काठमाडौं ।
सरकारले सुत्केरी आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा दिने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेको छ। सरकारले तयार गरेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयकमा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरिएको कानूनमन्त्री सोविता गौतमले जानकारी दिएकी छन्। मन्त्री गौतमका अनुसार विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत गराएर संसद्मा पेस गर्ने तयारी भइरहेको छ।
“जीवनमा एक वा दुई पटक आउने मातृत्व र पितृत्वको यो विशेष समयमा अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी पनि हो,” मन्त्री गौतमले सामाजिक सञ्जालमा लेखेकी छन्। उनका अनुसार यही सोचसहित सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयक तयार गरिएको हो।
प्रस्तावित व्यवस्थाअनुसार आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा उपलब्ध हुनेछ। सरकारले प्रस्ताव गरेको यो व्यवस्था सुरक्षित मातृत्वसँगै अभिभावकत्वलाई समेत प्राथमिकता दिने महत्वपूर्ण नीतिगत परिवर्तनका रूपमा अघि सारिएको मन्त्री गौतमको भनाइ छ। विधेयक संसद्बाट पारित भई कानूनका रूपमा कार्यान्वयनमा आएमा प्रसूति तथा नवजात शिशुको स्याहारका लागि अभिभावकले पाउने बिदाको अवधि हालको व्यवस्थाभन्दा उल्लेख्य रूपमा बढ्नेछ।











प्रतिक्रिया