काठमाडौं।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ४१० पुगेको छ। बिहीबार राति ८ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ४१० जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रसुवामा १९९, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ। यस्तै, काठमाडौंमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको छ।
फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनसहित आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। हालसम्म १ हजार २४६ शव व्यवस्थापन गरिएको छ।
शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९९१ गरी कुल ३ हजार २७७ वटा डीएनए नमुना संकलन गरिएको छ। पहिचान हुन नसकेका १ हजार ३६१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कामका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।
प्रहरीका अनुसार बाढीपछि अझै ४ हजार ९० जना बेपत्ता छन्। उनीहरूको खोजी कार्य विभिन्न प्रभावित क्षेत्रमा जारी रहेको छ।
यसैगरी, विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल २ हजार ३ जना व्यक्तिलाई राखिएको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत र शव व्यवस्थापनको कामलाई निरन्तरता दिइएको छ।











प्रतिक्रिया