जल उत्पन्न प्रकोप : नेपालमा विपद्को बृहत् कारक

0
Shares

नेपालमा सबैजसो नदीका जलाधार क्षेत्रमा बाढीको सम्भावना वा जोखिमबाट टाढा हुन सकिँदैन । यसको कारण मानवीय कल्याणमा हुने खतरामा भने हिमालदेखि तराईसम्म अवश्य पनि भिन्नता छ । यस पृथ्वीमा जुन हिसाबले तापक्रम वृद्धि भैरहेको छ, परिणामस्वरुप हिमताल विस्फोटन बाढीको सम्भावित जोखिमले गर्दा केही नदीहरू थप खतरामा छन् ।

यसरी मौजुदा हिमनदी पग्लनु र हिमताल फुटेर सम्भावित जोखिमको लगत तयार गर्ने काममा केही महत्वपूर्ण प्रगति भए तापनि सम्भावित जोखिमका समष्टिगत क्षेत्रहरुको लगत भने तयार भएको छैन भन्नुपर्ने अवस्था छ । यसको अतिरिक्त अक्सर भू–स्खलन वा मुसलधारे वर्षा भई पहिरो जाने हुन्छ, जसको कारणले बगेर आउने लेदो तथा हिलो माटो ताल वा नदीमा पुगेर अर्को जोखिम निम्त्याइरहेको छ । साथै जल उत्पन्न प्रकोपको कारणबाट फैलिने रोगका दृश्यावलीहरूको सम्बन्धमा आवश्यक मात्रामा अनुसन्धान तथा अनुगमनको विषयमा पनि त्यत्तिकै ध्यान पुग्न एक संयोजित निकायको जरुरी महसुस गरिएको छ । अझ वायु प्रदूषण तथा पृथ्वीमा भएको तापक्रम वृद्धिले हिउँ पग्लेर हिमताल विस्फोटनले अकल्पनीय क्षति व्यहोर्नुपरेको छ ।

हिमालबाट भएका जोखिमहरू
नेपालमा धेरै वर्षअगाडिदेखि हिमताल पग्लिनु र हिमताल फुटेर जनधनको क्षति भइरहेको छ । सन् १९७७ देखि हालसम्म २६ वटा जति हिमताल फुटेको लगत छ । १४ वटा हिमताल नेपाल क्षेत्रभित्र भएका घटना हुन् भने वाँकी चीनको स्वशासित क्षेत्र तिब्बतका घटना हुन् । यसरी अपर्झट नेपालमा हिमालयबाट निस्केका नदीहरूबाट हुने गरेको विनाशकारी बाढीको प्रकोप मनसुन तथा अति वृष्टिका कारणमा मात्र सीमित नरहेको हाल आएर प्रस्ट भएको छ । विगतमा राष्ट्रले व्यहोरेका प्रकोपहरूको संक्षेपमा यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु ।

सन् १९७७ को सेप्टेम्बर ३ मा दूधकोशी जलाधार क्षेत्रको इम्जा हिमताल फुटेर बाढी आएको थियो । त्यस्तै सन् १९८० मा तमोर जलाधार क्षेत्रमा नाग्मा पोखरी हिमताल फुटेर बाढी आएको थियो । यसै गरी सन् १९८१ को जुलाई ११ मा चीनको स्वशासित क्षेत्र तिब्बतस्थित झझ्यांवो हिमताल फुटेर नेपालमा भयावह बाढी आएको थियो । नेपाल–चीन सीमामा अएको यस बाढीबाट पुल क्षतिग्रस्त हुनुका अतिरिक्त नेपालको सुनकोशी जलाधार क्षेत्रमा बृहत् नोक्सान भएको थियो ।

सन् १९८५ को अगस्ट ४ मा खुम्बु क्षेत्रमा दिगछो हिमताल फुटेर नाम्चे बजारस्थित सानो जलविद्युत्, पुलहरु एवं बस्तीमा समेत क्षति भएको थियो । दिगछोको प्रकोप इसिमोडको अध्ययनअनुसार हिमपहिरोका कारण यस्तो भएको बुझिन्छ । त्यस्तै सन् १९९८ को सेप्टेम्बरमा हिमपहिरोको कारण एक हिमताल विस्फोट भएर बाढी आई क्षति भएको थियो । सन् २००३ को अगस्ट १५ मा हिमपहिरोको कारण मादी नदीमा बाढी आई ग्रामीण सडक ध्वस्त हुनुका साथै पाँचजनाले ज्यान गुमाउनुपरेको थियो । सन् २०१२ को मे ५ मा अन्नपूर्ण हिमशृङ्खलामा हिमपहिरोका कारण आकस्मिक सार्दी खोलामा आएको बाढीले माछापुच्छ«्रे गाविसको जनजीवन तथा जीविकोपार्जनमा अपूरणीय क्षति पुगेको थियो ।

