लमजुङ । समाज बदलिएको छ । हातमा मोबाइल छ, घरघरमा इन्टरनेट पुगेको छ । सूचना र ज्ञानका लागि पुस्तकालय वा शिक्षकको मात्र भर पर्नुपर्ने अवस्था छैन । केही सेकेन्डमै संसारभरका सूचना मानिसको मोबाइलमा आइपुग्छन् । विद्यालय जाने बालबालिकाको संख्या बढेको छ । उच्च शिक्षा हासिल गर्नेको संख्या पनि बढिरहेको छ । तर यही बदलिँदो समाजको अर्को तस्वीर भने त्यति उत्साहजनक छैन । कम उमेरमै विवाह, किशोरावस्थामै गर्भधारण र बालिकाले पढाइ छाडेर पारिवारिक जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था अझै अन्त्य भएको छैन । शिक्षित र आधुनिक समाज निर्माणको कुरा गरिरहँदा बालविवाहजस्ता समस्या कायम रहनुले हाम्रो सामाजिक चेतनाको यात्रामाथि गम्भीर प्रश्न उठाएको छ ।
लमजुङको पछिल्लो स्वास्थ्य तथ्यांकले यही प्रश्नलाई अझ गम्भीर बनाएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्यांकलाई हेर्दा आर्थिक वर्ष २०८२÷०८३ मा जिल्लामा २० वर्षभन्दा कम उमेरका ९५ जना किशोरी सुत्केरी भएको देखिन्छ । यो तथ्यांकलाई केवल स्वास्थ्यसम्बन्धी अंकका रुपमा हेरेर पुग्दैन । यसको पछाडि किशोरीको शिक्षा, परिवारको अवस्था, सामाजिक सोच, विवाहको उमेर, किशोरकिशोरीको सम्बन्ध र यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानजस्ता धेरै पक्ष जोडिएका छन् ।
पालिकागत रुपमा हेर्दा बेसीशहर नगरपालिकामा सबैभन्दा धेरै ६४ जना २० वर्षभन्दा कम उमेरका किशोरी सुत्केरी भएका छन् । मध्यनेपालमा १७ जना, सुन्दरबजारमा चारजना, राइनासमा तीनजना, मस्र्याङ्दीमा तीनजना, दोर्दी र दूधपोखरीमा दुई–दुईजना रहेका छन् । क्व्होलासोथारमा भने यस्तो संख्या शून्य रहेको तथ्यांक छ । तथ्यांकको अर्को महत्वपूर्ण पक्ष के हो भने, जिल्लामा बालविवाहको आधिकारिक तथ्यांक भने स्पष्टरुपमा उपलब्ध छैन । त्यसैले २० वर्षभन्दा कम उमेरका किशोरी सुत्केरी भएको प्रत्येक घटनालाई बालविवाहकै परिणाम भनेर निष्कर्ष निकाल्न मिल्दैन । तर कम उमेरमा गर्भधारण र बालविवाहबीचको सम्भावित सम्बन्धलाई बेवास्ता गर्न पनि सकिँदैन ।
पढाइसँगै जीवनको मार्गदर्शन जरुरी
विद्यालयले बालबालिकालाई गणित, विज्ञान, भाषा र सामाजिक विषय पढाउँछ । तर किशोरावस्थामा उनीहरुले सामना गर्ने वास्तविक जीवनका प्रश्नबारे पर्याप्त संवाद हुन्छ कि हुँदैन भन्ने विषय पनि महत्वपूर्ण छ । किशोरावस्था परिवर्तनको उमेर हो । यस उमेरमा शारीरिक र मानसिक परिवर्तन तीव्र हुन्छ । प्रेम, आकर्षण, सम्बन्ध र भविष्यबारे जिज्ञासा बढ्छ । यही समयमा सही सूचना र उचित मार्गदर्शन पाए किशोरकिशोरीले जिम्मेवार निर्णय लिन सक्छन् । तर परिवार र विद्यालयमा यस्ता विषयमा संवादको वातावरण नहुँदा उनीहरु गलत सूचना वा अपूर्ण जानकारीमा निर्भर हुन सक्छन् । त्यसैले शिक्षाको अर्थ परीक्षा पास गर्नु मात्र होइन । आफ्नो शरीर, अधिकार, जिम्मेवारी र भविष्यबारे सही निर्णय गर्न सक्ने क्षमता विकास गर्नु पनि शिक्षा हो ।
