विजेताले एक लाख ५५ हजार पाउने


बैतडीः (नेस)।

बैतडीको पाटनमा उदयदेव पाटन प्रिमियर लिग (यूपीपीएल)–६ आयोजना हुने भएको छ । खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता पाटन नगरपालिका–६ स्थित कृष्ण माध्यमिक विद्यालयको खेलमैदानमा कार्तिक ८ गतेदेखि सुरु हुने आयोजक पाटन एकता समाजका अध्यक्ष किरन चन्दले जानकारी दिएका हुन् ।

प्रतियोगितामा सहभागी प्रत्येक टोलीले बैतडी जिल्लाबाहिरका बढीमा तीन जना खेलाडी समावेश गर्न पाउनेछन् । टिम दर्ताको समय असोज २७ गते राति १२ बजेसम्म तोकिएको छ ।

प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ६ सय ६६ रुपैयाँ र उपविजेताले ५५ हजार ६ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै, म्यान अफ द सिरिजलाई ट्रफीसहित १३ हजार ६ सय ६६ रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई समान ५ हजार ६ सय ६६ रुपैयाँ तथा उदयमान खेलाडीलाई ३ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । म्यान अफ द म्याचलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

पाटन एकता समाजले यसअघि प्रतियोगिताका पाँच संस्करण भव्य रूपमा सम्पन्न गरिसकेको छ । यस वर्ष प्रतियोगितालाई थप उत्साहजनक र व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी गरिएको आयोजक एकता समाजका सचीव हरिश केसीले जानकारी दिए ।
यस वर्षको प्रतियोगिताको बिजेता टोलीले यसअघि जस्तै आकस्मिक लाभकर नकाटिकनै घोषणा गरिएको पूर्ण रकम पाउने क्लबका कोषाध्यक्ष बिरेन्द्र भण्डारीले बताए ।