यही भदौ १० गते (सन् २०२६ अगस्ट २६) मा चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमपहिरो १२ सय मिटरभन्दा पनि तल खस्दा ल्हेदे खोलाको कच्ची बाँध भत्किई गेग्रानसहितको पानी नेपाली सीमाभित्र पस्यो । यस बाढीले रसुवा र नुवाकोटमा अपार जनधनको क्षति पुग्नुका अतिरिक्त त्यस भेगका जनताले भविष्यमा कसरी जीवनयापन गर्ने भन्ने ठूलो प्रश्न खडा गरेको छ । मृत्युको मुखमा परेका त बितेर गए, बाँचेकाहरुको सर्वस्व बाढीबाट हरण भयो । तिनीहरुको पुनस्र्थापना कसरी गर्ने र कति दिनसम्म यसरी निःसहाय भएर होल्डिङ सेन्टरमा बस्ने ? जवाफ दिन सकिने अवस्था छैन । उचित व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्न खडा भएको छ ।

अनुसन्धान एवं जोखिम न्यूनीकरणका प्रयास
हिमताल तथा हिमनदीसम्बन्धी सन् १९८० पश्चात् अर्थात् जल तथा शक्ति आयोगको सचिवालय सञ्चालनपछि केही अध्ययन तथा अनुसन्धान कार्य भएको बुझिएको थियो । तर त्यस सचिवालयमा कार्यरत विज्ञ कर्मचारीहरु विभिन्न कारणबाट पलायन भएपश्चात् सो कार्य अगाडि बढाउन नसकेको जस्तो लाग्छ । पछि अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) बाट धेरै अध्ययन तथा अनुसन्धान कार्य गरिएको थियो । सन् २००१ मा त्यस संस्थाबाट ‘इन्भेन्टरी अफ् ग्लासियर्स, ग्लासियल लेक्स एन्ड ग्लासियल लेक आउटब्रस्ट फ्लोड’ नामक एक अति राम्रो प्रतिवेदन प्रकाशित गरिएको थियो । यस प्रतिवेदनबाट हिन्दु–कुश क्षेत्रमा हिमताल तथा हिमनदीहरूको अनुगमन तथा पूर्वचेतावनीसम्बन्धी जानकारी गराउने आवश्यकतामा पनि जोड दिएको बुझिन्छ ।

नेपाल सरकारमा हिमताल तथा हिमनदीसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्न जरुरी महसुस गरी सन् २००७ तिर जल उत्पन्न प्रकोप नियन्त्रण विभागमा कार्यरत भूगर्भविद् कमल द्विवेदीसहितबाट कोशिश गरिएको थियो । सो क्रममा इसिमोडको अतिरिक्त जल तथा मौसम विज्ञान विभागसँग पनि संवादहरु गर्नुका साथै जाइकामा पनि अध्ययन तथा अनुसन्धानका निम्ति सहयोगका लागि अनुरोध गरिएको थियो । जल उत्पन्न प्रकोप विभागको यस कार्यको लागि तत्कालीन त्यस विभागमा कार्यरत जाइका विज्ञबाट पनि सहयोगको वचन दिइएको थियो । सो क्रममा म लेखकको पदोन्नति भई सिंचाइ विभागमा सरुवा भयो ।

पछि आएर तराई क्षेत्रमा बग्ने नदीहरूको तटबन्ध निर्माण गर्ने योजना स्वीकृत भएपछि हिमताल तथा हिमनदीहरूको अध्ययन तथा अनुसन्धानको अतिरिक्त विपद् व्यवस्थापनको कार्य त्यस विभागबाट तुहियो भन्ने सुनेँ ।

नेपालका कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रमा करिब ३,६२४ वटा हिमतालहरु छन् । सन् २०२० को अध्ययनबाट ती हिमतालमध्ये ४७ वटा ताल सम्भावित खतरायुक्त छन् । नेपालतिर मात्र २१ वटा हिमताल छन् भने वाँकी चीनको स्वशासित क्षेत्र तिब्बतमा छन् ।

