रसुवा भोटेकोशी बाढी प्रभावित तीन जिल्लाको शैक्षिक क्षतिको तथ्याङ्क सार्वजनिक भएको छ । तथ्याङ्कको आधारमा उल्लेख भएका विषय सम्बोधन गरी तत्काल विद्यार्थीको कक्षा सञ्चालन गर्नुपर्ने प्रतिवेदनमा औँल्याइएको छ । शिक्षा विभागले द्रुत क्षति तथा आवश्यकता विश्लेषण प्रतिवेदनमा रसुवा, धादिङ र नुवाकोटका शिक्षण संस्थाको सबै विवरण तयार गरिसकेको छ । करिब १० हजार विद्यार्थी पढाइबाट वञ्चित भएका छन् । अब उनीहरुको पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्छ । प्रतिवेदनमा क्षति विवरण र सिफारिस गरेका विषयलाई तत्काल सम्बोधन गरी विद्यालयमा विद्यार्थी आउने वातावरण बनाउनुपर्छ ।
तथ्याङ्क अनुसार ३४ शैक्षिक संस्थामध्ये ३१ वटामा भौतिक क्षति भएको छ । कुल ४५ वटा विद्यालय भवन र २६८ वटा कक्षाकोठा क्षतिग्रस्त भएका छन् । सार्वजनिक शैक्षिक पूर्वाधारमा भवन क्षतिको ७१ प्रतिशतभन्दा बढी र कक्षाकोठा क्षतिको ६२ प्रतिशतभन्दा बढी हिस्सा रहेको छ । जिल्लागत रूपमा नुवाकोट, विशेष गरी विदुर नगरपालिका सबैभन्दा बढी भौतिक क्षति भएको क्षेत्रका रूपमा देखिएको छ । भौतिक क्षतिका कारण १९ विद्यालय पूर्ण रूपमा बन्द छन् भने चार विद्यालय अस्थायी बन्द छन् । सातवटा मात्र सामान्य रूपमा सञ्चालनमा रहेका छन् । यसले प्रभावित बालबालिकाको नियमित सिकाइमा तत्काल र दीर्घकालीन अवरोध सिर्जना गरेको छ ।
त्यसै गरी ८२ वटा शौचालय, ३५ वटा खानेपानी आपूर्ति प्रणाली तथा २० वटा प्राथमिक खानेपानी स्रोतमा क्षति पुगेको छ । सडक तथा पहुँच मार्ग अवरुद्ध हुँदा विद्यार्थी, शिक्षक तथा शिक्षा सेवा प्रदायकको सुरक्षित आवागमनमा थप चुनौती उत्पन्न भएको छ । द्रुत क्षति तथा आवश्यकता विश्लेषण प्रतिवेदन तयार पारिएको मितिसम्म प्राप्त प्रारम्भिक तथ्याङ्कअनुसार, विद्यार्थी संख्या ९,४३० र शिक्षक संख्या ५५० रहेकोमा ५ जना विद्यार्थीको मृत्यु भएको, ५०० बालबालिका बेपत्ता र सम्पर्कविहीन रहेको तथा १,३७२ विद्यार्थी विस्थापित भएको पुष्टि÷रिपोर्ट गरिएको छ । त्यस्तै शिक्षक तथा शिक्षा क्षेत्रमा कार्यरत जनशक्तिमध्ये २१६ जना प्रभावित भएको, २ जना शिक्षकको मृत्यु भएको तथा २४ जना शिक्षक बेपत्ता÷सम्पर्कविहीन रहेको रिपोर्ट गरिएको छ । यसका अतिरिक्त ३,२३२ पाठ्यपुस्तक, २,२२७ सेट शिक्षण–सिकाइ सामग्री, ४,५६१ डेस्क–बेन्च, १०४ डेस्कटप कम्प्युटर तथा १४४ ल्यापटपमा क्षति वा अभाव देखिएको छ ।
द्रुत सर्वेक्षणपछि सार्वजनिक प्रतिवेदनमा तत्काल विद्यालय सञ्चालन गर्ने वातावरण तयार गर्न मानसिक रुपमा तयार पार्नुपर्छ । विद्यालय खोल्न आवश्यक जनशक्तिसहितको संरचना तयार गर्नुपर्ने टड्कारो आवश्यकता छ । त्यसको लागि सरकारले तत्काल कार्यायोजना तयार गरी आवश्यक संरचना तयार गर्नुपर्छ । पुस्तकविहीनलाई तत्काल पुस्तक दिनुपर्छ । अस्थायी संरचनाको समेत जरुरी छ । खानेपानी र शौचालयको व्यवस्थापन गरी विद्यालय खोल्ने वातावरण बनाउनुपर्छ । त्यसो भए मात्र विद्यार्थीलाई विद्यालय जाने वातावरण बन्न सक्छ । होइन भने मानसिक तवानले विद्यार्थीको भविष्य अन्धकार हुनसक्छ । यस विषयमा तत्काल निर्णय गरी विद्यालय खोल्ने वातावरण बनाउनै पर्छ ।











प्रतिक्रिया