पति आशुतोषको विवादास्पद अभिव्यक्तिबारे अभिनेत्री बिपना थापाको स्पष्टीकरण


काठमाडौं ।

अभिनेत्री बिपना थापाले आफ्ना पति आशुतोषले सामाजिक सञ्जालमा पछिल्लो समय प्रयोग गर्दै आएको अभद्र तथा अश्लील भाषाप्रति गम्भीर आपत्ति जनाएकी छन्।

थापाले फेसबुकमार्फत पछिल्लो समय आशुतोषका पोस्ट तथा सार्वजनिक भएको एक अडियोले अभद्रता र अश्लीलताको सीमा पार गरेको भन्दै आफू र आफ्नो परिवार लामो समयदेखि त्यसबाट प्रभावित हुँदै आएको बताएकी हुन्।

उनका अनुसार आशुतोषले पछिल्लो अभिव्यक्तिमा आफूलाई मात्र नभई उनका सुख–दुःखमा साथ दिने तथा आवश्यक पर्दा सहयोग गर्ने व्यक्तिहरूमाथिसमेत आपत्तिजनक ढंगले टिप्पणी गरेका छन्। यस्तो व्यवहारले आफू र परिवारलाई दुःखी बनाएको थापाको भनाइ छ।

थापाले आशुतोषका सामाजिक सञ्जालका अभिव्यक्तिमा आफू, आफ्नो बच्चा तथा परिवारका अन्य सदस्यलाई समेत पटक–पटक जोडिएको बताएकी छन्। धेरै कुरा चुपचाप सहँदै अवस्था सुधारिने अपेक्षा गरे पनि पछिल्लो घटनाले सीमा नाघेको उनले उल्लेख गरेकी छन्।

उनले सामाजिक सञ्जालमा आशुतोषले लेखेका वा बोलेका कुनै पनि आपत्तिजनक कुरासँग आफ्नो वा आफ्नो परिवारको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी छन्। त्यस्ता अभिव्यक्तिलाई आफूहरूले कुनै पनि रूपमा समर्थन नगर्ने उनको भनाइ छ।

थापाले अवस्था गम्भीर रूपमा लिँदै आशुतोषको उपचार तथा पुनर्स्थापनाका लागि आवश्यक कदम चालिएको समेत जानकारी दिएकी छन्। उनी यस अवस्थाबाट बाहिर निस्किएर सामान्य जीवनमा फर्किन सकून् भन्ने आफूहरूको प्रयास रहेको उनले बताएकी छन्।

घटनाक्रमबाट दुःखी तथा आहत भएका व्यक्तिहरूसँग थापाले सामाजिक सञ्जालमार्फत माफीसमेत मागेकी छन्।

साथै उनले विवादास्पद पोस्ट, अडियो तथा स्क्रिनसटहरू थप शेयर नगर्न सबैसँग आग्रह गरेकी छन्। यस्ता सामग्रीको प्रसारले समस्या झन् बढ्ने भन्दै उनले कठिन परिस्थितिमा आफ्नो परिवारको अवस्था बुझिदिन र गोपनीयताको सम्मान गरिदिन अनुरोध गरेकी छन्। उनले भारतीय नागरिक आशुतोष भरद्वाजका साथ प्रेम विवाह गरेकी थिईन।