च्छोरोल्पा हिमताल ४,५८० मिटर माथि अवस्थित एक विशाल हिमताल हो । सो ताल खतरनाक देखिएकोले त्यस क्षेत्रमा पूर्वचेतावनीको सूचना उपलब्ध गराउन आवश्यक संयन्त्र जडान गर्नुका अतिरिक्त तालको पानी अन्दाजी ३ मिटर कम गर्न सन् २००० मा सफल भएको थियो । त्यस्तै ५,१०० मिटरमा अवस्थित इम्जा तालको युनाइटेड नेसन्स डेभलप्मेन्ट प्रोग्राम तथा ग्लोबल इन्भारमेन्ट फ्यासिलिटीको सहयोगमा नेपाल आर्मी एवं जल तथा मौसम विज्ञान विभागको अगुवाइमा अन्दाजी ४० लाख घनमिटर पानी फालेर खतरा कम गर्न सफल भएको थियो । हाल आएर रसुवा र नुवाकोटमा भएको प्रलयलाई विचार गर्दा राष्ट्रले हिमताल विस्फोटनबाट हुने क्षय तथा पूर्वतयारीलाई प्राथमिकता दिनु अत्यावश्यक देखिएको छ ।

अबको गन्तव्य
जलबाट उत्पन्न प्रकोप न्यूनीकरणका लागि सम्बन्धित एक देशको प्रयासबाट मात्र सफल हुँदैन । पानीबाट अधिक लाभ होस् वा जोखिम न्यूनीकरणको लागि होस्, यसमा मथिल्लो तटीय एवं तल्लो तटीय राष्ट्रहरूसँग सहकार्यविना सफल हुन सकिँदैन । जस्तो– डुबान समस्या हल गर्न तल्लो तटीय राष्ट्रको सहयोग जरुरी पर्छ भने बाढी नियन्त्रण तथा जोखिमसम्वन्धी सूचना प्रवाहको लागि माथिल्लो तटीय राष्ट्रको सहयोग चाहिन्छ । हुन त हिमतालहरूबाट जोखिम बढ्नुको मूल कारण यस पृथ्वीमा बढेको जनघनत्व एवं स्रोत–साधनको वृद्धि हो ।

विभिन्न स्रोत–साधनसँगै तापक्रम वृद्धिले हिउँ पग्लिई हिमतालको क्षेत्रफलमा वृद्धि भइरहेको अवस्था छ । हिमताल विस्फोटन भएर अनियन्त्रित प्रकोप व्यहोर्नु नेपालजस्तो अल्पविकसित राष्ट्रले सामना गर्नु सामान्य कुरो होइन । एक हिसाबले हिमाल हाम्रो प्राकृतिक सौन्दर्य तथा स्रोत हो भने अर्को कुरा ठूलो जोखिम पनि हो । जे–जस्तो भए पनि आफ्नो ठाउँ र जनतालाई बचाउनुका साथै सेवा–सुविधा पु¥याउने दायित्वबाट कोही पनि पन्छिन मिल्दैन । यी सबै कार्यहरू गर्न नेपाल सरकारको निगरानीमा रहने एक सशक्त संस्थाको जरुरी पर्छ । त्यस संस्थाले निम्न कार्य गर्न सक्ने हुन्छः

– हालसम्म भएका हिमताल एवं हिमताल विस्फोटसम्बन्धी अध्ययन तथा अनुसन्धानका दस्तावेजहरू संकलन गर्ने ।
– हालको अवस्थामा समय–समयमा भू–उपग्रहबाट प्राप्त गर्न सकिने तस्वीरबाट हिमताल तथा हिमनदीहरुको अनुगमन गर्ने ।
– जोखिमयुक्त हिमतालहरू समीपमा समयानुकूल साइरन तथा अन्य सूचना प्रवाह गर्न स्टेसन स्थापना गर्ने ।
– माथिल्लो तटीय तथा तल्लो तटीय राष्ट्रहरूका सम्बन्धित निकायहरूसँग समन्वय स्थापित गरी निरन्तर सूचना आदानप्रदान गरी प्रवाह गर्ने ।
-जोखिमयुक्त स्थानहरुको पहिचान गरी जोखिम न्यूनीकरणको योजना तर्जुमा गर्ने ।
– प्रकोपबाट प्रभावित हुनेलाई आवश्यक सहयोग पु¥याउन पूर्वतयारी गर्ने । यसमा उद्धारको लागि के–कस्तो किसिमले स्थान एवं क्षति अनुरुप परिचालन गर्नुपर्ने हुन्छ, सो आँकलन गरेर ढिलो नगरीकन उद्धारको लागि परिचालन गर्ने ।
– खतराको आभास हुनासाथ जनतालाई हुनसक्ने जोखिमको सूचना प्रवाह गर्ने ।