काठमाडौँ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । मन्त्री यादवले आज प्रधानमन्त्री शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ ।
बुधबार संसदीय समितिको बैठकमा ग्यास अभावका लागि उद्योगीहरू जिम्मेवार रहेको भन्दै मन्त्री यादवले विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।
उनले देशमा ५८ वटा ग्यास उद्योग आवश्यक नरहेको र उद्योगीमाथि कडा कारबाही गर्नुपर्ने धारणा राखेकी थिइन्।
मन्त्रीको अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराएका थिए ।
अहिले काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव चर्किएको छ। उपभोक्ता घण्टौं लाइन बस्नुपर्ने तथा महँगो मूल्य तिर्नुपर्ने अवस्था छ। कृष्णभीरमा सडक भासिएपछि ग्यासको आपूर्ति थप प्रभावित बनेको बताइएको छ।
नेपालमा ग्यास आयात, भण्डारण तथा वितरणको अधिकांश जिम्मेवारी निजी क्षेत्रका ५८ उद्योगमा निर्भर छ। सरकारीस्तरमा पर्याप्त पूर्वाधारको अभाव रहेकै अवस्थामा मन्त्री यादवको अभिव्यक्तिले सरकार र ग्यास उद्योगीबीच थप विवाद सिर्जना गरेको थियो ।












प्रतिक्रिया