हामीले बाल्यकालदेखि कक्षाकोठाका भित्ताहरूमा देख्दै आएको र मस्तिष्कमा सजाएको संसारको तस्बिर वास्तवमा सत्य थिएन भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, करिब साढे चार सय वर्षदेखि मानव चेतनालाई भ्रमित पारिरहेको त्यही ‘संसारको गलत ऐना’ लाई फुटाएर वास्तविक धरातल देखाउन संयुक्त राष्ट्रसंघको महासभाले एक ऐतिहासिक र क्रान्तिकारी कदम चालेको छ । लामो समयदेखि प्रभुत्व जमाउँदै आएको परम्परागत मर्केटर नक्साको ठाउँमा पृथ्वीका महादेशहरूको वास्तविक आकार र क्षेत्रफल दर्शाउने ‘इक्वल अर्थ प्रक्षेपण’ लाई अपनाउन विश्व समुदायलाई आह्वान गरिएको छ । महासभाको ढोकामा भएको यो मतदान केवल एउटा प्राविधिक वा भौगोलिक निर्णयमात्र थिएन, वर्षौंदेखि ओझेलमा पारिएका र खुम्च्याइएका भूभागहरूको आत्मसम्मान र अस्तित्वको लडाइँ थियो । विशाल बहुमतका साथ १६४ देशले यस सत्यको पक्षमा आफ्नो मताधिकार प्रयोग गर्दा भूराजनीतिको पुरानो धङधङी बोकेको अमेरिकाले भने एक्लै विपक्षमा उभिएर यसको विरोध ग¥यो, जबकि छ राष्ट्रहरूले यस ऐतिहासिक क्षणमा तटस्थ बस्ने बाटो रोजे ।
सन् १५६९ मा फ्लेमिस भूगोलविद् जेरार्डस मर्केटरले समुद्री यात्रीहरूको मार्गदर्शनका लागि बनाएको नक्साले गोलाकार पृथ्वीलाई समतल कागजमा उतार्दा एउटा यस्तो गम्भीर त्रुटि छोडेको थियो, जसले शताब्दीऔँसम्म विश्वको मानसिकतालाई नै विकृत बनाइदियो । यो नक्सामा ध्रुवीय र उत्तरी अक्षांशका धनी तथा शक्तिशाली देशहरूलाई अस्वाभाविक रूपमा विशाल र भूमध्यरेखीय क्षेत्रका गरिब तथा विकासोन्मुख देशहरूलाई सानो देखाइयो । परिणामस्वरूप, नक्सामै युरोप र उत्तर अमेरिका विशालकाय देखिँदा अफ्रिका, दक्षिण अमेरिका र दक्षिण एसियाजस्ता भूभागहरू भूगोलको कुनामा खुम्चिन बाध्य भए । जहाँ अफ्रिका महादेश ग्रिनल्यान्डभन्दा १४ गुणा ठूलो छ, त्यहाँ मर्केटरको नक्साले ती दुवैलाई बराबर आकारमा देखाएर सत्यको ठाडो उपहास गरिरह्यो । यो केवल प्राविधिक त्रुटिमात्र थिएन, यसले मानिसको मनोविज्ञानमा उत्तरका देशहरू स्वतः ‘विशाल र शक्तिशाली’ अनि दक्षिणका देशहरू ‘साना र कमजोर’ हुन् भन्ने हीनग्रन्थी उत्पन्न गराइदियो ।
सन् २०१८ मा भूगोलविद्हरूको टोलीले तयार पारेको ‘इक्वल अर्थ प्रक्षेपण’ ले भने भूगोलको यो ऐतिहासिक अन्यायलाई पूर्ण रूपमा सच्याउने साहस गरेको छ । यस नयाँ नक्सामा अफ्रिका, ल्याटिन अमेरिका, ओसिएनिया र हाम्रो आफ्नै दक्षिण एसियाले आफ्नो वास्तविक र विशाल आकार पाएका छन् । प्रस्तावका प्रायोजक तथा टोगोका विदेशमन्त्री रोबर्ट डुसेले भावुक हुँदै भनेका थिए कि नक्सा केवल बाटो खोज्ने साधनमात्र होइन, यसले त भावी पुस्ताको कल्पना, शिक्षा र विश्वप्रतिको दृष्टिकोण निर्माण गर्छ । त्यसैले, नक्सामा हुने विकृतिले पुस्तौँसम्म गलत प्रतिनिधित्व र हीनभावलाई निरन्तरता दिइरहन्छ । यसको विपरीत, संयुक्त राष्ट्रसंघका लागि अमेरिकी प्रतिनिधि यारिना फेरेन्सेभिचले भने १६औँ शताब्दीको नक्सा र त्यसको ऐतिहासिक क्षतिपूर्तिको विषयमा अल्झिनुलाई संस्थाको समय र विश्वसनीयताको अपव्यय भन्दै कटु आलोचना गरिन् ।
यद्यपि, शक्तिको आडमा सत्यलाई सधैँ दबाउन सकिँदैन भन्ने प्रमाण फ्रान्सले दिएको छ । नयाँ नक्साको सह–प्रायोजन गर्दै फ्रान्सले मर्केटर नक्सालाई सधैँका लागि त्याग्ने घोषणा गरेको छ । फ्रान्सेली विदेशमन्त्री जो–नोएल बारोटको भनाइमा, केवल नक्सा बदल्दैमा रातारात संसार बदलिँदैन, तर गलत तरिकाले प्रस्तुत गरिएको चित्रलाई सच्याउनु भनेको सत्य र न्यायको पक्षमा उठाइएको एउटा साहसिक कदम हो । विशेषगरी अफ्रिकामा आफ्ना पूर्व–उपनिवेशहरूसँगको चिसिँदै गएको सम्बन्धलाई सुधार्न फ्रान्सले चालेको यो कूटनीतिक चाल भए पनि, यसले विश्व मानचित्रमा समानताको नयाँ अध्याय थालनी गरेको छ । नक्साको यो पुनर्जन्म केवल भूगोलको संशोधनमात्र होइन, इतिहासले गरेको गल्तीको प्रायश्चित र उपेक्षित महादेशहरूको आत्मसम्मानको पुनर्वहाली पनि हो । जब हाम्रा बालबालिकाहरूले कक्षाकोठामा यो नयाँ र सच्चा नक्सा हेर्नेछन्, उनीहरूले शक्ति होइन, सत्यमा आधारित संसारको वास्तविक धरातललाई बुझ्नेछन् ।











प्रतिक्रिया