पाठ्यक्रम प्रारूप परिमार्जनमा देशभरबाट कस्ता आए सुझाव ?

0
Shares

काठमाडौँ ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ परिमार्जनका लागि देशभरबाट संकलन गरिएको सुझावमा नैतिक शिक्षा, संस्कार, कृत्रिम बुद्धिमत्ता (एआई), कोडिङ, जलवायु परिवर्तन, सीप तथा उद्यमशीलतालाई प्राथमिकताका साथ पाठ्यक्रममा समेट्नुपर्ने विषय उठेको छ ।
पाठ्यक्रम विकास केन्द्रका अनुसार सातै प्रदेशमा सञ्चालन गरिएको सुझाव तथा पृष्ठपोषण संकलन अभियानका क्रममा २८ भन्दा बढी जिल्ला, नगरपालिका, गाउँपालिका, विद्यालय तथा कक्षाकोठासम्म पुगेर विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय तह तथा अन्य सरोकारवालासँग प्रत्यक्ष अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा २५ हजारभन्दा बढी व्यक्ति सहभागी भएका थिए ।

केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीले पाठ्यक्रम गतिशील दस्तावेज भएकाले समयअनुसार परिमार्जन तथा अद्यावधिक आवश्यक रहेको जिकिर गर्दै यसपटक विज्ञसँगै पाठ्यक्रमका प्रमुख प्रयोगकर्ता तथा सरोकारवालालाई प्रत्यक्ष रूपमा सहभागी गराएर सुझाव संकलन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो–‘कक्षाकोठामै पुगेर विद्यार्थी र शिक्षकसँग पाठ्यक्रम कार्यान्वयनको अवस्था तथा उनीहरूले भोगिरहेका समस्या र आवश्यक सुधारका विषयमा पृष्ठपोषण लिएका छौँ।’

सुझाव संकलनका लागि सातै प्रदेशका ४६ केन्द्रमा कार्यक्रम सञ्चालन गरिएको थियो । तीमध्ये कोशीमा ७, मधेशमा १०, बागमतीमा ५, गण्डकीमा ६, लुम्बिनीमा ८, सुदूरपश्चिममा ५ र कर्णालीमा ५ केन्द्रमा कार्यक्रम आयोजना गरिएको केन्द्रले जनाएको छ ।

सबैभन्दा बढी १० केन्द्रमा कार्यक्रम गरिएको मधेस प्रदेशअन्तर्गत पर्साको वीरगञ्ज, बाराको कलैया, रौतहटको चन्द्रपुर, सर्लाही, धनुषाको जनकपुरधाम, महोत्तरीको बर्दिवास, औरही, सिराहा तथा सप्तरीका विभिन्न स्थानमा विद्यालय, स्थानीय तह, मन्त्रालय तथा शैक्षिक संस्थाका प्रतिनिधिसँग छलफल गरिएको थियो ।

यस क्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसहित मन्त्रालयको उच्चस्तरीय टोलीले भदौ २६ देखि २९ गतेसम्म मधेस प्रदेशका विभिन्न जिल्लामा पुगेर विद्यार्थी तथा सरोकारवालासँग छलफल गरेको थियो । धनुषा, सिराहा, महोत्तरी र सप्तरीलगायत जिल्लामा विद्यालयमै पुगेर विद्यार्थी केन्द्रित अन्तरक्रिया गरिएको केन्द्रले जनाएको छ ।

वीरगञ्जस्थित निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), कलैयाको दुर्गा माध्यमिक विद्यालय, चन्द्रपुर नगरपालिका, सर्लाहीको चतुर्भुजेश्वर जनता माध्यमिक विद्यालय, जनकपुरधामस्थित शिक्षा तथा संस्कृति मन्त्रालय, बर्दिवासको जनता माध्यमिक विद्यालय, सिराहाको प्राविधिक धारको जनता माध्यमिक विद्यालय, मदरसा, औरही गाउँपालिका तथा सप्तरीमा सरोकारवालासँग छलफल गरिएको थियो ।
कोशी प्रदेशमा सामाजिक विकास मन्त्रालय, प्याब्सन, धनकुटाको सागुरीगढी गाउँपालिका, गोकुण्डेश्वर माध्यमिक विद्यालय, संखुवासभाको खाँदबारी नगरपालिका तथा विराटनगरका सहवाजिया र आदर्श माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन भएको थियो ।
बागमती प्रदेशमा सामाजिक विकास मन्त्रालय हेटौंडा, टोखा नगरपालिका, काठमाडौं महानगरपालिका, प्याब्सन भक्तपुर र मकवानपुरको बकैया गाउँपालिकामा अन्तरक्रिया गरिएको थियो ।

