२४औँ लिस्नु कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा कपिलवस्तु ११ विजयी 

0
Shares

बुटवल। 

रुपन्देहीको तिलोत्तमा – १५ कोटिहवामा २४औँ लिस्नु कप नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । लिस्नु युवा क्लबको आयोजनामा पशुपति माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा कपिलवस्तु ११ विजयी भएको छ । कपिलवस्तुले फूलबारी गाइज बुटवललाई ५–३ गोल अन्तरले पछि पारेको हो ।

 कपिलवस्तु ११ को जितमा कृष्ण आलेले एक्लै चार गोल गरेका थिए । आलेले खेलको पहिलो, नवौं, ३० औ र ४५ औं मिनेटमा गोल गरेका थिए भने अर्को गोल मनिष थारुले गरेका थिए । फूलबारीका लागि सन्दीप कार्कीले १२ औं, सरोज गुरुङले ४३ औं र अनोज गैरेले ६३औं मिनेटमा गोल गरेका थिए । खेलमा कृष्ण आले म्यान अफ द म्याच घोषित भए । बिहीबार आयोजक लिस्नु युवा क्लब र पाल्पा ११ बीच खेल हुने खेल संयोजक रोमन गुरुङले जानकारी दिनु भयो । प्रतियोगितामा रुपन्देही, चितवन, कास्की, स्याङजा, पश्चिम नवलपरासी,पाल्पा र कपिलवस्तुबाट १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ , उपविजेताले २ लाख १ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

प्रतियोगिताको उद्घाटन तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले गर्नुभएको हो् । सो अवसरमा बोल्दै उहाँले खेलले अनुशासन, विकास, नकारात्मक सोचबाट टाढा, आर्थिक उपार्जन, स्वस्थ र सामाजिक काममा रुचि बढाउने बताउनु भयो । नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उहाँले बताउनु भयो् ।  
सो अवसरमा तिलोत्तमा १५ का वडाध्यक्ष खेमराज गुरुङ, खेल संयोजक रोमन गुरुङ , सचिव मनोज क्षेत्री  लगायतले मन्तव्य राखेका थिए । उद्घाटनका अवसरमा क्लबले दुईजना विद्यार्थीलाई साइकल वितरण गरेको थियो ।