच्च सम्भावना भएको खेल मानिन्छ । जहाँबाट हालसम्म एक रजत र तीन काँस्य प्राप्त भइसकेका छन् । सन् १९९४ को हिरोसिमा एसियाडमा सीता राईले करातेमा पहिलो काँस्य जितेकी थिइन् भने पछि सम्बरबहादुर गोले र विमला तामाङले पनि यसै विधामा देशका लागि काँस्य पदक जोडे । यद्यपि, ऐतिहासिक रूपमा नेपाललाई सबैभन्दा बढी पदक दिलाउने मुख्य विधा तेक्वान्दो (१ रजत, १३ काँस्य) र बक्सिङ (१६ काँस्य) रहेका छन् । दलबहादुर राना मगर, मनोजबहादुर श्रेष्ठ, सुशील पोखरेल, तुलबहादुर थापा, विधान लाम्चा, राजकुमार राई, राजकुमार बुच्छे, रामबहादुर घच्छे, चित्रबहादुर गुरुङ, मानबहादुर शाही, सपना मल्ल, किशोरबहादुर श्रेष्ठ, दीपक विष्ट (दुई पटकका काँस्य विजेता), रेणु मगर, रितु जिमेउ राई, मनिता शाही, आयशा शाक्य र दीपक महर्जनजस्ता योद्धा खेलाडीहरूले आफ्नो रगत र पसिना बगाएर एसियाली मञ्चमा नेपालको झण्डा फहराएका हुन् ।
तर विडम्बनाको कुरा, जुन विधाहरूमा नेपालको पकड बलियो थियो, तिनै पारम्परिक खेलहरूमा पछिल्ला वर्षहरूमा नेपालको साख खस्कँदै गएको छ ।
टोलीको सहभागिता संख्या बढाउनुलाई नै उपलब्धि मान्ने प्रवृत्तिले गर्दा गुणात्मक प्रदर्शन पछाडि परेको छ । विश्व खेलकुद प्राविधिक क्रान्ति, डिजिटल स्कोरिङ, उन्नत खेलकुद विज्ञान र आधुनिक प्रशिक्षण प्रविधिमा धेरै अगाडि बढिसक्दा नेपाल अझै पनि परम्परागत शैली र तदर्थवादमै रुमल्लिरहेको छ । विगतका खेलाडीहरूले आफ्नो व्यक्तिगत प्रतिभा र आत्मबलका भरमा पदक जितेका थिए, तर आधुनिक खेलकुदमा वैज्ञानिक ज्ञान र अत्याधुनिक प्रविधिविना पदकको कल्पनासम्म गर्न सकिँदैन । राज्य र सम्बन्धित खेलकुद निकायहरूको दीर्घकालीन सोच र लगानीको अभावका कारण आज थुप्रै प्रतिभाशाली खेलाडीहरू आफ्नो भविष्य अन्धकार देखेर पलायन हुन बाध्य भइरहेका छन् ।
नेपाली खेलकुदलाई साँच्चिकै माथि उठाउने हो भने सहभागिताको संख्या बढाउने पुरानो सोचलाई त्यागेर दीर्घकालीन रणनीति बनाउनु अत्यावश्यक भइसकेको छ । एसियाडदेखि ओलम्पिकसम्म पदक हासिल गर्ने उच्च लक्ष्य राखेर प्रत्येक खेल विधालाई फरक–फरक दृष्टिकोणले वर्गीकरण गरी लगानी गर्नुपर्छ । हाम्रा खेलाडीहरूले पर्याप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्च र प्रतियोगिताहरू खेल्ने अवसर पाइरहेका छैनन्, जसले गर्दा उनीहरूको मनोबल र अनुभवमा कमी आउने गरेको छ । नियमित प्रतिस्पर्धा, वैज्ञानिक प्रशिक्षण, अन्तर्राष्ट्रिय एक्सपोजर र योग्य एवं अद्यावधिक प्रशिक्षकहरूको व्यवस्थापन गर्न सके मात्र नेपाली खेलाडीहरूले आफ्नो पूर्ण क्षमता प्रदर्शन गर्न सक्नेछन् । राज्यले खेलकुदलाई केवल एक औपचारिक सहभागितामा सीमित नराखी, प्रतिभाको पहिचान, संरक्षण र उचित सम्मान गर्ने नीति ल्याउनु आजको मुख्य आवश्यकता हो, जसले नेपाली खेलकुदलाई निराशाबाट आशा र सफलताको नयाँ दिशातर्फ दोहो¥याउन सकोस् ।











प्रतिक्रिया