केन्द्रका अनुसार सरोकारवालाबाट प्राप्त सुझावसँगै विज्ञहरूले तयार पारेका १२ वटा थिमेटिक पेपर तथा विभिन्न अनुसन्धान प्रतिवेदनका निष्कर्षलाई समेत पाठ्यक्रम परिमार्जनमा आधार बनाइनेछ ।

देशभरबाट संकलित सुझाव तथा पृष्ठपोषणको विश्लेषण गरी विज्ञ, अनुसन्धानकर्ता तथा सरोकारवालाबाट प्राप्त सुझावलाई एकीकृत गरेर राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनको कार्य अघि बढाइने केन्द्रले जनाएको छ ।
त्यस्तै, गण्डकी प्रदेश प्याब्सन पोखरा, सामाजिक विकास मन्त्रालय, तनहुँको म्याग्दे गाउँपालिका, राधा माध्यमिक विद्यालय, दमौलीस्थित महर्षि वेदव्यास तथा गोरखा नगरपालिकामा सुझाव संकलन गरिएको थियो ।

लुम्बिनी प्रदेशमा नेपालगञ्जका स्प्रिङडेल एकेडेमी र सरस्वती माध्यमिक विद्यालय, प्युठानको सरुमारानी गाउँपालिका, दाङस्थित सामाजिक विकास मन्त्रालय, रुपन्देहीको प्याब्सन, मदरसा जामिया मस्जिद मिसा मिस्मा कलेज, शान्ति नमुना माध्यमिक विद्यालय तथा तिलोत्तमा नगरपालिकामा कार्यक्रम गरिएको थियो ।

सुदूरपश्चिममा धनगढी उपमहानगरपालिका, सामाजिक विकास मन्त्रालय धनगढी, डोटीको गौरीशंकर माध्यमिक विद्यालय, प्याब्सन कैलाली र गन्यापधुरा गाउँपालिकामा छलफल भएको थियो । कर्णाली प्रदेशमा दैलेखको भैरवी गाउँपालिका, भैरवी गाउँपालिकास्थित हिमालय माध्यमिक विद्यालय, सामाजिक विकास मन्त्रालय सुर्खेत, प्याब्सन सुर्खेत र सिद्ध बहिरा बालकको माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

पाठ्यक्रम परिमार्जनका क्रममा कक्षाकोठामै पुगेर शिक्षक तथा विद्यार्थीसँग पाठ्यक्रम कार्यान्वयनको अवस्था र उनीहरूले भोगिरहेका समस्याबारे समेत जानकारी लिइएको जनाइएको छ ।

पाठ्यक्रमलाई व्यावहारिक बनाउनुपर्ने सुझाव
सरोकारवालाले पाठ्यक्रमलाई थप चुस्त, लचिलो र व्यावहारिक बनाउनुपर्ने सुझाव दिएका छन्। विद्यालय तहदेखि नै शिक्षासँगै सीप, व्यावसायिक ज्ञान तथा उद्यमशीलता विकासमा जोड दिनुपर्ने उनीहरूको सुझाव छ । सूचना प्रविधिको तीव्र विकासलाई ध्यानमा राख्दै एआई तथा कोडिङसम्बन्धी ज्ञानलाई विद्यालय शिक्षासँग जोड्नुपर्ने विषय पनि प्राथमिकताका साथ उठेको छ ।

त्यस्तै जलवायु परिवर्तनसँग अनुकूलन गर्न आवश्यक ज्ञान तथा सीप, विपद्जन्य घटना र विपद् व्यवस्थापनसम्बन्धी विषयलाई पाठ्यक्रममा प्रभावकारी रूपमा समेट्नुपर्ने सुझाव आएको छ ।
नैतिक शिक्षा र संस्कारमा आधारित शिक्षालाई बलियो बनाउनुपर्ने विषय पनि विभिन्न स्थानमा भएको छलफलमा उठेको केन्द्रले जनाएको छ ।

शिक्षक तयारी र मूल्यांकन प्रणालीमा सुधारको माग
सरोकारवालाले शिक्षकको पेशागत विकास तथा शिक्षक तयारीलाई पाठ्यक्रम सुधारसँगै प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् । पाठ्यक्रम मात्र परिवर्तन गरेर अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्न नसकिने भन्दै शिक्षकको क्षमता विकासमा जोड दिनुपर्ने सुझाव आएको हो ।

त्यसैगरी पाठ्यक्रम, शिक्षण विधि तथा मूल्यांकन प्रणालीमा समावेशितालाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव पनि प्राप्त भएको छ ।
विद्यालयमा ‘बुक फ्री डे’ तथा ‘ब्यागलेस डे’ जस्ता अभ्यासलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने सुझावसमेत दिइएको छ ।