बाजुरा।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता चेतन अयडीको हत्या प्रकरणमा बाजुरा जिल्ला अदालतले ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ।
बाजुरा जिल्ला अदालतका न्यायाधीश ताराप्रसाद डाँगीको इजलासले बुधबार र बिहीबार गरी दुई दिनसम्म भएको बहसपछि बिहीबार थुनामा रहेका ७ प्रतिवादीमध्ये ६ जनालाई जन्मकैदको सजाय सुनाएको हो।
अदालतले धनराज थापा, जंग भन्ने शेरबहादुर अयडी, खेमराज अयडी, सागर अयडी, लोकेश अयडी र जीवन अयडीलाई जन्मकैदको फैसला सुनाएको हो।
यही मुद्दामा प्रतिवादी बनाइएका पदम अयडी भने सफाइ पाएर थुनामुक्त हुने भएका छन्। उनी चार वर्षदेखि पुर्पक्षका क्रममा थुनामा थिए।
मुद्दामा प्रतिवादी बनाइएका अन्य १८ जनाले पनि अदालतबाट सफाइ पाएका छन्। यसअघि धरौटीमा रिहा भएका मंगल भन्ने मदनबहादुर अयडी, निरजबहादुर अयडी, नरबहादुर अयडी, उद्धवबहादुर अयडी, रतनबहादुर अयडी, अनिता रौले अयडी, मोहनबहादुर अयडी, नवीनबहादुर अयडी, ईश्वरीदेवी अयडी, धनादेवी अयडी र नरेशबहादुर अयडीले सफाइ पाएका हुन्।
त्यस्तै, साधारण तारिखमा रहेका भूपाल अयडी, चक्र अयडी, रुपा चौधरी अयडी, जुद्ध अयडी, रनसिंहबहादुर अयडी र विनोद अयडीले पनि सफाइ पाएका छन्।
निर्वाचनका क्रममा भएको थियो हत्या
२०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा बाजुराको कैलाशमाडौँमा चेतन अयडीमाथि कुटपिट भएको थियो। प्रतिवादीहरूले घर घेरा हालेर कुटपिट गर्दा गम्भीर घाइते भएका अयडीको पछि मृत्यु भएको थियो।
घटनापछि प्रहरीले प्रतिवादीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। अयडीको हत्या प्रकरणमा सरकारी पक्षले ६ जनालाई आजीवन कारावासको सजाय माग गर्दै अभियोग दायर गरेको थियो।
मृतकका बुबा तथा जाहेरवाला गगन अयडीका तर्फबाट सरकारी वकिलसँगै वरिष्ठ अधिवक्ताहरू राजेन्द्र साउद, रामबहादुर खड्का, रामबहादुर रावल र वसन्त जोशीले बहस गरेका थिए। प्रतिवादीका तर्फबाट जगत बमलगायतले बहस गरेका थिए।
दुई दिनसम्म चलेको बहसपछि अदालतले ६ जनालाई जन्मकैद र बाँकी प्रतिवादीलाई सफाइ दिने फैसला गरेको हो।











प्रतिक्रिया