सामाजिक सञ्जालले थपेको चुनौती
आजको पुस्ताको जीवनबाट सामाजिक सञ्जाललाई अलग गर्न सकिँदैन । फेसबुक, टिकटक, इन्स्टाग्राम, म्यासेन्जर लगायतका माध्यम किशोरकिशोरीको दैनिक जीवनको हिस्सा बनिसकेका छन् । सामाजिक सञ्जाल आफैँमा समस्या होइन । यसको सदुपयोगबाट शिक्षा, सूचना, सिर्जनशीलता र अवसर प्राप्त गर्न सकिन्छ । समस्या त्यस बेला शुरु हुन्छ, जब किशोरकिशोरीले सामाजिक सञ्जालमा देखिएका सम्बन्ध, प्रेम वा जीवनशैलीलाई वास्तविक जीवनसँग तुलना गर्न थाल्छन् र अपरिपक्व उमेरमै महत्वपूर्ण निर्णय लिन पुग्छन् ।
अनलाइन सम्बन्धबाट शुरु भएको चिनजान वास्तविक सम्बन्धमा परिणत हुने अवस्था पनि देखिन्छ । कतिपय अवस्थामा अभिभावकलाई जानकारी नदिई किशोरकिशोरीले आफ्नो जीवनसँग सम्बन्धित निर्णय लिन सक्छन् । त्यसैले अहिले अभिभावकको जिम्मेवारी केवल ‘मोबाइल नचलाऊ’ भन्नु होइन, मोबाइल र सामाजिक सञ्जाल कसरी सुरक्षित रुपमा प्रयोग गर्ने भन्ने सिकाउनु पनि हो ।
कम उमेरको मातृत्वको मूल्य कसले चुकाउँछ ?
किशोरी आमा बनेपछि सबैभन्दा ठूलो असर उनको स्वास्थ्यमा पर्न सक्छ । किशोरावस्थामा शरीर पूर्णरुपमा परिपक्व भइनसकेको अवस्थामा गर्भधारण हुँदा आमा र शिशु दुवैमा स्वास्थ्यसम्बन्धी जोखिम बढ्न सक्छ । स्वास्थ्यकर्मीका अनुसार यस्तो अवस्थामा रक्तअल्पता, उच्च रक्तचाप, समयअगावै प्रसूति, कम तौलको बच्चा जन्मिने तथा नवजात शिशुको स्वास्थ्यमा समस्या आउने जोखिम रहन्छ । तर स्वास्थ्य जोखिम मात्र समस्या होइन । एउटी किशोरी आमा बन्दा उनको पढाइ रोकिन सक्छ । साथीहरुसँगको सामाजिक सम्बन्ध बदलिन सक्छ । आर्थिक रुपमा परिवार वा जीवनसाथीमा निर्भर हुनुपर्ने अवस्था आउन सक्छ । आफ्नो करियर र क्षमता विकासका अवसर गुम्न सक्छन् ।
यसको असर अर्को पुस्तासम्म पुग्न सक्छ । शिक्षा अधुरो रहनु, रोजगारीको अवसर सीमित हुनु र आर्थिक निर्भरता बढ्नुले गरिबीको चक्रलाई निरन्तरता दिन सक्छ । त्यसैले बालविवाह र किशोरावस्थाको मातृत्वलाई ‘परिवारको निजी विषय’ भनेर छाड्नु समाजका लागि महँगो पर्न सक्छ ।
कानुनभन्दा बलियो सामाजिक दबाब
नेपालमा २० वर्षभन्दा कम उमेरमा विवाह गर्न कानुनले रोक लगाएको छ । कानुनी व्यवस्था हुँदाहुँदै पनि व्यवहारमा समस्या कायम छ । यसका पछाडि विभिन्न कारण छन् । कतिपय परिवारमा छोरीलाई छिट्टै विवाह गरिदिनुपर्छ भन्ने पुरानो सोच अझै छ । कतै आर्थिक समस्या छ । कतै सामाजिक दबाब छ । कतै प्रेम सम्बन्धलाई परिवारले स्वीकार नगर्दा किशोरकिशोरीले अपरिपक्व निर्णय लिन सक्छन् । यसका साथै परिवारमा अभिभावक र किशोरकिशोरीबीच संवादको कमी पनि एउटा चुनौती हो । आफ्ना छोराछोरीले भोगिरहेका समस्या, सम्बन्ध र मानसिक अवस्थाबारे अभिभावकले खुलेर कुरा नगर्दा समस्या थप जटिल हुन सक्छ ।
