काठमाडौं ।
विश्व क्रिकेटका लिजेन्ड ब्याटर डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल ३) क्रिकेट खेल्ने भएका छन् ।
अस्टे«लियाका ब्याटर वार्नर काठमान्डु गोर्खाजबाट तेस्रो सिजनको एनपीएल खेल्न दशैंपछि नेपाल आउने बताइएको छ । एनपीएल खेल्न आउने विदेशी खेलाडीमा उनी अहिलेसम्मका सबैभन्दा ठूलो नाम हुन् ।
‘डेभिड वार्नरलाई एकै रातको प्रयासमा ल्याइएको होइन, यसका लागि महिनौसम्म छलफलहरु भएका थिए र यसमा सहभागि सबैको कुरा–चित्त, धैर्यता र विश्वास गराउन महिनौं लाग्यो । तर उनी स्तरको खेलाडीले काठमाडौंको प्रतिनिधित्व गर्ने र टियु मैदानमा खेल्ने सम्भावनाले हरेक प्रयासको मुल्य बनायो,’ काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले भने ।
सिरोहियाले वार्नर टोलीमा सामेल हुन केवल एक फ्रेन्चाइजीको लागि उपलब्धि नभएको पनि बताए । उनले भने–यस केवल एक खेलाडी या एक फ्रेन्चाइजीको साथ करारभन्दा ठूलो हो । यदि डेभिड वार्नर जस्ता वैश्विक स्टारलाई नेपाल ल्याएर युवा खेलाडीहरूलाई प्रेरणा मिल्नेछ, समर्थकहरूमा उत्साह बढ्नेछ, नेपाल क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा अधिक ध्यान प्राप्त हुनेछ र नेपाली क्रिकेटको विकासमा कुनै किसिमको योगदान हुने अपेक्षा छ ।
काठमान्डु गोर्खाजले सोसल मिडियामा पनि वार्नरको तारिफ गर्दै यस्तो लेखेको थियोे–१२ औं वारियर्स, तपाईँले साँचो बनाएर देखाइदियो । दुईपटक आईसीसी पुरुष क्रिकेट विश्वकप च्याम्पियन । टी २० विश्वकप च्याम्पियन र प्लेयर अफ द टूर्नामेन्ट । वल्र्ड टेस्ट च्याम्पियनशिप विजेता । तेहेरो शतक लगाउने ब्याटर । र आईपीएलमा तीन अरेन्ज क्याप जित्ने एक्ला खेलाडी ।
अस्ट्रेलियाले सन् २०१५ र २०२३ मा एकदिवसीय विश्वकप र २०२१ मा टि ट्वान्टी विश्वकप जित्दा वार्नर टोलीका प्रमुख खेलाडी थिए । २०२१ को टि ट्वान्टी विश्वकपमा उनी ‘प्लेयर अफ द सिरिज’ मा चुनिएका थिए ।
वार्नरले अस्ट्रेलियाबाट १ सय १२ टेस्ट, १ सय ६१ एकदिवसीय अन्तर्राष्ट्रिय र १ सय १० टि ट्वान्टी अन्तर्राष्ट्रिय खेल्दै ४९ शतकसहित झन्डै १९ हजार रन बनाएका छन् । उनले १४२ माथिको स्ट्राइक रेटमा ३ हजार २७७ रन बनाएका थिए ।
वार्नरको नाममा ८ हजार ७८६ टेस्ट र ६ हजार ९३२ एकदिवसीय अन्तर्राष्ट्रिय रन रहेको छ । वार्नरले पछिल्लो पटक अस्ट्रेलियाबाट सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको टि ट्वान्टी विश्वकपमा खेलेका थिए ।
३९ वर्षीय वार्नरले २०१९ मा पाकिस्तानविरुद्ध एडिलेडमा आउट नभई ३ सय ३५ रन बनाएका थिए । अस्ट्रेलियाली खेलाडीहरुको टेस्ट क्रिकेटमा यो दोस्रो उच्च स्कोर हो ।
वार्नरले आफूलाई विश्वको उत्कृष्ट ओपनरको रुपमा आफुलाई उभ्याएका थिए । वार्नरले सबै खाले टि ट्वान्टीमा ४ सय ३९ खेल खेल्दै १४० माथिको स्ट्राइकर रेटमा १४ हजारभन्दा बढि रन बनाएका छन् ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा उनलाई तत्कालिन दिल्ली डेयरडेभिल्सले २००९ मा लिएको थियो र २०१३ मा उनी दिल्लीमै रहे । २०१४ मा उनी सनराइजर्स हैदराबाद लागे र २०१५ मा कप्तान बने । उनले २०१६ मा सनराइजर्स हैदराबादलाई आईपिएल च्याम्पियन बनाएका थिए ।
उनले आईपिएलको ७ सिजनमा गरी ६ हजारभन्दा बढि रन बनाए ।
२०१५, २०१७ र २०१९ मा उनी आईपिएलको सर्वाधिक रनकर्ता थिए । उनले सनराइजर्स हैदराबादबाट आईपिएलमा २०२१ सम्म खेले । २०२२ मा वार्नरलाई पुनः दिल्ली क्यापिटल्सले लिएको थियो ।
काठमान्डु गोर्खाजले यसअघि नै श्रीलंकाका अलराउन्डर सहन अराचचिगे र भारतका पूर्व विकेटकिपर केएस भरतलाई अनुबन्धन गरिसकेको छ ।











प्रतिक्रिया