उसुमा स्वर्ण जितेमा १ लाख ५० हजार पाउने


काठमाडौं, (नेस) ।

बागमती प्रदेशका सांसद् मीनकृष्ण महर्जनले २० औं एसियाली खेलकुदमा पदक जित्ने उसु खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । प्रदेशका युवा तथा खेलकुद खेलकुद मन्त्रीसमेत बनिसकेका महर्जनले स्वर्ण जितेमा १ लाख ५० हजार दिइने घोषणा गरेका हुन् । यस्तै, रजत जित्नेलाई १ लाख र कांस्य जित्नेलाई ५० हजार नगद पुरस्कार प्रदान गर्ने पनि उनले जनाए ।

यसअघि पूर्व उसु खेलाडीहरुले पनि एसियाडमा कुनैपनि पदक जित्ने खेलाडीलाई ५० हजार नगद पुरस्कार दिने घोषणा गरेका थिए । जापानको आइची÷नागोयमा असोज ३ देखि १८ गतेसम्म हुने एसियाडमा नेपालबाट उसुमा थाउलो र सान्सौंमा गरी १० खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालबाट ८ पुरुष र २ महिला खेलाडी सहभागी हुँदै छन् ।

थाउलोमा ६ र सान्सौंमा ४ खेलाडीले चुनौती पेश गर्ने छन् ।थाउलोमा विजय सिन्जाली, हरिप्रसाद गोले, राजीव तामाङ, सुस्मिता तामाङ, दीपक हमाल र सविता राईले खेल्ने छन् । सान्सौंमा रोहित चुनारा, अमर सुनार, सन्जिव महर्जन र रिता ठकुल्ला सहभागी हुने छन् । थाउलो प्रशिक्षकमा प्रकाश महर्जन तथा सान्सौं प्रशिक्षकमा तुल्सीनन्द वज्राचार्य छन् ।