काठमाडौं।
बुढानीलकण्ठ यु–१६ ब्वाइज टी वान रग्बी प्रतियोगिता आगामी असोज २ गते काठमाडौंमा हुने भएको छ ।
नेपाल विद्यालय रग्बी आयोगको आयोजनामा बुढानीलकण्ठ नगरपालिकास्थित–१० मा बुढानीलकण्ठ यु–१६ ब्वाइज टी वान रग्बी प्रतियोगिता हुन लागेको हो । नेपाल विद्यालय रग्बी कमिसनले विद्यालय तथा कलेजस्तरमा रग्बी खेलको विस्तारसँगै नियमित प्रशिक्षण र प्रतियोगितालाई निरन्तरता दिँदै आएको जनाएको छ । कपनमा मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल विद्यालय रग्बी आयोगले प्रतियोगिता बारे जानकारी दिएको हो । बूढानीलकण्ठ नगरपालिकाको–१० स्थित आकाशेधारको ह्यान्डबल बहुउद्देश्यीय खेल मैदानमा हुने भएको छ । उक्त प्रतियोगितामा २० विद्यालयले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन नेपाल विद्यालय रग्बी कमिसिनका अध्यक्ष जे.बी. (दीपक) अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो हुने टोलीले ट्रफी, पदक, प्रमाणपत्र तथा नगद पुरस्कार पाउनेछन् । उक्त प्रतियोगिता लागि करिब पाँच लाख रुपैयाँ खर्च हुने कमिसनले जनाएको छ । कमिसनले हरेक वर्ष विभिन्न अवसरमा विद्यालयस्तरीय रग्बी प्रतियोगिता आयोजना गर्दै नेपाल विद्यालय रग्बी कमिसिनका अध्यक्ष अधिकारीले बताए । विद्यालयस्तरमा रग्बी खेलको आधार बलियो बनाउँदै आगामी दिनमा थप विद्यालयमा प्रशिक्षण तथा प्रतियोगिता विस्तार गर्ने कमिसनको योजना रहेको उनको भनाइ छ । यसै महिना मात्र कमिसनले ब्वाइज तथा गल्र्सतर्फ गरी २२ टोलीको सहभागितामा रग्बी प्रतियोगिता गरेको थियो ।
२०७५ सालमा गठन भएको कमिसनले नेपालको सातै प्रदेशमा विद्यालय तथा कलेजस्तरमा रग्बी खेल विस्तार गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । विद्यार्थीलाई रग्बी खेलतर्फ आकर्षित गर्दै दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कमिसनले प्रशिक्षण तथा प्रतियोगितालाई प्राथमिकता दिएको जनाएको छ । कमिसनका अनुसार हाल देशभर एक सयभन्दा बढी विद्यालयमा रग्बीको नियमित प्रशिक्षण भइरहेको छ । विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रशिक्षक, खेलाडी तथा सम्बन्धित पदाधिकारीको समन्वयमा प्रशिक्षण कार्यक्रम सञ्चालन हुँदै आएका छन् । विद्यार्थी, अभिभावक तथा खेलप्रेमीको सहयोग र सहभागिताले विद्यालयस्तरमा रग्बीको विकासमा थप योगदान पुग्ने कमिसनले जनाएको छ ।











प्रतिक्रिया