समाधान नियन्त्रण होइन, संवाद
बालविवाह रोक्न किशोरकिशोरीलाई नियन्त्रण गरेर मात्र पुग्दैन । उनीहरुलाई विश्वास गर्ने र सही जानकारी दिने वातावरण आवश्यक छ । विद्यालयमा उमेर अनुकूल यौन तथा प्रजनन स्वास्थ्य शिक्षा प्रभावकारी बनाउनुपर्छ । स्वास्थ्य संस्थामा किशोरकिशोरीले सहज रुपमा सेवा र परामर्श लिन सक्ने वातावरण हुनुपर्छ । अभिभावकलाई पनि आफ्ना छोराछोरीसँग संवेदनशील विषयमा कसरी संवाद गर्ने भन्नेबारे सचेत बनाउनुपर्छ ।
स्थानीय तहले विद्यालय, स्वास्थ्य संस्था, प्रहरी, बाल–अधिकारकर्मी, अभिभावक र समुदायसँग समन्वय गरेर बालविवाहविरुद्ध अभियान चलाउन सक्छन् । केवल दिवस मनाउने वा पोस्टर टाँस्नेभन्दा वास्तविक समस्या भएका समुदाय र परिवार पहिचान गरेर निरन्तर काम गर्न आवश्यक छ ।
सञ्चारमाध्यमको भूमिका पनि महत्वपूर्ण छ । बालविवाह भएको घटनालाई सनसनीपूर्ण बनाउनेभन्दा यसको कारण, असर र समाधानका विषयमा निरन्तर बहस सिर्जना गर्नुपर्छ । किशोरकिशोरीको आवाजलाई पनि समाचार र सार्वजनिक छलफलको केन्द्रमा ल्याउनुपर्छ ।
तथ्यांकले दिएको सन्देश
लमजुङमा एक आर्थिक वर्षमा २० वर्षभन्दा कम उमेरका ९५ जना किशोरी सुत्केरी भएको तथ्यांकले एउटा स्पष्ट सन्देश दिएको छ । हामीले अझै धेरै काम गर्न बाँकी छ । समाज शिक्षित हुँदै छ, प्रविधिको पहुँच बढिरहेको छ र विकासका सूचकमा सुधार आइरहेको छ । तर विकासको वास्तविक अर्थ तब मात्र हुन्छ, जब बालबालिकाले आफ्नो बाल्यकाल सुरक्षित रुपमा बिताउन पाउँछन्, किशोरीले आफ्नो पढाइ पूरा गर्न पाउँछन् र आफ्नो जीवनका महत्वपूर्ण निर्णय आफैँले परिपक्व भएर लिन पाउँछन् ।
किशोरीलाई चाँडै विवाह गरिदिनु समाधान होइन । उनीहरुलाई सक्षम बनाउनु समाधान हो । मोबाइल खोस्नु समाधान होइन, डिजिटल साक्षर बनाउनु समाधान हो । प्रेम वा सम्बन्धलाई गाली गर्नु समाधान होइन, सही निर्णय लिन सक्ने ज्ञान र वातावरण दिनु समाधान हो । बालविवाह अन्त्य गर्न कानुन आवश्यक छ, तर कानुन मात्र पर्याप्त छैन । परिवारको सोच परिवर्तन हुनुपर्छ । विद्यालयको शिक्षा व्यावहारिक बन्नुपर्छ । स्वास्थ्य सेवा किशोरकिशोरीमैत्री हुनुपर्छ । सामाजिक सञ्जालको प्रयोग जिम्मेवार बन्नुपर्छ । स्थानीय सरकारदेखि समुदायसम्म सबैले आफ्नो भूमिका बुझ्नुपर्छ ।
अन्ततः समाज कति शिक्षित छ भन्ने कुरा विद्यालय र विश्वविद्यालयबाट प्राप्त प्रमाणपत्रले मात्र निर्धारण गर्दैन । आफ्ना छोरीछोरालाई सही उमेरसम्म सुरक्षित राख्न, उनीहरुको शिक्षा पूरा गराउन र आफ्नो भविष्य आफैं निर्माण गर्न सक्षम बनाउन सक्नु नै शिक्षित समाजको वास्तविक परिचय हो । लमजुङका ९५ किशोरीको तथ्यांक एउटा संख्या मात्र होइन । यो हाम्रो समाजलाई गरिएको प्रश्न हो । हामी विकासको कुरा गरिरहेका छौँ, तर हाम्रा किशोरीहरुको भविष्य कति सुरक्षित बनाइरहेका छौँ ?











प्रतिक्रिया